०७ साउन २०८३, बिहीबार

‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

जेठ १८, २०८२
काठमाडौं
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

झापाको शिवसताक्षी नगरपालिका-२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ ।

नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताए । 

धानबाली पाक्ने बेलामा रोगको संक्रमणले नष्ट भएपछि किसानले निरास भएर स्थानीय पालिका गुहारेका छन् । ‘लहलह धानका बाला झुल्न थालेको थियो’, एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भने, ‘एक्कासी के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुस सरह भयो ।’

उनले हाल सुकिसकेको धानको बोटलाई खेतबाट हटाउन समेत समस्या भएको बताए । बर्खे धान पाकेपछि किसानले हिउँदे धान लगाउने चलन थियो । तर, बर्खे धानमा क्षति भएपछि अब अर्को धान रोप्ने कि नरोप्ने भन्ने चिन्ता थपिएको मैनालीको भनाइ छ । 

धानबाली लगाउँदा किसानले मल, बीउ, सिँचाइ र श्रममा धेरै लगानी गरेका हुन्छन् । ‘धान पाकेपछि दिउँला भनेर खेत जोत्न ट्याक्टर र खेताला लगाएकी थिएँ’, किसान सुशीला काफ्लेले भनिन् । 

नेक ब्लास्ट रोग धानको बीउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बीउ धानको उपचार गर्न आवश्यक रहेको कृषि शाखा प्रमुख भट्टराईले बताए ।

किसानले बीउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्तो समस्या निम्तिने उनको भनाइ छ । पाँच वर्षअघि यस्तै डढुवा रोगले धान सखाप पारेको उनको भनाइ छ । 

उनले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि किसानलाई पालिकाद्वारा निःशुल्क विषादी उपलब्ध गराइरहेको बताए । माटो परीक्षण गरी प्राविधिकको सिफारिस अनुसार मात्रै रासायनिक मलको प्रयोग गर्नसके यस्ता रोगको प्रकोप नदेखिने उनको भनाइ छ ।     

कमेन्ट गर्नुहोस्