०९ साउन २०८३, शनिबार

नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असार १, २०८२
काठमाडौं
नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साबिक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवससहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाविस सचिवसँगको मिलेमतोमा उनीहरूले रकम लिएको भन्ने उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०५७/०५८ देखि २०७२/०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिहरूलाई नागरिकतामा उल्लेखित जन्म मिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रूपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रूपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रूपमा तत्कालीन सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी ६ लाख ५६ हजार ७ सय रुपैयाँ हिनामिना गरेको पाइएको थियो ।​ 

आयोगले श्रीवास्तवका साथै नरैनापुर गाउँ विकास समितिको कार्यालयका सचिव सावितराम कुर्मी र अशोककुमार श्रीवास्तवलाई पनि प्रतिवादी बनाएको छ ।

यस्तै उक्त गाविसबाट सामाजिक सुरक्षा भत्ता लिने साहजिमा खातुन,अवधराम बढही,रामजीवन पासी, मनोरानी अहिरनी,रामचन्द्र धोबी,लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया,हरीराम अहिर र बारि खाँ, मोती भुजुवा र सन्तराम बडहीलाई पनि प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगले सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरूलाई पनि प्रतिवादी बनाएको छ।

साथै, पाटेश्वरीसिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कूर्मीसमेतको मृत्यु भइसकेको विवरण प्राप्त भएकोले बिगोको हकमा प्रतिवादी तत्कालीन गाविस सचिव सावितराम कुर्मीबाट असुल उपरको मागदाबी आयोगले गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्