०९ साउन २०८३, शनिबार

इजरायलमाथि इरानको जवाफी हमला, कम्तीमा तीन जनाको मृत्यु

जेठ ३१, २०८२
काठमाडौं
इजरायलमाथि इरानको जवाफी हमला,  कम्तीमा तीन जनाको मृत्यु

इरानले इजरायलका विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ । ती आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका अलजजिराले जनाएको छ ।

इरानले यो प्रहार इजरायलबाट आफ्ना भूमिमाथि भइरहेका निरन्तर आक्रमणको प्रतिशोधस्वरूप गरेको बताएको छ ।

इरानी अधिकारीहरूका अनुसार इजरायली सेनाले महिला र बालबालिका समेत परेका कम्तीमा ७८ जनाको हत्या गरेको छ र ३२० भन्दा बढीलाई घाइते बनाएको छ । 

इजरायलले इरानका शहरहरू, सैनिक अड्डा र आणविक प्रतिष्ठानमा निरन्तर आक्रमण जारी राखेको इरानले आरोप लगाएको छ ।

इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इजरायललाई चेतावनी दिँदै भनेका छन्, ‘इरानमाथि हमला गरेर उच्च तहका सैन्य कमान्डर र छ जना आणविक वैज्ञानिकको हत्या गरेको यो अपराधको इजरायलले कडा सजाय भोग्न तयार रहनुपर्छ ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने आफ्नो सेनाले आवश्यकताअनुसार सैन्य अभियान जारी राख्ने बताएका छन् ।

अमेरिकाले भने इजरायलको आक्रमणबाट आफूलाई अलग राख्ने प्रयास गर्दै आएको छ । त्यस्तै, उसले इरानलाई क्षेत्रीय रूपमा अमेरिकी सैन्य अड्डाहरूमा हमला नगर्न चेतावनीसमेत दिएको छ ।

इजरायलले शनिबार इरानका पूर्व अजरबैजान, लोरेस्तान र केर्मानशाह प्रान्तमा आक्रमण गरेको इरानको सरकारी-सम्बद्ध फार्स समाचार संस्थाले जनाएको छ।

इरानको उत्तरपश्चिमस्थित पूर्व अजरबैजान प्रान्तका चार स्थानमा क्षेप्यास्त्र प्रहार भएका छन् । लोरेस्तान प्रान्तको खोर्रमाबाद र पश्चिमी इरानको केर्मानशाहमा समेत विस्फोटको आवाज सुनिएको फार्सले जनाएको छ ।

इरानको अर्ध-सरकारी तस्नीम समाचार एजेन्सीका अनुसार खोर्रमाबाद, केर्मानशाह र टब्रिज शहरमा हवाइ सुरक्षा प्रणाली सक्रिय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्