३० जेठ २०८३, शनिबार
आलेख

निरीह प्रणाली, बलिया नेता !

जेठ १९, २०८२
काठमाडौं
निरीह प्रणाली, बलिया नेता !

‘तिमी आफूलाई कुनै कामका लागि जिम्मेवार ठान्दैनौ र गल्ती भएको स्वीकार गरी आफ्नो दोष महसुस गर्दैनौ भने तिमी मानव समाजका वास्तविक अपराधी हौ  ।’ –अज्ञात 

हुन त देशमा संसदको सबैभन्दा ठूलो दल दोस्रो दलसँग सरकारमा झुन्डिएको छ र आजसम्म यसको औचित्य पुष्टि गर्न सकेको छैन  । सरकार गठनको आधार र कारणको रूपमा रहेको ७ बुँदे अलपत्र छ । सरकार गठनका झण्डै वर्ष दिन फगत चिया गफ, अलमल र यान्त्रिक सरकारी क्रियाकलापमा बितेका छन्, परिणाम शून्य छ र समाजमा चरम निराशा व्याप्त छ । यो बढ्दैछ ।

देशमा कति बेला के हुने हो ठेगान छैन । व्यवस्थाविरोधी प्रदर्शनहरू जारी छन् । समाजमा राजनीतिक अन्योल बढिरहेको छ । सुदूर क्षितिजसम्म आशाको किरण देखिँदैन । संसारले हामीलाई छाडेर कहाँ पुगिसक्यो, कसैलाई हेक्का छैन । हाम्रा बीचमा निरन्तर वकवासको प्रतिस्पर्धा छ, काम र परिणामको होइन । समाजमा मनपरीतन्त्र छ । दलभित्र स्वेच्छाचार छ । वर्तमान शासन प्रणाली सीमित नेताको कठपुतली भएको छ ।

दलका मुख्य नेताहरू आफ्नै दलका साथीहरूको जायज कुरा सुन्दैनन्, शत्रुताभाव राख्छन्, जनताको कुरा त धेरै परको कुरा भयो । संसद्को अधिकांश समय विभिन्न काण्डको चर्चा र अनुत्पादक बहसमा खर्च भएको छ । पार्टी र जनस्तरबाट जतिसुकै सुझाव वा दवाव आए पनि कसैले पनि सुन्ने, आत्मसाथ गर्ने र सुध्रिने छाँटकाँट देखाएका छैनन् । यो अहिलेको भयावह स्थिति र कटु यथार्थ हो । तथापि केही विषयमा चर्चा गर्नु र आशाको किरण खोजी गर्नु हामी सबैको दायित्व हो । 

माथिको प्रारम्भिक भनाइ कसले भनेको वा कहाँ लेखिएको हो थाहा छैन, तर वास्तविक छ र नेपालको यथार्थसँग हुबहु मेल खान्छ । आफूलाई सुम्पेको जिम्मेवारी ठीकसँग निर्वाह भएन भने त्यसका लागि आफूलाई जिम्मेवार ठान्ने प्रवृत्ति हामी नेपालीहरूमा देखिन छाडेको छ । झन् त्यसबापत आफूलाई दोषी ठान्ने इमान र प्रवृत्ति त ठ्याम्मै छैन ।

एकप्रकारले लाग्छ कि हाम्रो राजनीतिक शब्दकोशमा ‘रियालाइजेसन’वा आत्मस्वीकृति भन्ने शब्दावली नै छैन । यो साँच्चै नै लज्जास्पद र विडम्बनापूर्ण छ । सामान्यतया घर व्यवहारमा चुलाचौकाको जिम्मेवारी लिएपछि त्यसको सम्पूर्ण खटनपटनको दायित्वबाट पन्छिन मिल्दैन । र, त्यसमा तलमाथि भयो भने त्यसको जवाफदेहिताबाट भाग्न पनि पाइँदैन । हाम्रा सन्दर्भमा यी विषयमा कोही पनि गम्भीर र संवेदनशील देखिएको पाइँदैन । आफूले गरेको सबै राम्रो र दोषी जति अरू नै हुन् भन्ने प्रवृत्ति नेपाली समाजको मूल प्रवृत्ति भएको छ ।

यसको मुख्य दृष्टान्त नेपाली राजनीति र हामी आफैं हौं, जसको दुष्प्रभाव सर्वत्र छ । यस्ता पात्र र प्रवृत्ति नेपाली समाजमा छ्यास्छ्यास्ती छन् । कोही राजनीतिक दल, कोही समाजसेवा, कोही व्यापार, कोही धर्म र कोही राष्ट्र सेवाको आवरणमा छन् । यसमध्ये राजनीतिले सबैलाई उछिनेको छ । राजनीतिक दलभित्र थोरै आशा गरिएका व्यक्ति वा पात्र समेत वर्तमान परिवेशमा लपेटिएका छन् । यस्ता पात्र समेत सत्य बोल्न र वास्तविकता स्वीकार्न नसक्ने भएका छन् । वैयक्तिक स्वार्थमा परेर वा कारिन्दा मानसिकताले थिचिएर ‘जसो जसो पुरेत बाजे उसै उसै स्वाहा’ गर्न थालेका छन् । 

हामीले अवलम्बन गरेका नीतिहरूका कारण राज्य अघि बढ्छ वा समाजले प्रगति गर्छ भने त्यो वास्तविक राजनीति हो, नत्र त्यो राजनीतिको बाहिरी आवरणमा चलाइने छद्मभेषी सामूहिक व्यापार हो । हामीले विश्वास गरेको सिद्धान्त त जग मात्र हो, समाजलाई डोहोर्‍याउने त नीति नै हो । यसैलाई राजनीति मानिन्छ वा भनिन्छ । र, सच्चा राजनीतिले समाजका सम्पूर्ण विधा वा अंगहरूलाई नेतृत्व र अभिभावकत्व प्रदान गर्छ । साथै, सबैलाई प्रतिष्ठित तुल्याउँछ र नागरिकलाई आत्मसम्मान पूर्वक जीवन जिउने परिवेश दिन्छ  । यसैगरी, राजनीतिक प्रणाली आफैंमा कुनै पनि देशको सामाजिक तथा आर्थिक उन्नतिको अचुक अस्त्र होइन । यो सबै माध्यमभन्दा उत्तम माध्यम अवश्य हो । तर, सबभन्दा पहिले त्यो प्रणालीको चरित्र कस्तो छ भनेर हेर्नुपर्छ । त्यसैले हामीले बारम्बार प्रजातान्त्रिक प्रणालीको वकालत र त्यसका लागि संघर्ष गरेका छौं र गर्नु पनि परेको छ ।

हामी त्यस प्रयत्नमा हरबार सफल पनि भएका छौं । यस्ता प्रयत्नमा नेपाली जनताले सदैव साथ पनि दिएका छन् । यो हाम्रा लागि अहोभाग्य पनि हो । तर, प्रश्न उठ्छ, जसका लागि राजनीतिक विज्ञान रचियो वा परिकल्पना गरियो, आखिर के हालत छ त त्यसको ? हामीले जे जस्ता नारा लगाएका छौं, नीति बनाएका छौं, अवसर आउँदा त्यसलाई व्यवहारमा कति उतारेका छौं र जनहितलाई केन्द्रबिन्दु बनाएर कति काम गरेका छौं भन्ने आजको मूल प्रश्न हो । यस सन्दर्भमा, खासगरी नेपालको परिप्रेक्ष्यमा हामी असफल भएका छौं भन्नेमा अब दुई मत रहेन । आजसम्मको नतिजाले यही देखाउँछ । 

हिजोआज नेपाली छापा वा सञ्चार माध्यममा आएका र छाएका खबरले सचेत नेपालीहरूसहित विश्व जनमतलाई आश्चर्य र विस्मित पार्दै अधिकतम मनोरञ्जन समेत दिएको छ । खासगरी एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी ओली र तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल दुवैका अभिव्यक्तिहरूबाट यस्तो भएको हो । उहाँहरूका अभिव्यक्तिमा संगति पटक्कै छैन । अन्य दलका नेताहरूमा समेत यो रोग सल्केको छ । यसबाट सहजै अनुमान गर्न सकिन्छ कि नेपालका कम्युनिस्ट पार्टीका केही नेताहरू सामान्य आधार र तर्कविना पनि ठूलठूला गुड्डी हाँक्न सक्छन् र कुनै पनि स्तरमा योगदान नपुगेको वा नगरिएको विषयमा समेत श्रेय लिने कोशिश गर्छन् । 

राम्रो इतिहास भएका र देशका लागि जोखिम उठाएका पात्रहरू नराम्ररी बिग्रिए । नेपाली समाजको दुर्दशाको प्रमुख कारण यही हो । यसको दुष्प्रभाव हामी यतिबेला झेल्दै छौं ।

पहिलो प्रसंगमा जाऔं– भारत र पाकिस्तानका बीचमा शुरू भएको लडाइँ दुई दिन नबित्दै अन्त्य हुनु विश्व शान्तिका लागि सकारात्मक सूचक मान्नुपर्छ । नत्र यो अर्को विश्व युद्धका लागि एउटा झिल्को प्रमाणित हुनसक्थ्यो । यस घटनामा अमेरिका लगायतका देशहरूको सकारात्मक योगदान रहेकोमा दुई मत छैन । साथै, भारतले समेत यस युद्धको दूरगामी प्रभावलाई आकलन गरेरै युद्धबिरामको पक्षमा आफूलाई उभ्याएको देखिन्छ । यसलाई नेपालजस्ता छिमेकीहरूले सकारात्मक रूपमा लिनुपर्छ । किनभने अहिलेको भारत दोस्रो विश्वयुद्धकालीन भारत होइन, विश्व महाशक्ति राष्ट्र हो । पाकिस्तान समेत आणविक शक्ति सम्पन्न राष्ट्र भइसकेको छ । यसमा प्रधानमन्त्रीलाई युद्धबिराम गर्न हाम्रो भूमिका छ भन्नु उचित विषय होइन । हामीले त युद्धबिराम गरेबापत दुवै राष्ट्रलाई धन्यवाद पो दिनुपर्ने होइन र ? यस युद्धबिराममा हाम्रो समेत सद्भाव छ भन्नुपर्नेमा यस्तो आत्मरति आखिर केका लागि हो, बुझ्न सकिएको छैन ।

यसैगरी, अर्का नेता माधव नेपालले दुवै कोरियाको वार्ता गराएको भनेर ओलीजीलाई पनि उछिन्न खोजे । यस्तो लज्जास्पद चिन्तन कसरी पैदा हुन्छ, थाहा छैन । यस्तै चिन्तन र व्यवहारका कारण आजसम्म नेपाली समाजले पाउनसम्म दुःख पाएको छ । यसको सिधा अर्थ हुन्छ, नेपालको समकालीन राजनीतिमा योग्य नेताको सर्वथा अभाव देखिन्छ । हामी यतिबेला थर्ड ग्रेडका राजनीतिज्ञबाट शासित हुन अभिशप्त छौं । 

चाणक्यले भनेका छन्, ‘उदारता, मीठो बोली, धैर्य, संयम, दृढता, संकल्प, सही समयमा सही निर्णय लिने क्षमता र ज्ञान, यी सबै अभ्यासबाट प्राप्त हुँदैन, मानिसका जन्मजात गुण हुन् ।’ नेपाली समाज यस्ता गुण सम्पन्न पात्रबाट संरक्षित हुन पाएन । इतिहासमा जन्मेका दुर्लभ पात्रहरूले मौका पाएनन् वा सडाइए । राजनीतिले समग्र मानव सभ्यतालाई मार्गनिर्देश गर्नुपर्नेमा क्षुद्र स्वार्थको गन्धे पोखरीमा चुर्लुम्म डुब्यो । समाजका हिराहरू अपमानजनक रूपमा रछ्यानमा मिल्काइए । स्वार्थी, धुर्त र महत्त्वाकांक्षी पात्रहरूले राजनीतिको बागडोर समाए ।

राम्रो इतिहास भएका र देशका लागि जोखिम उठाएका पात्रहरू नराम्ररी बिग्रिए । नेपाली समाजको दुर्दशाको प्रमुख कारण यही हो । यसको दुष्प्रभाव हामी यतिबेला झेल्दै छौं । आखिर किन? यसको सोझो उत्तर माथि नै भनिसकियो । पुष्पलाल र मनमोहनलाई आजीवन गाली गरेर नथाकेका समकालीन कम्युनिस्ट नेताहरू झैं कांग्रेसमा पनि विचार र दर्शन एकातिर, अनि कर्म तथा व्यवहार अर्कातिर देखिन थाल्नु पार्टी र लोकतन्त्रको भविष्यका लागि निकै ठूलो दुर्भाग्य हो । 

नेपाली कांग्रेसका संस्थापक र यसको वैचारिक प्राधिकार मानिएका नेता बीपी कोइरालाको राजनीतिक उत्तराधिकारमा प्रचलित कांग्रेस राजनीतिले ठूलो प्रश्न खडा गरेको छ । यस प्रश्नको जवाफ दिन त्यति सजिलो पनि छैन । तस्विरमा अवीर र पुष्पार्पण एवं वार्षिक कर्मकाण्डले वास्तविक निष्ठा प्रकट हुँदैन । 

सिद्धान्त, विचार, नीति र कार्यक्रमका माध्यमबाट पछ्याउने तथा आफूलाई सिद्ध गर्ने हो । यी सबै काम हामीले छाडिसकेका छौं । हामी त केवल बीपी विचारधाराको माला जप्ने र त्यसबाट प्राप्त प्रतिफलबाट आफू बलियो हुने ध्याउन्नमा लागेका छौं । हामी आफूलाई काँध हाल्ने सदस्यहरूलाई समेत मानमर्दन गर्ने, कमजोर बनाउन खोज्ने र जनतालाई समेत निरीह बनाएर बलियो शासक बन्ने महात्वाकांक्षा बोकेर हिँडेका छौं । यो कम्युनिस्टहरूको सोझो नक्कल हो । हुँदाहुँदा गत संसदीय निर्वाचनमा आफ्नो नेतृत्वमा चुनावी गठबन्धन बनाएर फरक गठबन्धनको नेता नेपाल कम्युनिस्ट पार्टी एमालेको मातहतमा सरकारमा समावेश भएपछि त तर्क गर्ने र जवाफ दिने हैसियत समेत गुमेको छ । सरकारमा जानु अघिसम्म थोरबहुत जोगिएको राजनीतिक व्यक्तित्व र छविमा भारी गिरावट आएको छ । तथापि यसको हेक्का कसैलाई पनि छैन । सत्ताको अल्पकालीन न्यानोमा दंग परेर हामीले न त परिणाम दिन सकेका छौं, न त मौलिकताको रक्षा गरेका छौं । 

राजनीति भनेको छलछामपूर्ण यान्त्रिक खेल होइन, गणित वा संख्या मात्र पनि होइन, जनविश्वास, भरपर्दो सुरक्षा र चित्तबुझ्दो सेवा प्रवाह पनि हो । यी सबै काम बितेका वर्ष दिनमा किन भएनन् ? कसैले भन्न सक्छ ? आखिर राजनीतिले पैदा गर्ने सरकार वा संयन्त्र केका लागि हो त ? नत्र पुरातन जस्तो लाग्ने वा शास्त्रीय विचारलाई छाड्न नसकेका जमात वा समूह वा राजनीतिक दलले व्यवस्थाविरोधी हुँकार गर्दा ठूलै कम्पन पैदा किन हुन्थ्यो र ! जानी नजानी हजारौं जनता किन सडकमा आउँथे ! सच्चा प्रजातन्त्रवादीका लागि यो निकै दुःखद् कुरा हो ।

तथापि विरोध र असहमति स्वाभाविक र नियमित विषय हुन् । यस्ता पक्षले नै प्रजातान्त्रिक प्रणालीलाई जीवन्त र सशक्त बनाउने हो । तर, जनताले साँच्चै दुःख पाएको महसुस गरेर प्रतिक्रिया स्वरूप सडकमा आए के हुने ? अनि यस सन्दर्भमा राज्यको मुख्य कार्यकारीले जथाभावी टिप्पणी गर्न मिल्छ त ? सरकारमा सम्मिलित प्रमुख दलका मुख्य नेताहरू मौन बस्न मिल्छ ? यसले के देखाउँछ भने सरकार चलाउने राजनीतिक दलहरू आफ्नो पद र प्रतिष्ठाबाहेक कुनै विषयमा गम्भीर र संवेदनशील छैनन् । खासगरी जनसरोकारका विषयमा त चासो नै छैन । यो राजनीतिक दलको गैरजिम्मेवार चरित्र हो कि नेता विशेषको ? सर्वत्र छलफलको विषय बनेको छ । तसर्थ हामी कहाँ छौं, के गर्दैछौं र के हुँदैछ भन्ने विषयमा गम्भीरता पूर्वक तत्कालै नसोच्ने हो भने हामीले ठानेको बलियो आसन भत्कन बेर लाग्ने छैन । हामीले ठानेका निरीह जनताको तागतसामु हाम्रो केही लाग्ने छैन । 

salt training

कमेन्ट गर्नुहोस्