२९ जेठ २०८३, शुक्रबार
ठगीका अनेक रूप

वैदेशिक रोजगारीसम्बन्धी ठगीको नयाँ घटना– दुबई पठाउने भन्दै इटहरी पुर्‍याएपछि...

जेठ १९, २०८२
काठमाडौं
वैदेशिक रोजगारीसम्बन्धी ठगीको नयाँ घटना– दुबई पठाउने भन्दै इटहरी पुर्‍याएपछि...

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एक युवक ‘म त ठगिएँ सर’ भन्दै उजुरी लिएर पुगे । 

पर्सास्थित वीरगञ्ज महानगरपालिकाका २८ वर्षीय अनिल पटेलले वैदेशिक रोजगारका लागि दुबई जाने भन्दै सिराहास्थित मिर्चैयाका राजेश कुमार महरालाई १ लाख ५४ हजार रुपैयाँ दिएका रहेछन् । 

राम्रोसँग पढ्न/लेख्न समेत नजानेका पटेलले महरालाई नगदै दिएका रहेछन् । महराले पासपोर्ट र भिसाका लागि सिराहाबाट पटेललाई काठमाडौं बोलाए । राहदानी बनाइदिए । इटहरिबाट दुबई जाने हो भन्दै पटेललाई महराले हवाईजहाज चढाएर विराटनगर ओराले । त्यहाँबाट इटहरि पुर्‍याएर एकसाता राखे । पटेल दिनभरि गेस्टहाउसमा बस्थे । महरा साँझ आउँथे । आज काम भएन, भोलि हुन्छ भन्थे । पटेल पत्याउँथे । 

एकसाता विराटनगरमा बसेपछि काठमाडौंैबाटै जहाजको टिकट मिल्ने भयो भन्दै पटेललाई महराले काठमाडौं ल्याए । कीर्तिपुरस्थित आफ्नै डेरामा राखे । केही दिन कीर्तिपुरमा बसेर पटेललाई महराले फेरि विराटनगर लगे । माइक्रोबस चढाएर इटहरि पुर्‍याएका पटेललाई पुनः गेस्टहाउसमै राखियो । एक सातापछि पुनः काठमाडौं ल्याइयो । यो क्रम तीनपटकसम्म चलिरह्यो । तर, पटेलले आफू ठगको फन्दामा परेको थाहा पाएनन् । 

जब महरा कीर्तिपुरको डेरा नै छाडेर भागे, अनि मात्रै पटेलले आफू ठगिएको थाहा पाए । उनी केही सीप नलागेपछि प्रहरी कार्यालय पुगे । टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेका पटेललाई यति मात्रै थाहा थियो कि, उनलाई दुबई पठाइदिन्छु भनेर महराले १ लाख ५४ हजार नगद लिएका थिए । दुबई जाने भनेर ३ पटक इटहरि पुर्‍याएका थिए । उनले प्रहरीमा त्यही कुरा बताए । तर, पैसा दिएको प्रमाण उनीसँग थिएन । 

पटेलसँग खाना र खाजा खाने पैसा समेत थिएन । प्रहरीले उनलाई खाना र खाजा खुवाएर राखे । महरालाई खोज्दै जाँदा उनकी आमा ललितादेवी फेला परिन् । प्रहरीले आमालाई पनि कार्यालयमा बोलायो । शुरूमा ललितादेवी आफ्नो छोराले गलत काम गरेको छैन भनेर प्रहरीसँग कड्किइन् । महरा खै भनेर सोध्दा ललितादेवीले ‘ऊ त जेलमा छ’ भन्ने जवाफ दिइन् । 

महराले अर्का एक जनालाई पनि वैदेशिक रोजगारीमा पठाइदिने भनेर ५ लाख ठगी गरेका रहेछन् । काठमाडौं जिल्ला अदालतले महराविरुद्ध ५ लाख बिगो जरिवाना भराउन आदेश गरेको रहेछ । उक्त बिगो तिर्न नसकेपछि महरा जेल परेका रहेछन् । उनी हाल डिल्लीबजार सदरखोजमा जेल जीवन बिताइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । महराकी आमाले पैसा दिएर सम्झौता गर्ने निर्णय गरेपछि बाहिर वकिलमार्फत उनले पटेललाई चेक दिइन् । उनीहरू मिलापत्र गरेर आ–आफ्नो बाटो लागे । 

टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा केही दिनअघि मात्रै घटेको घटना हो यो । ‘पटेल ठगिएको रकम त्यति ठूलो नभए पनि ठगले उनलाई दुबई भनेर इटहरि ३ पटक पुर्‍याएको देखियो,’ अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले लोकान्तरसँग भने, ‘राम्रोसँग लेख्न र बोल्न नजान्ने सोझासाझालाई ठग्ने प्रवृत्ति हो यो ।’

****

केही अघि मात्रै अनुसन्धान कार्यालयमा एउटा अर्को उजुरी परेको थियो । बुटवल बस्ने सम्झना (नाम परिवर्तन) र चितवन बस्ने दिनेश (नाम परिवर्तन) बीच सामाजिक सञ्जालमा चिनजान भयो । सम्झनाका पति कतारमा काम गर्थे । दिनेश चितवनमा बेरोजगार थिए । 

सामाजिक सञ्जालमा दिनेश र सम्झनाबीच कुराकानी हुन थाल्यो । दिनेशले आफू पनि कोरियामै बसेर आएको र फेरि जान लागेको बताए । त्यत्तिकैमा सम्झनाले ‘कोरिया जान के गर्नुपर्छ ?’ भनेर सोधिन् । दिनेशले कति पैसा छ ? भनेर साधे । सम्झनाले २०/२१ लाख छ भनिन् । आफूसँग विवाह गरे ‘डिपेन्डेन्ट’ भिसामा लैजाने भनेर दिनेशले सम्झनालाई फकाए । 

बुटवलबाट सम्झना काठमाडौं आइन् । दिनेश पनि काठमाडौं आए । दुवैजना होटलमा बसे । सम्झनाको राहदानी बनाइदिए । सम्झानालाई लिएर कोरियन एम्बेसीमा लगे । कुरा गरेको जस्तो गरेर एम्बेसीको झ्याल पुगेर दिनेश फर्किए । सबै प्रक्रिया मिल्ने भयो २१ लाख रुपैयाँ चाहिन्छ भनेर सम्झनालाई भने । सम्झनाले बैंकमा गएर २१ लाख नगद झिकेर दिनेशलाई दिइन् । होटलमा उनीहरू सँगै बसेका थिए ।

बिहानीपख दिनेशले आफू कोरियन एम्बेसीको मान्छे भेटेर आउँछु भनेर झोला बोेकेर हिँडे । तर, उनी फर्किएनन् । सम्झनाले कयौं प्रयास गर्दा पनि दिनेश सम्पर्कमा आएनन् । अनि मात्रै सम्झना अनुसन्धान कार्यालय पुगिन् । मोबाइलको कलडिटेल हेरेर दिनेशसँग सम्पर्क भएका मान्छे पहिल्याउँदै प्रहरी दिनेशसम्म पुग्यो । उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेर ल्यायो । दिनेशले सम्झनासँग लिएको रकममध्येको १५ लाख रुपैयाँको चेक काटेर दिएपछि सम्झनाले मुद्दा नचलाउने बताइन् । बाँकी पैसाका लागि ३ महिनाको म्याद मागेर उनीहरू सहमतिमै फर्किए ।

अनुसन्धान कार्यालयका प्रवक्ता आचार्यका अनुसार धेरैजसो उजुरी वैदेशिक रोजगार ठगीसँग केन्द्रित रहेर आउने गरेका छन् । अमेरिका, रोमानिया, कतार, मलेसिया, दुबई, क्रोएसिया, फ्रान्स, पोर्चुगललगायतका मुलुकमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गर्नेविरुद्ध उजुरी पर्ने गरेको आचार्य बताउँछन् ।

‘वैदेशिक रोजगार ठगीका थुप्रै घटना सार्वजनिक भएपनि सर्वसाधरणमा भने अझै चेतना आउन सकेको देखिँदैन,’ अचार्यले भने, ‘ठगले पनि साँच्चिकै लैजाने नै जसरी प्रभावमा पारेर पीडितबाट पैसा असुल्ने र पछि फरार हुने गरेको देखिन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्