
प्रिय पदाधिकारी साथीहरू,जय नेपाल !
नेपाली कांग्रेसजस्तो नेपालको जेठो, ऐतिहासिक, उदार लोकतान्त्रिक पार्टीका नेता तथा पदाधिकारीहरूसँग पार्टीका महत्त्वपूर्ण साथीहरूको नियमित भेटघाट, संवाद र सुझाव आदानप्रदान दुर्लभ तथा औचित्यहीन बन्दै गएपछि पार्टी सदस्यको नाताले संवादको वैकल्पिक माध्यम अपनाउनुभन्दा अर्को बाटो रहेन । तसर्थ, यो चिठ्ठी लेख्दैछु ।
हुन त यस्ता चिठ्ठीले खासै अर्थ राख्नेछैन भन्ने मलाई राम्रोसँग थाहा छ र यसको प्रकाशनपछि बहुरंगी टिप्पणीहरू आउनेछन् भन्ने पनि थाहा छ । तथापि आफूलाई लागेको कुरा समयमै भनिहाल्नुपर्छ भनेर लेखेको हुँ । सुझाव र सल्लाह जसले दिए पनि लिनु भन्छन्, बुढापाका । तपाईंहरू लिनुहुन्छ/लिनुहुन्न ? थाहा छैन । म दुश्मनको कोटीमा परिसकेको त छैन होला शायद ! त्यसैले यसभित्रका सकारात्मक पक्षलाई ग्रहण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।
साथीहरू, भारतीय स्वतन्त्रता संग्रामको सफलतालगत्तै नेपाली कांग्रेसको स्थापनाकालमा केही नेताहरू वा व्यक्ति मात्र अगुवा र सक्रिय हुनुहुन्थ्यो, तर त्यसबेला पनि बीपी एक्लै भने हुनुहुन्थेन । त्यतिबेला मुख्य रूपले बीपी, गणेशमान, डिल्लीरमण रेग्मीलगायत नेताहरूले आजीवन कारावासको सजाय पाएका तत्कालीन नेपाल प्रजा परिषदका नेता टंकप्रसाद आचार्य समेतलाई समेटेर नेपाली राष्ट्रिय कांग्रेसजस्तो प्रजातान्त्रिक तथा क्रान्तिकारी पार्टीको स्थापना गरेका थिए ।
केही समयपश्चात यही पार्टीमा नेपाल प्रजातन्त्र कांग्रेस र यसका नेताहरू सुवर्ण शमशेर, महावीर शमशेर, महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्याय समेत सम्मिलित भई नेपाली कांग्रेसको स्थापना भएको थियो । यस्तो पार्टीको पदाधिकारी बन्नु निकै ठूलो गौरव र सौभाग्यको विषय हो । तपाईंहरूले त्यस्तो गौरव प्राप्त गर्नुभयो । हामी सबै खुशी भयौं, किनभने हामी पनि तपाईंहरूलाई त्यो गौरव दिलाउन लागि परेका हौं र दुईचार थोपा पसिना बगाएका पनि हौं । र, त्यसबेला नेतृत्व हस्तान्तरण, पुस्तान्तरण तथा रुपान्तरणको नारा दिने हामी नै थियौं । तपाईंहरूको जीतलाई आफ्नै जीत मानेर औधी खुशी भयौं र हर्षबढाइँ समेत गर्यौं । पार्टी र संसद्को दुवै फ्रन्टमा आफ्ना दामली साथीभाइहरूले राम्रो भूमिका पाउँदा साच्चै खुशी लाग्यो र ठाउँ–ठाउँमा प्रशन्नता जाहेर गर्दै हिँड्यौं।
हामीले ठान्यौं, अब पार्टीमा नयाँ युगको सुत्रपात हुनेछ र पार्टी विधिसम्मत चल्नेछ । यस्तो सोचेर पार्टीमा अब हुने परिवर्तनबारे बोल्दा हामीलाई प्रश्न उठाउने र शंका गर्नेहरूलाई प्रतिप्रश्न गर्यौं र प्रत्याभूति दियौं कि अब राम्रो हुनेछ । पार्टीको सर्वोच्च कार्यकारिणी समितिमा झण्डै दुईतिहाइ संख्यामा रहेका युवा साथीहरूको दिनरात मेहनत र सुझबुझबाट पार्टीले गति लिने र अभूतपूर्व सफलता हासिल गर्ने विश्वास पनि गर्यौं ।
पुरानो पुस्तालाई सघाउने ऊर्जा, चेतना र आत्मविश्वास भरिएको तरुण युवाहरूको चमत्कार हेर्न पाइने लालसा राख्यौं । हिजोआज तपाईंहरूका प्रशंसक बनेका आकाशे पात्रहरू (जो बलेको आगो मात्र ताप्छन् )ले भनेजस्तो तपाईंहरूले भूमिका पाउँदा हामीलाई न जलन, न ईर्श्या, केही भएन । ती महानुभावहरू (कतिपय त सामाजिक सञ्जालमा अनुहार देखाउने हिम्मत पनि गर्दैनन्)ले भने झैं हामीमा न कुण्ठा छ, न द्वेश, न क्लेश नै छ । त्यो त औसत मान्छेको स्वभाव र चरित्र हो । त्यस्ता मान्छे त साथीहरूले नयाँ जुत्ता लगाउँदा पनि जल्ने गर्छन् । कहिलेकाहीँ हामीले साथीहरूलाई अधिकारपूर्वक विनम्रताका साथ प्रेमिल सुझाव दिँदा उहाँहरूलाई नै भतभतिचाहिँ किन पोलेको हो, बुझ्न सकिएन । तसर्थ, एउटा कुरा भन्नै पर्ने भयो, हाम्रो शब्दकोषमा त्यस्ता शब्द र प्रवृत्तिको कुनै स्थान छैन ।
पार्टी, देश र समाज राम्रो बनाउन जसले जान्दछ र सक्छ, उसैलाई साथ र समर्थन दिनुपर्छ भन्ने हाम्रो दृढ मान्यता हो । तर, यो नि:शर्त भने होइन । यसका लागि नीति अनुसारको प्रवृत्ति, योजनाअनुरुपको कार्यक्रम, सिद्दान्त र नारा बमोजिमको व्यवहार हुनुपर्छ र सरोकारवालासँग नियमित सघन संवाद हुनुपर्छ । फगत नाराले मात्र देश बन्दैन, त्यसैले अहिले सबैले काम, व्यवहार र परिणाम हेरिरहेका छन् । तपाईंहरू आफूले प्राप्त जिम्मेवारी कसरी निर्वाह गर्दै हुनुहुन्छ, पूर्ण चासो र सचेतताका साथ नियालिरहेका छन् । अझ नयाँ पुस्ताका आशलाग्दा पात्र भएकाले पनि तपाईंहरूमाथि ज्यादा जिम्मेवारी छ । अर्को कुरा प्रख्यात बिदुर नीतिले एक ठाउँमा भनेको रहेछ–
अतिमानोsतिवादश्च तथा त्यागो नराधिप।
क्रोधश्चात्मविधित्सा च मित्रद्रोहश्च तानि षट्।।
धेरै अभिमान, सर्वसत्तावाद वा एकाधिकार, अहंकार, लोभ, क्रोध, रिस र मित्रद्रोह, यी छवटा विषयबाट अलग बस्नुमै कल्याण छ किनभने यी सदैव हानिकारक छन् । यसको ख्याल गर्नुहोला ।
साथीहरू,
हामी यतिबेला धेरै प्रकारका चुनौतीहरूले घेरिएका छौं। कम्युनिस्ट र निरंकुश राजतन्त्रवादीहरूले हामीलाई दोहोरो घेराबन्दीमा राखेका छन्। उनीहरूका लागि कांग्रेस सबैभन्दा ठूलो दुश्मन हो। यो कुरा उनीहरूको दस्तावेजमा अभिलिखित छ। प्रजातन्त्रको भविष्यप्रति जनता आश्वस्त देखिँदैनन्। वर्तमान शासन प्रणालीले धेरै विकृति पैदा गरेको छ। राजनीतिक नेतृत्वको कार्यशैली जनभावना अनुकूल छैन। मेधावी र होनहार नयाँ पुस्ता राजनीतिबाट टाढै बस्न रुचाएको छ। यसको कारण खोजेर राजनीतिमा भित्र्याउने जिम्मा तपाईंहरूको होइन र ?
प्रजातान्त्रिक संस्थाहरू कमजोर बन्दै जाने र व्यक्ति बलियो हुने प्रवृत्ति बढेको छ, यस्तो किन र कसरी भयो? भारतीय राष्ट्रिय कांग्रेस र अफ्रिकन नेशनल कांग्रेसको हाराहारीमा रहेको हाम्रो पार्टी र देशले २००७ साल यता धेरै उतारचढाव झेल्नुपरेको छ। भारत र अफ्रिकाको जस्तो स्थिति नेपालको छैन। बर्मा र पाकिस्तानझैं यहाँ पनि प्रजातन्त्र माथि प्रहार हुने क्रम जारी छ । बंगलादेश र श्रीलंकामा जननिर्वाचित सरकारहरूको बेहाल भएको हामीलाई थाहा छ। देशको बहुमूल्य समय अनुत्पादक रूपमा बितिरहेको छ। सामाजिक र धार्मिक सद्भाव खलबलिएको छ। अर्थतन्त्र कमजोर छ। देशको औद्योगिकरण र कृषिमा आधुनिकीकरण र व्यवसायीकरण छैन। पर्यटन क्षेत्र लथालिङ्ग छ। दुई ठूला छिमेकी मित्र राष्ट्रले विकास र प्रगतिमा हामीलाई सय वर्ष पछाडि छाडिसके। अहिले देशमा एउटा त्यस्तो नेता छैन, जसलाई सम्पूर्ण नेपालीले पूर्ण विश्वास गरेको होस्। अनुहार र व्यक्तित्व हेरेर चित्त बुझाउने ठाउँ छैन। यो आजको वास्तविकता हो यो। जो यसलाई स्वीकारेर अघि बढ्दैन, त्यो वास्तविक नेता होइन र हुन पनि सक्तैन भन्ने हाम्रो बुझाइ हो।
साथीहरू,
अहिले हाम्रो लागि घर बलियो बनाउनु पहिलो आवश्यकता हो। त्यसका लागि पार्टीको आन्तरिक व्यवस्थापनदेखि प्रविधिमैत्री कार्यालय र संगठन, नियमित बैठक, पारदर्शी निर्णय प्रक्रिया, काम र योगदानमा आधारित मूल्यांकन प्रणाली, प्राकृतिक न्यायको सिद्धान्तमुताबिक अवसरको समुचित वितरण, दण्ड र पुरस्कारको समुचित कार्यान्वयन र व्यवस्था, नियमित संरचनात्मक गतिशीलता, पार्टीका भ्रातृसंगठनहरूको नियमित अधिवेशन, राजनीतिक चुनौतीहरूको पहिचान, प्रभावकारी नीति र कार्यक्रम, नियमित प्रशिक्षण र समसामयिक गतिविधिजस्ता विषयहरू निर्विवाद अघि बढ्नेछन् भन्ने सपना पनि देख्यौं। यस विषयमा हामीले नेतृत्व खोजेर भेटेका बेलामा (तपाईंहरू त पार्टी र राज्य सञ्चालनमा जो व्यस्त हुनुहुन्छ) जानेजति सुझाव पनि दियौं। पार्टीले दिने अवसर र भूमिकाको परिप्रेक्ष्यमा हाम्रो नाममा पनि कहिलेकाहीँ बहस होला भन्ने अपेक्षा पनि गर्यौं र कहिलेकाहीं त दुर्लभ फोन कलको आशा पनि गर्यौं। हुन त यो हाम्रो बेवकूफी रहेछ भनेर थाहा पाउन निकै समय लाग्यो। दुःखका साथ भन्नुपर्छ, यसबीचमा कर्मकाण्डी र यान्त्रिक क्रियाकलापबाहेक पार्टीका जीवन्त गतिविधि केही पनि देखिएनन्। बहुमूल्य समय मात्र खेर गयो, उपलब्धि र प्रगति देखिएन।
पदाधिकारी साथीहरू,
म फेरि पनि क्लेश र द्वेषरहित भएर वस्तुनिष्ठ र भावनात्मक अनुरोध गर्दैछु। यसो भन्न पाउँदा निकै खुशी पनि छु। नेपालको राजनीतिक इतिहास र यसको महत्त्वपूर्ण कालखण्डमा ठूलो जोखिम उठाइसकेकाले अब पुनः कुनै जोखिम उठाउन गाह्रो पर्ला भन्ने लाग्दैन। यो चिठ्ठी लेख्दै गर्दा अद्वितीय भावनात्मक उद्वेलन, मेटिएको अपेक्षा र थोरै आक्रोश समेत छ भन्दा मलाई कुनै शंकोच छैन। खाली क्यानभास र स्लेटसँग विद्यमान रिक्तता र गौरव मसँग पनि छ, जहाँ म आफ्नै विवेकले जुनसुकै रङ भर्न वा चित्र उतार्न सक्छु। सामान्यतया आफ्ना भावना जोडिएका विषयहरू आफूले छानेका पात्रबाट पूरा हुने विश्वास गरिएको सन्दर्भमा भएको अनपेक्षित व्यवहार विस्मयजनक हुँदोरहेछ। आफ्नै संलग्नतामा बनाएको समूह र आफैँले रोजेका एवं विश्वास गरेका पात्रहरू सांगठनिक दृष्टिबाट विरानो हुँदै जाँदा गज्जबको अनुभूति अर्थात् एक प्रकारको भावुक स्तब्धता छाउँदो रहेछ। तर, यसले थोरै करुणा, दया र सहानुभूति पैदा हुँदो रहेछ ।
समय र इतिहासको अन्तरालमा उपलब्ध ईश्वर (प्रकृति) प्रदत्त तुच्छ (अनमोल पनि भन्न सकिन्छ) जीवनमा गरिने औसत गतिविधिहरू साँच्चै हाँस्यास्पद समेत देखिँदा रहेछन्। व्यक्तिका प्राथमिकताहरूले उसको स्तर निर्धारण गरिदिन्छ, शायद। यसलाई बुझ्न उस्तै औसत मान्छेलाई समय लाग्छ। औसत बुद्धि र योग्यताका अतिरिक्त व्यक्तिगत धूर्तताले ठूलो औसत जमातलाई अल्मल्याइरहेको वर्तमान परिप्रेक्ष्यमा हाम्रो पार्टी पनि यसबाट अपवाद हुन सकेन, कम्युनिस्ट रोग हामीलाई सर्यो । यसो भन्नुपर्दा मलाई असाध्यै दुःख लागिरहेको छ। हामीले बुझ्नुपर्छ उभिने जमिनमा हो, आकाशमा होइन। आकाशमा उभिन खोजेर अलौकिक पात्र बन्ने कोशिश कसैले पनि नगरौं भन्ने हाम्रो आग्रह हो।
साथीहरू,
हाम्रो पार्टी सभापति ८० वर्षको हाराहारीमा हुनुहुन्छ। यो छिप्पिएको बुढ्यौली र परिपक्व उमेर हो। यो उमेरपछि व्यक्तिको जीवनमा सामान्यतया परिपक्वता थपिँदैन। गिरिजाप्रसाद कोइराला भने अपवाद हो। उहाँमा ८० नाघेपछि राजनीतिक रूपमा निखार र थप परिपक्वता आएको हो, यद्यपि उहाँ प्रारम्भदेखि नै कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो। उहाँको जीवनमा यो साँच्चै अभूतपूर्व र अद्वितीय मोड थियो। ८ दशक नाघेपछि नै उहाँले नेपाली राजनीतिबाट राजसंस्था हटाउनु भयो, देशमा शान्ति स्थापना गर्नुभयो र फुटेको पार्टी पनि मिलाउनुभयो। सामान्यतया संसारमा यस्ता घटनाहरू विरलै घट्छन्। झण्डै ४० वर्षअघि विराटनगरको कोइराला निवासमा जुँगाको रेखी नबसेको बेला हामीले भेटेका गिरिजाबाबुले इतिहासको कसीमा आफूलाई अब्बल प्रमाणित गर्नुभयो।
यसैगरी वर्तमान सभापतिमा चमत्कारिक परिवर्तन आओस् भन्ने हामी चाहन्छौं। दुःखको कुरा त के हो भने परिस्थितिको गम्भीरता बुझेर नीति बनाउने र तदनुसार कार्यान्वयन गर्ने/गराउने काम तपाईं पदाधिकारीहरूको हो कि होइन? प्रजातन्त्रलाई काम र परिणामले सार्थक बनाउने हो कि सम्भाषणले ? हामीले तपाईंहरूको उमेर र नारा हेर्ने कि, काम वा परिणाम हेर्ने ? आखिर कसरी चित्त बुझाउने हो ? हामी सबै मिलेर पुरानो पुस्ताले देश चलाउन जानेन र सकेन भनेको होइन? पार्टी बिग्रियो, नयाँ पुस्ता चाहिन्छ, भनेको होइन? अहिले भ्रातृसंगठनको अवस्था कस्तो छ ? हुँदाहुँदा जनताको थोपाथोपा पसिनाबाट जम्मा भएको कर भ्रातृसंगठनको घर बनाउन सरकारबाट अनुदानको रूपमा लिने? यसमा तपाईंहरूको आवाज कहाँ गयो ? मीनबहादुर गुरुङले एमाले कार्यालय बनाउनु गलत हो भन्ने हामी नै होइन? अझ खुलेआम सरकारी पैसा लिएर दलको कार्यालय बनाउने कस्तो नीति हो हाम्रो? पार्टीका संरचना के गर्दैछन् ? क्रियाशील नवीकरण के हुँदैछ ? नयाँ सदस्य कसलाई बनाउने ? तपाईंहरूको ध्यान यसमा छ त ? बडो दुःख लागेको छ।
साथीहरू,
अझै समय छ, जिम्मेवारीकेन्द्रित हुनुहोस् भन्ने हाम्रो आग्रह हो। मूलतः पार्टीको संस्थागत विकास भएन। यो कुरा प्रातः स्मरणीय नेता सुशील कोइराला बारम्बार उठाइरहनुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, 'तपाईंहरू व्यक्तिको पछि नलाग्नुस्, संस्थाको पछि लाग्नुस् । मेरो पछि होइन, पार्टीको पछि लाग्नुस् । कांग्रेसको संस्थागत विकासमा बल पुर्याउनुस्। हामी कति बाँच्छौं र ? म कति बाँचौंला, भविष्य तपाईंहरूको हो। विधि र पद्धतिमा चल्ने पार्टी बनाउनुस्, व्यक्तिगत स्वार्थमा नलाग्नुस्, मैले गल्ती गरें भने मेरै विरोध गर्नुस्, चुप लागेर नबस्नुस् !'
आज यी सबै कुरा इतिहासका मिथक जस्ता भए, किन ? कहिलेकाहीं सम्झिँदा सपनाजस्तो लाग्दो रहेछ। पदाधिकारी बन्नु वा सरकारमा पुग्नु एउटा सुनौलो अवसर हो। आफूलाई प्रमाणित गर्न यस मौकालाई भरपूर उपयोग गर्नुस् भन्ने हाम्रो आग्रह हो। वर्तमान परिदृश्य निकै निराशाजनक छ। न पार्टी सही तरिकाले चलेको छ, न त सरकार। यसमा तपाईंहरू पनि जिम्मेवार हुनुहुन्छ, हुनुहुन्न? पार्टी र सरकारका बारेमा उठ्ने प्रश्नले तपाईंहरूलाई घोच्छ कि घोच्दैन? तपाईंहरू नै बेला बेलामा भन्नुहुन्छ, 'कांग्रेसमा प्रश्न गर्न पाइन्छ।' तर, साथीहरू सुनाउँछन्, हिजोआज तपाईंहरूलाई प्रश्न मन पर्न छाडेको छ। अङ्ग्रेजीमा एउटा भनाइ छ, 'If we can't prove we're right, we don't have the luxury of further nonsense.'
साथीहरू,
हामीले पुरानो पुस्तालाई वर्तमानका चुनौतीहरूबारे विस्तारमा सम्झाउन, नागरिकको मनोविज्ञान बुझाउन र आफूहरूले गर्ने कार्यमा सघाउन तत्पर बनाउन सक्नुपर्छ भन्ने लाग्छ । र, कुनै पनि नीति बनाउँदा र निर्णय लिँदा दशपटक सोच्नुपर्छ। महासमितिको बैठकले अब आइन्दा कुनै पनि चुनावमा गठबन्धन नगर्ने भन्यौं र निर्णय पनि गर्यौं। तर स्ववियू लगायतका सबै खाले साना चुनावमा गठबन्धन जारी राख्यौं। के हाम्रा विद्यार्थीहरूलाई अहिल्यैदेखि गठबन्धन सिकाएको हो? यसले नयाँ पुस्तामा कस्तो मनोविज्ञान तयार हुन्छ? तरुण युवामा कस्तो सन्देश प्रवाहित गर्छ? केही अनुमान गर्नुभएको छ? त्यसैले राजनीतिक र सामाजिक साख गुमाउने अविश्वसनीय कार्य वा निर्णय हामीले कहिल्यै पनि गर्नु हुँदैन। पन्ध्रौं महाधिवेशनको कार्यतालिका कहाँ पुग्यो? आखिर कहिले गर्ने महाधिवेशन? यस्ता विषयमा चुक्नु हुँदैन भन्ने हामीले कहिल्यै बिर्सनुहुँदैन। त्यसैले अहिलेको हाम्रो दायित्व कांग्रेसलाई आन्तरिक रूपले सुसज्जित पार्ने र सांगठनिक दृष्टिबाट तन्दुरुस्त बनाउने हो। यसका लागि हामी कस्सिएर हुँदैन, तपाईंहरू नै कस्सिनु पर्छ, हामीले त सघाउने मात्र हो। अहिलेसम्म हामीले तपाईंहरूलाई सघाउन पाएका छैनौं। यस्तो जमात असाध्यै ठूलो, योग्य र सामर्थ्यशाली छ। यही आडम्बरले त सघाउने वातावरण बन्दैन नि ! तपाईंहरूको आजसम्मको प्राथमिकता त व्यक्तिगत देखिन्छ, संस्थागत छैन।
साथीहरू,
यतिबेला पार्टी आशा र निराशाको अन्तर्द्वन्द्वमा रुमल्लिरहेको छ, यसका सर्जक केन्द्रीय नेताहरू नै हुनुहुन्छ। केन्द्रका गतिविधिहरूले पार्टीका जरासम्म नराम्ररी प्रभाव पार्छ भन्ने हामीले राम्रोसँग बुझ्नुपर्छ। ऐतिहासिक गौरव, सिद्धान्त, विचारधारा र संघर्षले मात्र पार्टी चिरकालसम्म सुरक्षित रहँदैन। वर्तमानको नीति, भूमिका र गतिविधि पनि उपयुक्त हुनुपर्छ। दुःखका साथ भन्नुपर्छ, हाम्रा नीति र गतिविधि एकदमै निराशाजनक छन्। यसले संकट बढाउँदै लगेको छ। यसको दोषी को हो ? कार्यकर्ता कि नेता? त्यसैले बडो सुविचारित भएर विगतको आफ्नो भूमिका सम्झेर खेर गएको समयलाई पनि स्मरण गर्दै आफूलाई रचनात्मक र परिणाममुखी कर्ममा प्रवृत्त गराउनोस्। बेलैमा काम थालेपछि भोलि पछुताउनु पर्दैन। हिजोको नारा सम्झिनोस्, बोलीमा अडान र दृढता राख्नुस् र पार्टीका बढीभन्दा बढी साथीहरूको विश्वास जित्नोस्। आफ्नो पुस्ता र अग्रजहरूको योगदानलाई कदर गर्नोस् । सबैभन्दा बढी त नयाँ पुस्ताको भविष्यलाई केन्द्रबिन्दु मानेर काम गर्नोस्। हामीले त सुझाव र शुभकामना दिने हो, गर्ने त तपाईंहरूले नै हो। आजलाई यत्ति नै। कथंकदाचित् भेट भइहालेमा छुटपुट बताउँला!
जय नेपाल !!!