
फ्रान्सको डसाल्ट एभिएसन र भारतको टाटा एडभान्स्ड सिस्टम्सले भारतको हैदराबादमा राफेल लडाकु विमानको फ्युजलाज (विमानको मुख्य पार्ट्स) उत्पादन गर्ने सम्झौता गरेका छन् ।
यस सम्झौतासँगै लडाकु विमान राफेलको मुख्य पार्ट्स फ्रान्सभन्दा बाहिर हुन लागेको पहिलोपटक भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता मानिने भारतले स्वदेशी सैन्य उत्पादनलाई प्रोत्साहन र यससँग सम्बन्धित उत्पादनको निर्यातमा भारी वृद्धि गर्ने लक्ष्य राखेको छ ।
गत आर्थिक वर्षमा भारतको सैन्य निर्यात १२ प्रतिशतले बढेर २ दशमलव ७६ बिलियन डलर पुगेको थियो ।
सम्झौताअनुसार टाटाले हैदराबादमा राफेलको प्रमुख संरचनात्मक पार्ट्सहरू उत्पादन गर्न नयाँ फ्याक्ट्री स्थापना गर्ने बताइएको छ ।
उक्त फ्याक्ट्रीले सन् २०२८ को आर्थिक वर्षदेखि फ्युजलाज उत्पादन गर्ने अपेक्षा गरिएको छ । यो सुविधाले हरेक महिना दुईवटा पूर्ण फ्युजलाज आपूर्ति गर्न सक्नेछ ।
यो सम्झौताअनुसार उत्पादन हुने राफेलको मुख्य पार्ट्स फ्युजलाज स्वदेशी प्रयोग वा निर्यातका लागि हो भन्ने स्पष्ट खुलासा गरिएको छैन ।
तर, टाटा एडभान्स्ड सिस्टम्सले एक्समा उल्लेख गरे अनुसार यी फ्युजलाजहरू भारत र विश्वव्यापी बजारका लागि हुनेछन् ।
हाल भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान छन् । गत अप्रिलमा भारतले फ्रान्ससँग २६ वटा नौसैनिक राफेल विमान ७ बिलियन डलरमा खरिद गर्ने सम्झौता गरेको थियो, जुन सन् २०३० सम्म डेलिभरी हुने अपेक्षा छ । फ्रान्स भारतको दोस्रो ठूलो हतियार आपूर्तिकर्ता हो ।
भारतले आफ्नो सैन्य आधुनिकीकरण र स्वदेशी हतियार उत्पादनलाई प्राथमिकता दिँदै छिमेकी मुलुकहरू पाकिस्तान र चीनविरुद्ध रक्षा क्षमता बलियो बनाउन जोड दिएको छ ।
गत महिना भारत–पाकिस्तानबीच भएको सैन्य झडपमा भारतले राफेल विमान प्रयोग गरेको थियो । यो झडप जम्मु–कश्मीरमा इस्लामिक आतंकवादी समूहले गरेको आक्रमणमा २६ व्यक्तिको मृत्यु भएपछि शुरु भएको थियो ।
पाकिस्तानका रक्षामन्त्रीले झडपमा भारतका तीन राफेल विमान खसालिएको दाबी गरेका थिए तर यसको प्रमाण भने अहिलेसम्म पाकिस्तानले दिएको छैन ।
रोयटर्सले एक अमेरिकी अधिकारीको भनाइ उदृत गर्दै कम्तीमा एक राफेल खसालिएको जनाएको थियो । यद्यपि डसाल्ट एभिएसनले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
भारतीय रक्षा प्रमुखले गत साता रोयटर्ससँगको अन्तर्वार्तामा हवाई क्षेत्रमा क्षति भएको स्वीकार गरेपनि विस्तृत जानकारी दिएनन् ।
यो सम्झौताले भारतको ‘मेक इन इन्डिया’ पहललाई थप बल प्रदान गर्ने भारतीय सञ्चारमाध्यमहरूको भनाइ छ । हैदराबादमा बन्ने फ्याक्ट्रीले भारतलाई रक्षा प्रविधिमा आत्मनिर्भर बनाउन र विश्व बजारमा प्रतिस्पर्धी बन्न सहयोग पुग्ने विश्वास गरिएको छ ।