
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।
उनीहरूबीच सोमबार बिहान सिंहदरबास्थित मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसीएफ सुविधा लिएको थियो ।
जुन नेपालले पाउने स्पेशल ड्रइङ राइट (एडीआर) कोटाको १८० प्रतिशत बराबर हो ।
बजेट वित्तपोषण (बजेट फाइनान्सिङ) का लागि चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्नेगरी आइएमएफले यो सुविधा उपलब्ध गराएको थियो ।
उक्त कर्जा सुविधाको छैटौं समीक्षाका लागि आईएमएफ मिसन टोली नेपाल आएको हो ।