
नेपाली दूतावास कुवेतले इराकको राजधानी बग्दादमा राहदानी नवीकरण तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर सम्पन्न गरेको छ ।
शिविर यही जेठ १८ देखि २१ गतेसम्म बग्दादको जाद्रिया क्षेत्रमा सञ्चालन गरिएको हो ।
राहदानी विभागको समन्वय तथा बग्दादस्थित नेपालीहरूको सहकार्यमा आयोजित शिविरमा उल्लेख्य संख्यामा नेपालीहरूले राहदानी नवीकरण सेवा लिएका छन् ।
त्यस्तै, समस्यामा परेका नेपालीहरूलाई एकतर्फी यात्रा अनुमति पत्र समेत प्रदान गरिएको थियो ।
शिविरको क्रममा बग्दादमा रहेका नेपालीहरूको समस्या र समाधानका उपायबारे छलफल गरिएको राजदूतावासले जनाएको छ ।
साथै, इराकमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था, उनीहरूले भोगेका चुनौती र कन्सुलर सेवा थप प्रभावकारी बनाउने विषयमा समेत बृहत अन्तर्क्रिया कार्यक्रम गरिएको थियो दूतावासले जनाएको छ ।
उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) इराकका प्रतिनिधिहरूको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो ।
शिविरमा नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतम र तृतीय सचिव नवीन पराजुली पनि सहभागी थिए ।