
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सूचना प्रविधिसँग सम्बन्धी सामग्री किन्न आह्वान गरेको ठेक्कामा 'फेक डकुमेन्ट' पेश गर्नेलाई छनोट गरेको पाइएको छ ।
नगरपालिकाले बोलपत्रसम्बन्धी कागजातमा निर्धारण गरेको शर्तबमोजिमको निर्माता अथोराइजेसन पत्रको नक्कली कागजात पेश गर्ने फर्मलाई छनोट गरेको पाइएको हो ।
आधिकारिक प्रमाणपत्र प्राप्त गर्ने फर्मले ठेक्का नपाएको तथा निर्माता अथोराइजेसन पत्रमा कीर्ते गरी पेश गर्ने फर्मलाई छनोट गरेको भन्दै अर्का एक बोलपत्रदाताले प्रमाणसहित उजुरी नै पेश गरेका छन् ।
बोलपत्र मूल्यांकन समितिलाई उक्त कुराको सत्यता जाँच गर्न निवेदन दिइएको भएपनि त्यसको सत्यापन जाँच नगरी मिलेमतोमा फेक कागजात पेश गर्नेलाई छनोट गरिएको ईटेक इन्टरनेसनल प्रालिको दाबी छ ।
यस्तो छ नालीबेली
कृष्णपुर नगरपालिकाले २०८२ वैशाख ५ गते सूचना प्रविधिसँग सम्बन्धित विभिन्न सामग्री खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।
नगरपालिकाले पर्सनल कम्प्युटर, यूपीएस, ब्ल्याक एन्ड ह्वइट प्रिन्टर, रंगिन प्रिन्टर, ७५ इन्च स्मार्ट बोर्ड (स्ट्यान्डसहित), ८६ इन्च स्मार्ट बोर्ड (स्ट्यान्डसहित), क्यामेरा (बिल्ट इन माइक्रोफोनसहित) र रंगिन आईपी बुलेट क्यामेरा खरिद गर्नका लागि टेन्डर आह्वान गरेको थियो ।
त्यसैगरी, ३२ च्यानल एनभीआर, पोर्ट पीओई स्वीच, सीसीटीभीका लागि ३२ इन्च मोनिटर, क्याट सिक्स केवल, सिक्स यू नेटवर्क र्याक, मिक्सर, मिक्सर एम्लिफायर, साउन्ड सिस्टमका लागि स्पीकर, साउन्ड सिस्टमकालागि वायरलेस माइक्रोफोन, साउन्ड सिस्टमका लागि वायर्ड माइक्रोफोन, प्रोजेक्टर, एयर कन्डिसनरसहित विभिन्न सामग्री खरिद गर्नका लागि बोलपत्र आह्वान गरिएको थियो ।
ती सबै सूचना प्रविधि सामग्रीका लागि कुनै खास ब्रान्ड नतोकिएको भए पनि क्वालिटी भने तोकिएको थियो । बोलपत्रका लागि आह्वान गरिएको बिडमा भने केही शर्तहरू राखिएको थियो ।
बिडरहरू नेपालको सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार योग्य हुनुपर्ने, विदेशी बिडरहरूले बिड पेश गर्दा स्थानीय एजेन्टको विवरण पेश गर्नुपर्ने शर्त राखिएको थियो । बिडरले प्यान र भ्याट रजिस्ट्रेसन, ट्याक्स क्लियरेन्स सर्टिफिकेट वा ट्याक्स रिटर्न दाखिला गरेको प्रमाण पेश गर्नुपर्ने, बिडर कालोसूचीमा नपरेको हुनुपर्ने भनेर बिडरको योग्यता निर्धारण गरिएको थियो ।
त्यसबाहेक सबै सामग्रीहरूको गुणस्तर तथा प्रमाणीकरणको बारेमा पनि छुट्टै शर्त राखिएको थियो । प्रत्येक सामग्रीकालागि ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चर(ओईएम)बाट अथोराइजेसन लेटर र क्याटलग अनिवार्य पेश गर्नुपर्ने प्रावधान समेत बोलपत्रमा राखिएको थियो ।
बिडमा तोकिएका प्राविधिक विशिष्टता पूरा गरेको हुनुपर्ने र सामग्रीहरूमा वस्तुअनुसार फरक–फरक १ वर्ष वा २ वर्षको ओईएम वारेन्टी अनिवार्य गरिएको थियो । साथै, बिडरले सामग्रीको अनुरूपता प्रमाणित गर्न टेस्ट रिपोर्ट, क्याटलग लगायतका कागजात पेश गर्नुपर्ने शर्त पनि राखिएको थियो ।
बिडहरू स्लाइस बाइ स्लाइस आधारमा मूल्यांकन गरिने र सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने योग्य बिडरलाई ठेक्का दिइने बिड डकुमेन्टमा उल्लेख थियो ।
आह्वान गरिएको बोलपत्रको सूचनाबमोजिम गड्तोला सप्लायर्स, उग्रतारा टेक्निकल गूड्स सप्लायर्स, दिपेश इन्फोसिस र ईटेक इन्टरनेशनल गरी चारवटा फर्मले बोलपत्र प्रस्ताव पेश गरेका थिए ।
गड्तौलाले १ करोड १८ लाख ५ हजार ६७५ रूपैयाँ, उग्रताराले १ करोड २४ लाख ९७ हजार ६८७ रूपैयाँ, दीपेशले १ करोड २६ लाख ९१ हजार ६१५ रूपैयाँ र ईटेकले १ करोड ४० लाख ७९ हजार १ सय रूपैयाँ प्रस्ताव गरेका थिए ।

२०८० जेठ २१ गते नगरपालिकाको कार्यालयले उग्रतारा टेक्निकल गूड्स सप्लायर्स धनगढीको बोलपत्र सारभूत रूपमा प्रभावाग्राही ठहरिएको भन्दै छनोटका लागि आशयको सूचना प्रकाशित गरेको थियो ।

उग्रताराले १ करोड २४ लाख ९७ हजार ६८७ रूपैयाँ भ्याटसहित रकम कबोल गरेको उक्त सूचनामा उल्लेख छ । सबैभन्दा कम मूल्य प्रस्ताव गरेको गड्तौला भने प्राविधिक मूल्यांकनमा उत्तीर्ण नै हुन नसकेको भन्दै दोस्रोलाई छनोट गरिएको छ ।
तर, त्यसअघि जेठ १६ गते नै ईटेक इन्टरनेशनल प्रालिले नगरपालिकाको प्राविधिक मूल्यांकन समितिलाई ई-बिडिङ प्रक्रियामा बोलपत्र प्रस्तावकहरूबाट पेश गरिएका निर्माता अथोराइजेसन पत्रहरूको पुन: जाँचका लागि अनुरोध गर्दै पत्र लेखेको थियो ।
ईटेकका प्रबन्ध निर्देशक जुनु ढकालले लेखेको उक्त पत्रमा केही मात्र बिडरहरूले निर्माता अथोराइजेसन पत्र सहित योग्यताका मापदण्ड पूरा गरेको दाबी गरिएको छ ।
‘विशेष गरी एक आपूर्तिकर्ताले हाम्रो एकमात्र स्वामित्वमा रहेका कम्तीमा २-३ कागजातहरूसँग ठ्याक्कै मिल्ने निर्माता अथोराइजेसन पत्रहरू अपलोड गरेको छ । यो कुराले आधिकारिक निर्माता अथोराइजेसन पत्र हस्ताक्षर भएका कागजातहरूको अनधिकृत नक्कल वा दुरुपयोग भएको हुन सक्ने बलियो संकेत गर्छ,’ उक्त पत्रमा उल्लेख थियो ।
त्यसका लागि विभिन्न कम्पनीका उत्पादनहरूको वितरकसँग समेत पुष्टि गरेको उक्त पत्रमा जिकिर गरिएको छ ।
नेपालमा एप्सनका उत्पादनहरूको एक मात्र वितरक मर्कन्टाइल अफिस सिस्टम्सले कृष्णपुर नगरपालिका कार्यालयको परियोजना लागि ईटेक इन्टरनेशनल प्रालिलाई मात्र विशेष निर्माता अथोराइजेसन पत्र जारी गरेको र अन्य कुनै बिडरलाई जारी नगरिएको पत्रमा दाबी गरिएको छ ।
त्यसैगरी, क्याननको अधिकृत वितरक आईईसीले पनि आफूलाई नै मूल पत्र प्रदान गरेको उनको दाबी छ ।
त्यसबाहेक दाहुआ यूपीएसको नेपाल क्षेत्रका परियोजनाहरूका लागि अधिकृत परियोजना प्रबन्धक र आधिकारिक हस्ताक्षरकर्ता प्रबिन डंगोलले पनि आफूलाई नै निर्माता अथोराइजेसन पत्र जारी गरेको ढकालद्वारा लेखिएको पत्रमा दाबी गरिएको छ ।
साथै, ती आधिकारिक प्रतिनिधिहरूले गरेको इमेलसहितका कागजात तथा विवरणहरू उनले उक्त पत्रसँगै संलग्न गरेकी थिइन् ।
‘निर्माता अथोराइजेसन पत्रमा हस्ताक्षर भएका कागजातहरूको अनधिकृत प्रयोग वा जालसाजीमा गम्भीर अनैतिकता भएको हुन सक्छ । कुनै पनि संस्थालाई अधिकृत प्रतिनिधिबाट प्राप्त नगरी यी कागजातहरू पुन: उत्पादन वा पेश गर्ने अधिकार छैन । तसर्थ, निर्माता अथोराइजेसन पत्रहरूको सत्यता जाँच गर्न र उपयुक्त कारबाही गर्न औपचारिकरूपमा अनुरोध गर्छौं,’ उक्त पत्रमा उल्लेख छ ।
अन्य बिडरले पेश गरेको निर्माता अथोराइजेसन पत्रहरू अनधिकृत भई जालसाजी गरिएको भन्दै कारवाही हुनुपर्ने उनीहरूको जिकिर छ ।
सबै बिडरहरूले पेश गरेका निर्माता अथोराइजेसन पत्रहरूको सत्यता जाँच गर्न तथा कुनै बिडरले जालसाजीपूर्ण कागजात पेश गरेको पाइएमा सार्वजनिक खरिद नियमावलीअनुसार कारबाही समेत उनीहरूले माग गरेका छन् ।
बिड मूल्यांकन प्रक्रियालाई पारदर्शीरूपमा पुनरवलोकन गर्न र आफूलाई कुन आधारमा अयोग्य ठहर गरियो भन्ने स्पष्ट कारण खुलाउनुपर्ने उसको माग छ ।
कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्ट भने त्यस विषयमा आफूलाई बढी जानकारी नभएको बताउँछन् । ‘बोलपत्र मूल्यांकन समितिका संयोजक रहेका नगरपालिकाका सूचना प्रविधि अधिकृत मदनराज पाण्डेयलाई नै सबै कुरा थाहा होला,’ भट्टले लोकान्तरसँग भने, ‘गुनासो आएपछि आईटी प्रमुख पाण्डेयजीले बुझ्दा निर्माता अथोराइजेसन पत्र दुवै कम्पनीलाई प्रदान गरिएको भन्ने कुरा आएको हो ।’
वितरक कम्पनीका आधिकारिक प्रतिनिधिले उग्रतारा र ईटेक दुवै कम्पनीलाई निर्माता अथोराइजेसन पत्र प्रदान गरेको भन्ने कुरा पाण्डेयले आफूलाई बताएको भट्टले बताए । त्यस विषयमा थप बुझ्न पाण्डेयलाई नै सोध्न उनले आग्रह गरे ।
तर, पाण्डेयलाई मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ रहेकाले प्रतिक्रिया लिन सकिएन ।
यता दहुवाका प्रोजेक्ट सेल्स म्यानेजर प्रविन डंगोलले भने युपीएसका लागि ईटेकलाई मात्र निर्माता अथोराइजेसन पत्र प्रदान गरिएको बताए । ‘हाम्रो दहुवा ब्रान्डको क्यामेरा, स्विच, एनभीआर, युपीएससहित विभिन्न प्रोडक्टहरू छन् । जसमध्ये युपीएसको आधिकारिकता हामीले ईटेकलाई नै दिएका छौं,’ डंगोलले लोकान्तरसँग भने, ‘तर, अन्य प्रोडक्ट एनभीआर, क्यामेरा आदिका लागि उग्रतारालाई पनि हामीले आधिकारिताको प्रमाणपत्र दिएका छौं ।’
डंगोलका अनुसार युपीएसको आधिकारिता प्रमाणपत्र उग्रतारालाई प्रदान गरिएको छैन । तर, ईटेकका प्रतिनिधिले भने उग्रताराले कृष्णपुर नगरपालिकाको बिड डकुमेन्टमा यूपीएसका लागि भनेर दहुवाको प्रमाणपत्र पेश गरेको आरोप लगाएका छन् । ‘दहुवाले उग्रतारालाई एनभीआर र क्यामेराको लागि निर्माता अथोराइजेसन पत्र प्रदान गरेको हो,’ ईटेकका प्रतिनिधिले लोकान्तरसँग भने, ‘तर, त्यही निर्माता अथोराइजेसन पत्रमा उग्रताराले एडिट गरेर यूपीएसको पनि आफैँले थपेको हो । त्यसैको अनुसन्धान हुनुपर्ने हामीले भनेको हौं ।’
त्यसैगरी, एप्सन ब्रान्डका असिस्टेन्ट म्यानेजर विजयकुमार श्रेष्ठ भने कृष्णपुर नगरपालिकाको टेन्डरका लागि ईटेकलाई मात्र निर्माता अथोराइजेसन पत्र प्रदान गरिएको बताउँछन् ।
‘उग्रतारा हाम्रो सुदुरपश्चिम क्षेत्रको डिलर हो । तर, हामीले कृष्णपुर नगरपालिकाको अहिलेको ठेक्काका लागि उग्रतारालाई निर्माता अथोराइजेसन पत्र प्रदान गरेका छैनौं । त्यसका लागि ईटेकलाई मात्र हामीले निर्माता अथोराइजेसन पत्र दिएका हौं,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘अब उग्रताराले कसरी बिड डकुमेन्टेसन गरेको हो, त्यो हामीलाई थाहा हुने कुरा भएन ।’
यता उग्रताराका सञ्चालक टेकराज पनेरूले पनि आफूले सबै सक्कली कागजात नै पेश गरेको बताउँछन् ।
‘निर्माता अथोराइजेसन पत्रको विषयमा विवाद भयो भनेर नगरपालिकाको कार्यालयबाट पनि फोन आएको थियो,’ उनले लोकान्तरसँग भने, ‘त्यस विषयमा नगरपालिकाको कार्यालयले नै आधिकारिक पत्र एप्सन र दहुवा आदिको कार्यालयबाट पाइसकेको छ ।’
निर्माता अथोराइजेसन पत्रमा कुनै पनि जालसाजीको काम आफूले नगरेको उनको जिकिर छ ।
हेर्नुहोस्, सम्बन्धित कागजात :