
एउटा कार्यक्रमको सन्दर्भमा २०७२ को जेठ अन्तिम साता हामी (म, मीन बम र श्रवण देउवा) अछामको साँफेमा थियौं । साँझको समय थियो । हामी छिपे खोलाको पुलको रेलिङमाथि बसेर गफिँदै हावा खाइरहेका थियौं । त्यही समयमा मेरो मोबाइलको घण्टी बज्यो । मैले हतारिएर नम्बरै नहेरी फोन उठाएँ । लाग्यो, काठमाडौंबाट घरपरिवारका सदस्यको फोन आयो होला ? मनमा अनेकन कुरा खेल्न थाले, कहीँ कतै कसैलाई केही भयो कि ? फोन कानमा अड्याएँ । कुरा गरियो । घरको फोन होइन रहेछ । बझाङका अग्रज पत्रकार मेरा अनन्य मित्र जगत खडकाको फोन थियो ।
उनी आग्रहको शैलीमा भनिरहेका थिए– दाइको समय कति छ, त्यो त मलाई थाहा भएन तर, मेरो आग्रह छ तपाई एकदिनका लागि भए पनि बझाङ आइदिनु पर्यो ।
नेपाल पत्रकार महासंघ बझाङका तत्कालीन अध्यक्ष जगत थप्दै थिए– तपाई अहिले सुदूरपश्चिममै हुनुहुन्छ । एकदिनको समय जसरी भए पनि मिलाउनुस् । पत्रकारितासम्बन्धी दुईदिने तालिम आयोजन गर्नु छ । हामी सुदूरपश्चिमका मानिसलाई स्रोतव्यक्तिका रूपमा कसैलाई काठमाडौंबाट बोलाउन निकै गाह्रो हुन्छ । खर्चले धान्नै कठिन । काठमाडौं फर्किएपछि तपाईलाई पनि बोलाउन सकिँदैन । उनी भन्दै थिए– तपाई त बझाङ बसेको मानिस पनि हो । बझाङ नदेखेको धेरै भइसक्यो होला । तपाई आउनुस् । उद्घाटन गरेर तालिम शुरू भएपछि फर्कनुहोला ।
जगतजीका कुरा सुनिरहेको थिएँ । मनमा बडो विचित्रको भाव उत्पन्न भइरहेको थियो । उनको दुइटा कुराले मलाई सोचमग्न बनाएको थियो । मैले तत्काल केही निर्णय सुनाउन सकिनँ । प्रत्यक्षतः मैले उनलाई भने– म अहिले केही भन्न सक्दिनँ । सल्लाह गर्छु अनि भनौंला ।
उनले भने– मीनजी र श्रवणजी पनि तपाईसँगै हुनुहुन्छ । उहाँहरूसँग पनि सल्लाह गर्नुस् र उहाँहरूका साथै डडेलधुराबाट डीआर पन्त दाइलाई पनि लिएर आउनुहोला ।
माथि उल्लेख गरेजस्तै जगतले भनेका दुइटा कुरामा म प्रभावित भएँ । पहिलो, सुदूरपश्चिमका कार्यक्रममा स्रोतव्यक्तिका रूपमा काठमाडौंबाट कसैलाई बोलाउन खर्चले धान्न सकिन्न र दोस्रो, तपाई त बझाङ बस्नुभएको छ नि भन्ने कुरा । यी दुई कुराका आधारमा मैले मनमनै बझाङ जाने निर्णय गरिसकेको थिएँ । यसो सोचे बझाङका स्थानीय पत्रकारहरू वसन्तप्रताप सिंह, जगदीश रोकाया, शैलेन्द्र रोकाया, ललित सिंह आदिले पनि चैनपुर आउन आग्रह गर्दै आएका थिए । म सोच्दै थिएँ, जगतको यो निम्तो त्यता जाने अनुकूल अवसर हुन सक्छ ।

प्रत्यक्षतः मैले फोन राखेपछि जगतको प्रस्तावबारे मीनसँग कुरा गरेँ । मीन (नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य) मुस्कुराइरहेका थिए । मलाई बुझ्न कठिन भएन– जगत र मीनको कुरा भइसकेको रहेछ । श्रवण (हाल नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष)ले थपे– दाइ पहिले बझाङ बसिसक्नु भएको ठाउँ हो । समय मिलाउन सक्नुभयो भने जाउँ न त पुगेर आउँ । मीनले सही थपे– हो दाइ जाउँ न त । उतैबाट तपाईसँगै म र श्रवणजी पनि धनगढी झरौंला । तपाई काठमाडौं उड्नुहोला ।
हामी साँफेबाट दिपायल गएर त्यहाँ आयोजना हुने सरसफाईसम्बन्धी तीनदिने तालिम र नेपाल प्रेस युनियनको सुदुरपश्चिमस्तरीय भेलामा सहभागी हुनु थियो । दिपायलमा जेठ ३० गतेदेखि असार दुई गतेसम्म कार्यक्रम सञ्चालन हुने तय थियो । त्यसो हो भने हामीले ३ गते यात्रा गरेर ४ गते बझाङमा तालिमको उद्घाटन सत्रमा सहभागी हुन सकिन्थ्यो । मैले सोचें– गई नै सकेपछि ४ गते नै किन फर्कनु ? बरू त्यो दिन बसेर भोलि बिहानै त्यहाँबाट प्रस्थान गरेर साँझसम्म धनगढी पुग्दा पनि हुन्छ । मीन, श्रवण र मैले सल्लाह गर्यौं । त्यहीँबाट डीआरसँग पनि सम्पर्क गरियो । कार्यक्रम यसैअनुसार तय भयो– दिपायलबाट असार ३ गते बझाङ जाने ।
सडक सञ्जालमा जोडिनु बझाङका लागि बरदान सावित भएको छ । सडकले झुलाघाटदेखि डोकोमा नुन बोक्नुपर्ने बभङीको सदियौंको बोझ टाउकोबाट उतारिदिए छ । अझै उरै भञ्जाङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडकको शुरूआतले स्थानीयमा उत्साह थपेको छ ।
अब हामी मिसन बझाङको तयारीमा थियौं । यात्राको व्यवस्थापनको जिम्मा मीनको थियो । श्रवण केही दिन पहिलेमात्र बझाङ पुगेर आएकाले उनी राम्रो पथप्रदर्शक हुन सक्दथे ।
खोड्पेमा भोजन विश्राम
माथि उल्लेख गरेजस्तै हामी असार ४ गते बिहानै दिपायलको वर्षा होटेलले खोजिदिएको कालो रंगको भाडाको स्कर्पियो गाडीबाट चैनपुर अर्थात् बझाङको सदरमुकामतर्फ प्रस्थान गर्यौं । वर्षाको मौसम शुरू भइसकेको थियो । कतै पनि कुनै पनि बेला बाटो अवरुद्ध हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्नथ्यो । त्यसैले यात्रा थोरै हतारमै गर्नु श्रेयस्कर ठानेका थियौं हामीले । उज्यालोमै चैनपुर पुग्न पाए अनुकूल हुने हाम्रो बुझाइ थियो । हामी अगाडि बढिरहेका थियौं । डोटीको सीमा कटेपछि थोरै उकालोपछि स्याउले आयो । हामी अहिले डडेलधुराको सीमाभित्र थियौं । स्याउलेबाट दायाँ मोडिँदै डडेलधुरा बजार छिचोल्दै तुफान डाँडा पुग्यौं । यहाँ पत्रकार वरुण पनेरुको सम्पर्क केन्द्र छ । हामीले यहाँ डडेलधुराका अग्रज पत्रकार डीआर पन्तलाई भेट्नु थियो ।
बाटोमा उनीसँग कुरा भएको थियो । उनले वरुणकोमा पर्खन भनेका थिए । हामीले त्यसै गर्यौं । डीआरलाई पर्खने क्रममा हामीले नजिकैको होटेल क्लासिकमा चिया खायौं । त्यहाँ पत्रकार राम धामी र नगरपालिकामा कार्यरत मित्र लालबहादुरजी पनि भेटिए । म यता आउँदा जाँदा वरुणको संगतमा एकैछिन भए पनि यहाँ अडिने गरेको छु । एकछिनमा डीआर आइपुगे । हामी अगाडि बढ्ने क्रममा वरुणले खाना खाएर जान निकै कर गरेका थिए । तर, श्रवण भने खोड्पेमा खाना खाने मुडमा थिए । करिब १० बजेको थियो । हामीले श्रवणलाई नै समर्थन गर्यौं र लाग्यौं खोड्पेतिर ।

डडेलधुरा बजारबाट खोड्पेसम्मको सडक दूरी २७ किलोमिटर । उग्रतारा मन्दिरलाई बाँया पार्दै डडेलधुराबाट अगाडि बढेको हाम्रो गाडी करिब सवा ११ बजेतिर खोड्पे बजार पुगेको थियो । श्रवणले हामी डडेलधुराबाट प्रस्थान गर्नेवित्तिकै फोन गरेर कुनै होटेलमा भोजनका लागि आवश्यक व्यवस्थाकीय जिम्मेवारी निर्वाह गरिसकेका थिए ।
श्रवणले निर्धारित होटेलमा लिएर गए । खाना खाइयो । महिना असारको अर्थात् मौसम गर्मी र वर्षाको थियो । तर, यहाँको मौसम स्वाभाविक लागेको थिएन मलाई । गाडीबाट ओर्लेर होटेलभित्र बस्दा मैले थोरै चिसोको अनुभव गरेको थिएँ । सामान्यतया सिमसिमे पानी परिरहने, हुस्सु–तुवाँलो लाग्ने, गर्मीको अनुभव कमकमै हुने एउटा सानो पहाडी बजार हो खोड्पे । त्यसो त खोड्पे मैले सुन्न र देख्न थालेको निकै भइसक्यो । डडेलधुराको बाटो भएर नेपालको बैतडी, दार्चुला, बझाङ अथवा भारतको धार्चुला, पिथौरागढ वा चम्पावत जाने हो भने खोड्पेले स्वागत गर्छ नै ।
मैले यसभन्दा अघि अनेकौं पटक यो बाटोबाट यात्रा गरेको छु र प्रत्येकपटक खोड्पेको अनुभव सँगालेको छु । तर, यसपटक कुरा अलि पृथक थियो । यसपटक म खोड्पेबाट दायाँ मोडिएर अगाडिको यात्रा गर्नु थियो । यो सडकमा यो मेरो पहिलो यात्रा थियो । मैले स्थानीय स्तरमा प्रचलित देउडा गीतको एउटा पंक्ति सम्झिए– खोड्पे है बस गयो चिर, गैजाँउ की धनगढी तिर...। हामीले धनगढीतिर होइन बझाङ चैनपुतिरको यात्रा गर्नु थियो ।
श्रीभावर–वित्थड हुँदै गन्तव्य चैनपुर
पछिल्लो समयमा खोड्पे चर्चित हुनुपर्ने सबैभन्दा महत्वपूर्ण कारण हो–बझाङ यात्राको प्रारम्भ बिन्दु । सडक मार्गमार्फत् औपचारिक रूपमा यहीँबाट बझाङको यात्रा प्रारम्भ हुन्छ । खोड्पेबाट चैनपुरसम्मको दूरी १०८ किमी छ । विगतमा यो अत्यन्त सामान्य ठाउँ थियो रे । पहाडको थुम्कोजस्तो ठाउँमा पातलो बस्तीमा दुई चारवटा चिया पसल । यो बजारको हैसियत यत्ति थियो । तर, अवस्थामा अहिले नाटकीय परिवर्तन आएको छ । अहिले यो ठाउँ यस क्षेत्रकै महत्वपूर्ण बजारमात्र होइन व्यापारिक केन्द्रका रूपमा चर्चित छ । जनघनत्व निकै बढेको छ । २०४७/४८ तिर चैनपुरका लागि यहाँबाट बाटो निर्माणको कार्य शुरू भएपछि एकाएक यो ठाउँले चर्चा पनि पाउन थाल्यो र यसको महत्व पनि बढ्न थालेको हो । पछिल्लो समयमा रेडियो नेपालको रिपिटर स्टेशनका कारण पनि चर्चामा रहने गरेको खोड्पे पहाडका स्थानीय उत्पादन गेडागुडी, दाल, आलु, मह, सख्खर (गुड), भाँगो, कुखुरा आदि खपत हुने बजार हो । यहाँबाट चैनपुरसम्म २०६६ सालमा मोटर पुगेको हो ।

त्यतिन्जेल घाम लागेको थिएन । सानोसानो थोपा आकारमा पानी परिरहेको थियो । परिणाम, चीसो अनुभव हुनु स्वाभाविक थियो । हामी होटेलमा खाना खाइरहेका थियौं । डीआरले आफ्नो जीवनशैलीमा निकै नै परिवर्तन गरिसकेका रहेछन्– पूर्णतः शात्विक र शाकाहरी । हामी तीनजनाले (मीन, श्रवण र म) भने शात्विक नभइसकेको प्रमाण प्रस्तुत गर्यौं ।
दिउँसोको करिब १ बजिरहेको थियो । हामी खोड्पेबाट अगाडि बढ्यौं । मैले खोड्पेको बारेमा पहिलोपटक सुनेको २०४८ सालतिर हो । मेरा पिताजी जागीरका सन्दर्भमा बझाङमा रहँदा म चैनपुर आएको हुँ र त्यसैबेला अब केही वर्षपछि बझाङ आउन हवाइजहाज नै चढ्नु नपर्ने र खोड्पेबाट बस चढेर वित्थड चिर हुँदै चैनपुर पुग्न सकिने भन्ने कुरा सुनेको थिएँ ।
त्यसबेला मैले सुनेको कुरा आज सत्य भइरहेको थियो । म गाडी चढेर खोड्पेबाट चैनपुरतर्फ गइरहेको थिएँ । खोड्पेपछिको चैनपुरतर्फको बाटोमा मेरो पहिलो यात्रा थियो यो । स्वाभाविक छ, अनुभव पनि नयाँ । नयाँ दृश्यावलोकन । नयाँ ठाउँ नयाँ परिवेश । बाटो पक्की छ र राम्रो छ । पहाडको बाटो भए पनि उकालो ओरालो त्यति बढी छैन यो बाटोमा । तर, बाटो भने साँघुरो छ । अन्यत्रको पहाडको बाटोजस्तो कुनै खास नदी वा खोलाको तिरैतिर त बाटो अगाडि बढेको छैन तर, बाटो छेउका अजगंका पहाडले यात्रामा जोखिमका साथै रोमाञ्चको भावमा भने वृद्धि गर्दछ ।
हामी अगाडि बढिरहेका थियौं । हामी बझपानीपछि श्रीभावरको बस्ती कटेका थियौं । हिजो रातिको वर्षाको कारण गएको पहिरोले बाटो अवरुद्ध रहेछ । पहिरोले माटो र ढुंगामात्र सडकमा थुपारेको थिएन बरू एउटा अजगंको ठूलो रुख पनि बीच बाटोमा लडाएको थियो । दुई घण्टा जति हामी त्यहाँ रोकिनु पर्यो । पहाडको बाटोमा जतिसुकै समय अडकलेर यात्रा गरे पनि यस्ता पहिरोका कारण यात्रा अनिश्चित भइदिने गर्दछ । यस्ता समस्याका लागि यात्रु मानसिक रूपमा तयार रहनुपर्दछ भन्ने मेरो सुझाव हो ।
त्यहाँबाट जेनतेन हामी अगाडि बढ्दै वित्थड आइपुगेका थियौं । वित्थड आउनु केही अघिसम्म बैतडी नै पर्दछ भने त्यसपछि बझाङको सीमा शुरू हुन्छ । यहाँबाट चैनपुर पुग्न अझै ७६ किलोमिटरको यात्रा तय गर्नुपर्नेछ । वित्थडपछि देउलेक, चिर, सुनकुडा, बागथला, देउरा, झोता, तमैल र चैनपुर । बाटोमा नारूगौडा नजिक हामी एकछिन रोकिन बाध्य भएका थियौं । कारण थियो बायाँपट्टिको पहाडबाट लेदो पहिरो बगिरहेको थियो । श्रवण र मीनले जिस्किने पारामा यसलाई घ्यु पहिरोको संज्ञा दिएका थिए । अप्ठ्यारो समयमा पनि हाँस्न हामीलाई एउटा पर्याप्त कारण उपलब्ध भएको थियो । अहिले ३/४ वर्ष भयो यहाँ पुल बनेको छ रे । यो घ्यु पहिरोको समस्या समाधान भएको छ ।
हामी चैनपुर पुग्दा साँझको करिब ७ बजिसकेको थियो । असार महिनाको लामो दिन भएकाले होला चैनपुर पुग्दा हामीले सूर्यदेवलाई विस्तारै अस्ताचलतर्फ बढिरहेको देखेका थियौं । हाम्रो गाडी अब बाउली गाड (खोला)को किनार हुँदै जिल्ला प्रशासन कार्यालय (जिप्रका)भन्दा थोरै अगाडिबाट पुल पार गर्दै चैनपुर बजार प्रवेश गरेको थियो । हामी जगतजीसँग निरन्तर सम्पर्कमा थियौं । उनी हामीलाई फोनबाटै निर्देश गरिरहेका थिए र हामी उनको निर्देशनको अनुशरण गर्दै जिल्ला प्रशासन कार्यालय (जिप्रका)को आडैको होटेलमा आइपुग्यौं । हाम्रो बास यहीँ निर्धारित थियो । जिप्रका परिसर देख्नेवित्तिकै म आफू एकछिन इतिहासमा पुगेको भान भयो । चैनपुरसँग मेरो सम्बन्धका बारेमा कुनै अर्को सन्दर्भमा कुरा गरौंला । जे होस २३ वर्षपछि म चैनपुरको भूमि टेकिरहेको थिएँ ।
पत्रकार त भेट्नै पर्यो
यात्राको दोस्रो दिन अर्थात् असार ४ गते । म जुन उद्देश्यले यसपटक चैनपुर पुगेको थिएँ त्यस कारणले पनि मैले पत्रकारलाई भेट्नैपर्ने थियो । तर, त्योभन्दा पहिले एकपटक बजार घुम्नु मैले आवश्यक ठाने र हाम्रो टिम लाग्यो बजारतिर । साथमा जगतजी थिए । बजारमा पत्रकार साथीहरू जगदिश, शैलेन्द्र, ललित, रमानन्द जोशी, वसन्त प्रताप सिंहहरू भेटिए । ९ बजिसकेको थियो । जगतजी हतार गरिरहेका थिए । बझाङलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका वसन्तबाट म निकै प्रभावित छु । पछिल्लो दिनमा बझाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन उनको कलम र क्यामेराको महत्वपूर्ण भूमिका छ भन्ने मेरो ठम्याइ हो । यहाँका पत्रकारमा मैले सबैभन्दा पहिले चिनेको जगतपछि जगदीश हुन् । जगदीश र मैले विभिन्न मिडियमा सँगै काम गरेका छौं । आजदेखि पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै थियो । हामी कार्यक्रमस्थल पुग्दा करिब १० बजिसकेको थियो । खाजा खाएर कार्यक्रम शुरू हुँदा साँढे १० जति बजेको थियो ।

उद्घाटन कार्यक्रमपछि औपचारिकरूपमा अभिमुखीकरण कार्यक्रम शुरू भयो । मैले एकछिन त्यहाँ समय व्यतीत गरें र त्यसपछि अभिमुखीकरणको सम्पूर्ण नेतृत्व डीआरले गर्ने गरी हामी (म, मीन र श्रवण) चैनपुरको संक्षिप्त भ्रमणका लागि निस्कियौं । कार्यक्रम स्थलमा राजेन्द्र सिंह, सम्राट सिंह, जयभक्त जोशी, रमेश केसी आदि साथी पनि भेटिएका थिए । त्यही यात्राका सन्दर्भमा सूचनाको हकसम्बन्धी बझाङ सञ्जाल पनि शैलेन्द्रको संयोजकत्वमा गठन गरेको म सम्झन्छु ।
साइपाल, ताक्लाकोटको बाटो र विकासको सम्भावना
जुन बाटो आएका थियौं त्यही बाटो हुँदै हामीले आजै फर्कनु थियो । हिमालीमध्येको एउटा जिल्ला बझाङ, जो राजनीतिक रूपले सँधै सचेत मानिन्छ, विगतमा निकै विकट मानिथ्यो । विकासका थुप्रै सम्भावना हुँदाहुँदै राज्यको उदासीनताका कारण यस जिल्लामाथि लागेको विकटको छाप अझै हटेको छैन । तर, ढिलोगरी यहाँसम्म आइपुगेको सडकले विस्तारै त्यो छापलाई धुमिल बनाउने प्रयत्न गरिरहेको छ, जो सकारात्मक छ । सडक सञ्जालमा जोडिनु बझाङका बासिन्दाका लागि बरदान सावित भएको छ । सडकले झुलाघाटदेखि डोकोमा नुन बोक्नुपर्ने सदियौंको बोझ बझाङीको टाउकोबाट उतारिदिएको मात्रै छैन बझाङको सहज ढोका राष्ट्रिय अन्तराष्ट्रिय जगतका लागि पनि उघारेको छ ।
पछिल्लो समय यहाँका साइपाल हिमाल, सुर्मा सरोवर, खप्तडजस्ता पर्यटकीय गन्तव्यमा देश विदेशका पर्यटक पुग्ने क्रम थोरै भए पनि बढ्न थालेको पत्रकार साथीहरूका कुरा सुन्दा थाहा भयो । त्यो भन्दा महत्वपूर्ण कुरा बझाङको उरै भञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडकको शुरूआतले स्थानीयमा उत्साह थपेको देखियो । भलै, चीन र भारतलाई छोटो दुरीमा जोड्ने यो सडकको निर्माण निकै सुस्त छ तर, यसप्रतिको स्थानीयको आशा भने तीव्र छ । नेताहरूका चुनावी भाषणमा यसको चर्चा बढी हुने गरेको भए पनि यही गतिले गाडी चढेर ताक्लाकोट पुग्ने बझाङीको सपना पूरा हुन अझै समय लाग्ने देखिन्छ ।
जे होस खोड्पे बझाङ सडक सञ्चालनमा आएपछि यहाँको विकासका असीमित सम्भावनाका ढोकाहरू भने विस्तारै खुल्दैछन् । सेती नदीमा र यसका सहायक खोलामा पाँच सय मेगावाट बढीका विद्युत आयोजनाहरू निर्माण हुँदैछन् । ‘सूर्य पनि अस्ताउन मात्रै पश्चिम आउँछ ।’ भन्ने भाष्य परिवर्तन हुनेवाला छ । अबको केही वर्षमा बझाङले देशलाई मात्रै होइन छिमेकी मुलुकलाई पनि उज्यालो दिनेछ । ढिलै भए पनि बझाङ त्रिदेशीय व्यापारको र जलविद्युतको केन्द्र बन्ने आशा गर्न सकिन्छ । आशा गर्छु, २०४८ सालमा बझाङीको अभाव र गरिबी देखेको, लेखेको मैले नै यहाँको समृद्धिका कथा पनि लेख्न पाउँछु ।