
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारतमा हालसम्मकै सबैभन्दा महत्वाकांक्षी रेल परियोजना मानिएको काश्मिर उपत्यकालाई पहिलो पटक भारतीय मुख्य रेलमार्गद्बारा जोड्ने रेलवेको उद्घाटन गरेका छन् ।
भारत सरकारद्बारा सञ्चालित भारतीय रेलवेले यस २७२ किलोमिटर लामो रेलमार्गलाई विश्वकै सबैभन्दा चुनौतीपूर्ण मार्गमध्ये एक मानिएको थियो ।
यो मार्ग जम्मू क्षेत्रको उधमपुर शहरबाट शुरू भई जम्मू र काश्मिरको मुख्य शहर श्रीनगर हुँदै सैन्यीकृत नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) नजिकैको वारामुल्ला शहरमा पुगेर समाप्त हुन्छ ।
यो रेलमार्गमा ३६ वटा सुरुङ र ९४३ वटा पुल छन् । भारत सरकारले यो परियोजनाको कुल लागत करिब ५ अर्ब डलर अनुमान गरेको छ ।
चिनाब नदीमाथिको ऐतिहासिक पुल
चिनाब नदीमाथि बनेको दुई पहाडलाई जोड्ने १,३१५ मिटर लामो स्टिल र कंक्रिटको पुल यो परियोजनाको मुख्य आकर्षण हो ।
यो पुल नदीको सतहबाट ३५९ मिटर उचाइमा छ, जुन पेरिसको आइफल टावर (३३० मिटर) भन्दा पनि अग्लो हो ।
भारतीय रेलवेका अनुसार यो पुल १२० वर्षसम्म टिक्ने र २६० किलोमिटर प्रतिघण्टासम्मको हावाको वेग र चरम मौसमी अवस्थालाई सहन सक्ने गरी बनाइएको छ ।
प्रधानमन्त्री मोदी शुक्रबार कडा सुरक्षाबीच चिनाब पुलको अवलोकन गरे र भारतीय झण्डा हल्लाउँदै परीक्षण रेलमा चढेर रमणीय पहाड र सुरुङ हुँदै अर्को अन्जी पुलको उद्घाटन समारोहमा पुगेका थिए ।
परियोजना उद्घाटनपछि प्रधानमन्त्री मोदीले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै यी यसलाई जम्मू र काश्मिरको नयाँ शक्ति र सामर्थ्यको प्रतीकका रूपमा व्याख्या गरे ।
'उधमपुर-श्रीनगर-बारामुल्ला रेलमार्ग परियोजना केवल नाम मात्र होइन, यो जम्मू र काश्मिरको नयाँ शक्तिको पहिचान हो । यो भारतको नयाँ शक्तिको घोषणा हो,' मोदीले भने ।
उनले यो परियोजना निर्माणमा इन्जिनियर र कामदारले सामना गरेका असंख्य चुनौतीहरूको चर्चा गर्दै सरकारको समृद्ध काश्मिर निर्माण गर्ने संकल्प र प्रतिबद्धताबारे पनि बताए ।
'यो परियोजना अत्यन्त चुनौतीपूर्ण थियो, किनकि भूभाग निकै कठिन थियो । तर, हाम्रो सरकारले चुनौतीलाई पनि चुनौती दिने निर्णय गर्यो,' उनले थपे ।
वन्दे भारत रेलको शुभारम्भ
प्रधानमन्त्री मोदीले सोही कार्यक्रममा दुई नयाँ 'वन्दे भारत' रेलको पनि शुभारम्भ गरेका छन् । उक्त रेलले जम्मूको कटरा शहर र श्रीनगरबीचको यात्रा समयलाई आधा घटाएर करिब तीन घण्टामा झार्नेछ । सडकमार्गबाट यो यात्रा सामान्यतः ६ देखि ७ घण्टा लाग्छ ।
मोदीले शुक्रबार गरेको काश्मिरको यो भ्रमण भारत र पाकिस्तानबीच गत महिना भएको सैन्य तनावपछि पहिलो हो ।
उक्त तनावले दुई आणविक हतियार सम्पन्न छिमेकी मुलुकबीच काश्मिरलाई लिएर तेस्रो युद्धको संघारमा पुर्याएको थियो । युद्धमा दुवै देशले एकअर्कामाथि मिसाइल र ड्रोन प्रहार गरेका थिए ।
यो युद्ध गत अप्रिलमा भएको पहलगाम आतंकवादी आक्रमणपछि शुरू भएको थियो । उक्त आक्रमणमा आतंककारीले २६ जनाको हत्या गरेका थिए ।
भारतले यो हमलाका लागि पाकिस्तानले समर्थन गरेका आतंकवादी संगठनमाथि आरोप लगाएको थियो । यद्यपि उक्त आरोप इस्लामाबादले अस्वीकार गरेको छ ।
उद्घाटनका क्रममा मोदीले चिनाब पुललाई 'उदाउँदो भारतको प्रतीक र उत्सव' का रूपमा वर्णन गरे । यो पुल 'वास्तुकलाको असाधारण उपलब्धि' रहेको उनको भनाइ थियो ।
कटरा र श्रीनगर जोड्ने वन्दे भारत एक्सप्रेसको उद्घाटन यात्रामा प्रधानमन्त्री मोदीसँग भेट्ने अवसर पाएका विद्यार्थीहरूले उक्त क्षणलाई अत्यन्त गर्व र उत्साहको अनुभवका रूपमा वर्णन गरे ।