
दिवोदास चक्रवर्ती सम्राट् भरतको वंशज तृत्सुजाति वध्र्यश्वको पुत्र थिए । उनकी आमा भने पौरववंशी पुरुकुत्सकी बहिनी पौरवी थिइन् । सानैदेखि एउटा कुशल योद्धामा हुनुपर्ने गुण प्रदर्शन गर्दै आएका दिवोदासले ययातिपुत्र यदु, तुर्वसु, अनु, द्रुह्यु, पुरु पाँचबाट २५औँ शाखामा विभाजित भई आपसमा शत्रुता गर्दै आएका आर्यजनहरूलाई एकत्रित गरेका मात्र थिएनन्, तत्कालीन आर्यसमाजको काँडो बन्दै आएका शम्बर तथा उनका अनुयायी किराँतहरू र पणि एवं निषाधहरूलाई सदाका लागि सप्तसिन्धु क्षेत्रबाट खेदेका थिए । यस आलेखमा उनै दिवोदास र उनका योगदानलाई ऐतिहासिक आलोकमा चर्चा गर्ने प्रयास गरिएको छ ।
करिब ई. पू. १२२० तिर सप्तसिन्धु (सरस्वती, शतद्रु (सतलज), विपासा (व्यास), परुष्णी (रावी), असिक्नी (चिनाव), वितस्ता (झेलम) र सिन्धु) प्रश्रवण क्षेत्रको पूर्वी क्षेत्रमा पर्ने परुष्णीदेखि सररस्वतीसम्म फैलिएको भूभागमा पौरव अर्थात् पुरुवंशी पुरुकुत्सको राज्य थियो । त्यतिबेला पौरवहरू कुशिक, भरत, तृत्सु आदि धेरै शाखामा विभाजित थिए, जुन कुलमा वसिष्ठ, विश्वामित्र, भरद्वाज आदि एकसेएक वैदिक मन्त्रद्रष्टा ऋषिहरू जन्मेका थिए । यसैको आसपासमा अवस्थित अन्य सात पुरीमा ययातिका वंशज यदु, तुर्वसु तथा तृत्सुहरूको राज्य थियो । केही परका वस्तीहरूमा पणिहरू तथा वन्य प्रान्तमा निषाध र दुर्गम पहाडी इलाकामा किराँतहरूको वस्ती थियो । त्यतिबेला किराँतहरूको नेतृत्व शम्बरले गरेका थिए । यमुनापारी भने असुरहरू बस्ने गर्थे, जसलाई दस्यु भन्ने गरिन्थ्यो ।
तत्कालीन समयमा आर्यजनमा बेमेल थियो । उनीहरू यदाकदा आपसमा मिल्ने पनि गर्थे र लडभिडमा उत्रने पनि गर्थे । उनीहरूमा कति बेला मेल हुन्थ्यो कति बेला स–साना निहुँमै बेमेल हुन पुग्थ्यो पत्तै हुँदैनथ्यो । किराँतहरू यसैको फाइदा उठाएर उनीहरूमाथि लुटपाट गर्ने गर्थे ।
यसो त उनीहरू गर्मी मौसममा आफ्नै भूमि लेकतिरै हुन्थे तर, हिउँदको महिनामा भने चिसो छल्न आफ्ना पशुधनलाई लिएर तराईको न्यानो इलाकामा झर्ने गर्दथे । त्यतिबेला उनीहरूका निम्ति खाद्य आहार भनेको आर्यजातिसँगको लुटपाट नै हुने गथ्योँ । साथमा केही पशुधन तथा सुनचाँदीका गरगहनाहरू पनि लुटेर लाने गर्थे । विरोध गर्न कोही आए आफ्ना धारिला तरबार र ढुङ्गा घोटेर बनाएको बज्रको शिकार बनाउने गर्थे । यसैको कारण आर्यजनहरूले सदा उनीहरूसँग सतर्क हुनुपथ्र्यो । यद्यपि पुरुकुत्सले शम्बरको पशुचरण सम्बन्धी एउटा क्षेत्रलाई हस्तगत नगरेका होइनन् तर शम्बरको जितेजी उनीहरूले चैनको सास फेर्न सकिरहेका थिएनन् ।
यस्तै अस्थिर र आक्रमण–प्रत्याक्रमणको समयमा तृत्सु जातिकुलमा दिवोदासको जन्म भएको थियो, जुन जाति परुष्णीकै आसापासमा बस्दै आएका थिए । दिवोदासले सानैदेखि अश्वारोहण, अश्वसमन तथा युद्धकौशलसम्बन्धी कला देखाउँदै आएकाले उनी नै आर्यजनमा आशाको किरण देखिएका थिए । जब उनी वयस्क हुँदै आएका थिए त्यतिबेला त्यस क्षेत्रमा विशाल अश्वप्रदर्शनी भएको थियो । यसमा उनले यति बढी कौशल प्रदर्शन गरे कि यसैको कारण त्यस क्षेत्रमा उनको लोकप्रियता ह्वात्तै बढेर आयो । त्यसमाथि धनुर्विद्या अध्ययनका लागि तत्कालीन गुरुकुल भरद्वाजको आश्रम गएपछि महर्षि भरद्वाजको समेत प्रियपात्र हुन पुगे । भरद्वाज यस्तै पात्रको खोजीमा थिए । जब आफूले खोजे अनुसारको गुण दिवोदासमा पाए तब उनले आर्यहरूमा एकता र किराँतहरूमाथि विजयको शिक्षा दिन थाले र आफू पनि डटेर खट्न लागे ।
जब किराँतहरूसँगको युद्धमा वध््रयश्वको मृत्यु भयो तब दिवोदास पैतृक परम्पराअनुसार तृत्सुकुलका राजा भए । पौरवकुल पुरुकुत्सका छोरा त्रसद्दस्यु उनकै समवयी थिए, जसको आमा तौर्वस कुलकी पुत्री पुरुकुत्सानी थिइन् । पुरुकुत्सको मृत्युपछि उनी पनि आफ्नो कुलका राजा भए । मावली कुलको कारण दिवोदासको पौरवहरूसँग त यसै पनि मित्रता थियो । भरद्वाजले सम्झाई बुझाई गरी यादव र तौर्वसहरूलाई पनि उनकै अनुकुल बनाए । त्यसपछि दिवोदासले पणि र निषादहरूप्रति आँखा लगाए । केही दिनको लडभिडपछि पणि र निषाधहरू कति भागेर यमुनापारीतिर लागे, कति दिवोदासकै अनुयायी हुन पुगे ।
त्यसपछि संयुक्तरूपमा सैन्यगठबन्धन गरी दिवोदासको नेतृत्वमा शम्बरहरूसित युद्ध छेडियो र एकएक गरी शम्बरको ९९ किल्लामाथि विजय प्राप्त गरे तर, शम्बर लुकेर बसेको अति दुर्गम र सुरक्षित मानिएको काँगडा किल्ला भने बाँकी नै थियो । त्यसैले दिवोदास उनीसित अन्तिम युद्धको तयारीमा लागे । हुँदाहुँदै त्यो दिन पनि आयो जुन दिन मल्लयुद्धमा दिवोदासले शम्बरको ज्यान लिएका थिए । शम्बरको मृत्युपछि उनका बाँकी सेनाहरू भागेर यत्रतत्र लागे । यस कामका लागि दिवोदासलाई ४० वर्ष लागेको थियो ।
भनिन्छ शम्बरले अन्तिम सास फेरेको काँगडा किल्ला त्यही किल्ला हो, जहाँ पछि गएर एकीकरणको अभियानमा नेपालीहरूले अन्तिम युद्ध लडेका थिए । त्यति बेला त्यहाँ संसार चन्द नामका राजा थिए । उनको आग्रहमा सहयोगका लागि तत्कालीन पञ्चाव नरेश रणजितसिह पुगेकाले नेपालीहरूले सो किल्ला विजय गर्न सकेनन् ।
पौराणिक ग्रन्थमा जुन जालन्धर पुरको कुरा आएको छ त्यो पनि यही किल्ला हो र पौराणिक पात्र जालन्धर भनेको पनि सम्भवतः यिनै शम्बरासुर नै हुनुपर्छ, जसलाई महादेवले मारेका थिए ।
जे होस् शम्बरको मृत्युपछि सप्तसिन्धुको तमाम क्षेत्रमा दिवोदासको एकछत्र साम्राज्य कायम भयो । आर्यजनहरू आपसमा मिलेर बस्न लागे । वेदमन्त्रहरूको रचना पनि यसै क्षेत्रमा भएको हो र आर्यहरूले सामाजिक रीतिस्थिति पनि यसै क्षेत्रमा बाँधेका हुन् । उनीहरू इन्द्रलाई इष्ट देव मान्थे । वेदका सयौँ सूक्त इन्द्रकै स्तुतिसित सम्बन्धित छ । वैदिकमन्त्रहरूका अनुसार दिवोदासले शम्बरसँग भएको युद्धविजयको श्रेय पनि इन्द्रलाई नै दिएका छन् ।
हाल यस्ता पराक्रमी दिवोदासको भौतिक शरीर त छैन तर, उनको यश र कीर्ति भने अहिले पनि इतिहासको आकाशमा उज्वल नक्षेत्र बनेर चम्किरहेको छ । अस्तु आजलाई यति नै ।