
लुम्बिनी प्रदेशमा व्यवसायिक च्याउ खेती गर्ने किसान हुन्, रिसव पोखरेल । रिसवका रूपन्देही, पाल्पा र अर्घाखाँचीमा तीन ठूला च्याउ फर्म छन् । डेढ दशक विदेशमा ‘सेक्युरिटी गार्ड’को काम गरेका उनले स्वदेश फर्किएर ठूलो ‘भोलूम’मा मसरूम उत्पादनगरी लुम्बिनी च्याउ उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उनले अर्घाखाँचीको सन्धीखर्कस्थित ठाटीमैदान, रूपन्देहीको सैनामैना र पाल्पाको तिनाउस्थित झुम्सामा ठूलो क्षेत्रफलमा च्याउ खेती छन् । एक दशकअघि सामान्य तालिम लिएर बुटवल उप–महानगरपालिकास्थित नयाँ गाउँमा एक लाख रुपैयाँ लगानीबाट शुरू गरिएको च्याउ खेतीमा अहिले १ करोड ५० लाख ‘इन्भेष्ट’ पुगेको छ । बितेको १७ वर्षमा च्याउले रिसवको जीवनमा ठूलो खुसी ल्याएको छ ।
उनले सिजनमा दैनिक १ हजार ४०० किलोसम्म च्याउ ‘टन ओभर’ गर्दै आएका छन् । उनको लोकप्रिय मसरुम बुटवलमा मात्र सीमित छैन, देशका प्रमुख शहरहरू पोखरा, काठमाडौं, नेपालगञ्ज, दाङ घोराहीलगायत लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा उनको च्याउ ‘ब्रान्ड’ बनेर चिनिएको छ ।
अर्घाखाँचीमा जन्मिएर बुटवल बस्दै आएका पोखरेल लुम्बिनीकै परिचित अगुवा च्याउ किसानमा दरिएका छन् । ‘ठूला होटलहरूले आयातित च्याउ रोक्दै स्वदेशी उत्पादन प्रयोग गरिरहेका छन् । बजारको कुनै समस्या छैन,’ उनी भन्छन् ।
पोखरेल आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ गाउँ फर्किएर नगदे बालीमा जोडिएको बताउँछन् । उनको फर्मले उत्पादन गर्ने पाते च्याउ हो । जसअन्तर्गत ब्ल्याक वेस्टन र ह्वाइट वेस्टर मसरूम पर्छ । ‘विसं २०६५ मा वैदेशिक रोजगारीबाट फर्किएर मैले नगदोबालीमा जोडिने सोच बनाएँ,’ रिसव भन्छन्, ‘युवा स्वरोजगार कार्यक्रमअन्तर्गत सामान्य तीन दिने तालिम लिएर यो क्षेत्रमा प्रवेश गरेको हुँ, अहिले सोचेभन्दा राम्रो सफलता पाइरहेको छु ।’
उनका बुटवल, पोखरा, मणिग्राम, दाङमा च्याउका ‘आउटलेट’ सञ्चालनमा छन् भने ३०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । च्याउ ट्रास्पोर्ट गर्न आफ्नै पिकअप जीप पनि चलाएका छन् । अहिले छोरा विपिनले उत्पादन हेर्छन् भने रिसव मार्केटिङको जिम्मेवारीमा छन् । सँगै आफ्ना भाइहरू र आफन्तले पनि फर्ममा राम्रो रोजगारी पाएको उनी बताउँछन् । अहिले च्याउको बिउसँगै बाइप्रोडक्टमा सुकुटी, सुप, पाउडर र अचार पनि बनाएर बजारमा पठाइरहेका छन् ।
मसरुमलाई राष्ट्रिय अभियानका रूपमा विकास गर्नुपर्छ भनेर लागेका उनी च्याउको अभियन्ता पनि हुन् । च्याउ जागरण अभियानमा उनलाई शुरूमा दैनिक दश/बीस किलो बिक्री गर्नसमेत गाह्रो भएको थियो । अभियानकै रूपमा लिएपछि अहिले टन ओभरमा खपत भइरहेको छ । ‘त्यो बेला पनि विदेशमा मेरो लाखभन्दा बढी स्यालरी थियो,’ रिसव भन्छन्, ‘त्यसलाई छोडेर आफ्नै भूमिमा केही गर्नुपर्छ भनेर आएँ । अहिले त्यो जागिर छोडेर आएकोमा कुनै पछुतो छैन । आफ्नो बालबालिकाको साथमा छु र देशमा छु । कृषिलाई उद्योगसँग जोडिने दिशामा हिँडिरहेको छु ।’
निश्चित तापक्रम (मुख्य रूपमा चिसो मौसम) आवश्यक पर्ने च्याउ खेतीका लागि उद्योगमा वातानुकूलित व्यवस्था गरिएको उनले बताए । फर्मभित्रको हावामा आवश्यक पर्ने आद्रता नियन्त्रणका लागिसमेत आधुनिक उपकरण जडान गरिएको छ ।
पोखरेलका अनुसार लुम्बिनी च्याउ उद्योग सञ्चालनमा आएपछि आयात घटेको छ । तर, भारतबाट सस्तोमा कम गुणस्तरी च्याउ आउँदा स्वदेशी बजारमा असर पुगेको उनको गुनासो छ । राज्यले नेपाली किसानमैत्री नीति नल्याउँदासम्म आयातित कृषिजन्य वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने उनी बताउँछन् ।
देशमा केही गर्न सकिएन भनेर विदेश जान खोज्ने युवालाई उनले स्वदेशमा धेरै सम्भावना रहेको सुझाव दिन्छन् । च्याउजस्तै साथ कृषिमा पनि सानो पूँजीबाट ठूलो आम्दानी गर्न सकिने उनको भनाइ छ । आफ्नै माटोमा श्रम र सीप खर्चेर केही गर्नुपर्ने उनी सुझाउँछन् ।
च्याउ किसान बन्न त्यसको आधारभूत जानकारी लिनुपर्ने हुन्छ । च्याउ लगाउने तरिकाबारे जानकारी चाहिएमा रिसव आफैंले पनि जानकारी दिने गरेका छन् । पछिल्ला वर्षमा च्याउ खेती गर्ने किसान थपिए पनि राम्रोसँग नबुझी उद्यम गर्न कस्सिँदा केही अप्ठ्यारोमा पनि परेको उनी बताउँछन् ।
च्याउका लागि सफा पराल आवश्यकता पर्दछ । पराल मेसिनमा सानो सानो टुक्रामा काटेर सफासँग धुनुपर्छ । यसपछि प्लाष्टिकका पोकाहरूमा भरेर तातो पानीको ड्रममा बफाउनु पर्दछ । उनका अनुसार ड्रममा वाफ आउञ्जेल राखेपछि पोकालाई एकदिन यतिकै सफा स्थानमा राख्नुपर्दछ । प्लाष्टिक फुलेको डेढ घण्टासम्म राख्ने र डल्ला चिसो भएपछि बीऊ राख्ने गर्नुपर्दछ ।
च्याउमा भिटामिन र खनिज पदार्थ पाइन्छ । मसरुम खाँदा विभिन्न रोग लाग्नबाट जोगिने उनी बताउँछन् । च्याउ फाइबर, प्रोटिन, भिटामिन सी, फोलेट, आइरन, जिंक र म्यांगनिजको राम्रो स्रोत हो । उनका अनुसार च्याउले कोलेस्टेरोलको मात्रा घटाएर मुटुलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ । यसमा भएको भिटामिन बी २ र भिटामिन बी ३ ले मेटाबोलिजमलाई राम्रो बनाउने उनको भनाइ छ ।