
वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै सर्वसाधारणबाट १६ करोड रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङका लक्ष्मण पराजुली र धनुषास्थित सबैला नगरपालिका– १२ का अरुणराज शर्मा छन् ।
अहिले पक्राउ परेका पराजुली र शर्माको समूहमा अन्य व्यक्तिहरू समेत रहेको खुलेको छ ।
प्रहरीले यो समूहका राहुल पञ्ज, सत्यनारायण समी, सुधाकुमारी पन्त र कविता तिमल्सिनालाई यसअघि नै पक्राउ गरेको थियो । यीमध्ये तिमल्सिना पूर्पक्षका लागि थुनामा छिन् । बाँकी धरौटीमा छुटेका छन् ।
वैदेशिक रोजगार विभागको पत्रानुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पराजुली र शर्मालाई काठमाडौंको कपनबाट नियन्त्रणमा लिएको हो । उनीहरूले ३८ जनाबाट जनही २० लाखदेखि ४६ लाखसम्म उठाएको देखिन्छ ।
पीडितमध्ये गोरखाका एकजना सोमबार अनुसन्धान कार्यालयमा भेटिए ।
ती पीडितका अनुसार उनले शुरूमा फेसबूकमा ‘यूके स्पाउज भिसा इंग्लिस सेन्टर’ नामक पेज खोलेका थिए । उक्त पेजमा केही व्यक्तिहरूले बेलायतमा काम गरिरहेको भनेर फोटो राखिएको थियो ।
‘पहिलो त्यो पेज फलो गरियो, अनि पीडकमध्येका पराजुली सम्पर्कमा आए,’ ती पीडितले लोकान्तरसँग भने, ‘अनि पुतलीसडकमा रहेको कार्यालयमा भेट्न पुगें ।’ पीडितका अनुसार हाल पक्राउ परेका पराजुलीसँग उनको भेट भयो ।
एक महिनाभित्र बेलायत उडाइदिने भनेर उनले शुरूमा ६ लाख र ४ पटक गरेर ४५ लाख रुपैयाँ बैंकमा जम्मा गर्न लगाए ।
पराजुलीले पैसा भने कविता तिमल्सिना (हाल पुर्पक्षका लागि जेलमा) को बैंक खातामा जम्मा गर्न लगाएका थिए ।
तिमल्सिनाको नाममा खोलिएको लक्ष्मी सनराइज, प्राइम, प्रभु र ग्लोबल आईएमई बैंकको खातामा पीडितहरूले रकम जम्मा गरेको देखिन्छ ।
‘पराजुलीले हामीलाई मेडिकल पनि गरायो, पुलिस रिपोर्ट बनाउन लगायो, भिसाको काम भइहाल्छ भनेर खुरुखुरु पैसा जम्मा गर्न लगायो,’ पीडितहरूले लोकान्तरसँग भने, ‘डेढ महिनासम्म बेलायत नपठाएपछि हामीलाई शंका लाग्यो र पुतलीसडकस्थित कार्यालयमा गएर कुरा गर्दा भिसाको प्रोसेस एक हप्ता लम्बिने भयो भन्दै फकाएर पठायो ।’
पराजुलीले प्रत्येक पीडितलाई छुट्टाछुट्टै भेट्थे । सकभर पीडितलाई होटल तथा क्याफेमा चिया पिउन भनेर बोलाउने गरेको पाइएको छ । जसरी पनि बेलायत पठाएरै छाड्ने भन्दै आश्वासन दिने गरेको खुलेको छ । विश्वास दिलाउन ८ देखि १० जनालाई उनले खाली चेक समेत दिएको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् ।
प्रहरीका अनुसार पराजुलीको समूहले गोरखा, लमजुङ, धादिङ, सिन्धुली, कास्की, पाँचथर, बैतडी, मोरङ, बुटवल, दाङ, म्याग्दी, नुवाकोट, काठमाडौं, काभ्रे, चितवन, सिन्धुली, धनुषा, महोत्तरी, सुनसरी, दैलेख, दार्चुला, बाँके, सुर्खेत र बर्दियाका ३८ जनालाई ठगी गरेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ ।
विभागले पक्राउ पुर्जी जारी गरेकामध्ये पराजुलीकी श्रीमती सम्झना पौडेल फरार छिन् । उनको खातामा अहिले पनि १ करोड रुपैयाँभन्दा बढी मौज्दात रहेको अनुसन्धानबाट खुलेको छ ।
‘सकभर छलफल गरेरै मुद्दा सल्टियोस् भन्ने हामी चाहन्थ्यौं, तर पराजुलीले जहिल्यै छलछाम मात्रै गर्ने रहेछन्,’ अर्का एक पीडितले भने, ‘गाउँमा ऋण लिएको पैसाको ब्याज बढेकोबढ्यैछ, बुवाआमालाई समेत तनाव भइरहेको छ, अब हामीले कसरी ऋण तिर्ने ?’
पीडितहरूका अनुसार पराजुलीले उल्टै उनीहरूलाई ह्वाट्सएपमा फोन तथा म्यासेज गरेर ‘कानूनी उपचारमा गएकाले तिमीहरूले पैसा पाउँदैनौ, जे गर्छौ गर’ भनेर धम्क्याउँदै आएका थिए ।
पीडितहरूमध्ये केही इन्जिनियरिङ, केही नर्सिङ र केही होटलम्यानेजमेन्ट पढेका अध्ययनशील युवायुवती छन् ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार पराजुलीको समूहले करोडौं रुपैयाँ ठगी गरेको र उनीहरूलाई पक्राउ गरेर सहयोग गरिदिन भन्दै वैदेशिक रोजगार विभागको पत्र आएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई विभागमा पठाइने जानकारी आचार्यले दिए ।