२३ जेठ २०८३, शनिबार

स्रोत–साधनले भ्याएसम्म मैले पोर्चुगल बस्ने नेपाली समुदायको हितमा काम गरें [अन्तर्वार्ता]

असार २, २०८२
काठमाडौं
स्रोत–साधनले भ्याएसम्म मैले पोर्चुगल बस्ने नेपाली समुदायको हितमा काम गरें [अन्तर्वार्ता]

नेपाल र पोर्चुगलबीच ८ हजार किलोमिटर बढीको भौगोलिक दूरी छ । तर, पनि राम्रो अवसरको खोजीमा हजारौं नेपाली यहाँ आइपुगेका छन् । पोर्चुगलमा ७० हजारभन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन् ।

पोर्चुगलको जुनसुकै भूभागमा नेपालीहरूसँग जम्काभेट हुन्छ । यहाँको कृषि क्षेत्र, रेस्टुरेन्ट, होटल, निर्माणलगायत सेवा तथा उत्पादनमुखी क्षेत्रमा नेपालीहरूले सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

पोर्चुगलमा नेपाली समुदायका थुप्रै समस्याहरू थिए । खासगरी राहदानी नवीकरण र आप्रवासनसम्बन्धी कागजातहरूको प्रमाणीकरणलगायत विषयमा राजदूतावास नहुँदा नेपालीले सास्ती बेहोर्नु परेको थियो । तर, लिसबनमा पोर्चुगलका लागि नेपाली राजदूतावास स्थापना भएपछि अहिले सहज भएको छ ।

पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघ–संस्थाहरूले लामो समयदेखि नेपाल सरकार समक्ष राजदूतावास स्थापनाको माग गर्दै आइरहेका थिए । पछिल्लो समयमा एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले परराष्ट्र मन्त्रालयमार्फत् औपचारिक तथा अनौपचारिक रूपमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

एनआरएनए प्रवासमा रहेका नेपाली समुदायका लागि सबैभन्दा ठूलो सामाजिक संस्था हो । देशमा यो संस्थाले अभिभावकीय भूमिका निभाइरहेको छ । आफूले एक कार्यकालको नेतृत्व पूरा गरेर अधिवेशनको तयारी गरिरहेका एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्कासँग हामीले उनले गरेका काम र आगामी योजनाका बारेमा केही प्रश्न गरेका छौं ।

समग्रमा  तपाईंको दुई वर्षको कार्यकाल कस्तो रह्यो?

यो दुई वर्ष मेरो जीवनको अत्यन्तै सक्रिय र उत्तरदायित्वपूर्ण समय रह्यो । मैले स्रोत र साधनले भ्याएसम्म नेपाली समुदायको हितमा काम गर्न प्रयास गरें । समुदायको विश्वास, साथ र समर्थनले गर्दा धेरै सकारात्मक काम गर्न सकें । धेरै सिक्ने मौका पनि मिल्यो ।

व्यापार व्यवसाय गर्न सजिलो कि समाजको नेतृत्व गर्न?

व्यापारमा नाफा–नोक्सान मापन गर्न सकिन्छ, तर समाजको नेतृत्व भावनात्मक र सामाजिक मूल्यमा आधारित हुन्छ । समाजको नेतृत्व धेरै चुनौतीपूर्ण र संवेदनशील काम हो । व्यक्तिगतभन्दा सामूहिक हितको लागि काम गर्नुपर्ने हुन्छ ।

अहिले पोर्चुगलमा नेपाली आप्रवासीको अवस्था कस्तो छ?

अहिले नेपाली आप्रवासीहरूको संख्या निकै बढेको छ । अधिकांश श्रमिक छन् । काम पाउने सम्भावना बढेको छ, तर कागजपत्रको समस्या, भाषा र सामाजिक एकताको अभाव अझै चुनौतीका रूपमा छन् । सरकार र संस्थाहरूको सहकार्यले धेरै समस्या समाधान हुँदै गएका छन् ।

अरूको भन्दा  तपाईंको नेतृत्व कसरी फरक रहन गयो?

मैले नेतृत्वलाई सेवा मानें, पद हैन । सिधा श्रमिकहरूसँग सम्पर्क गरेर उनीहरूको मुद्दालाई प्राथमिकता दिएँ । पारदर्शिता, समावेशिता र उत्तरदायित्वमा विश्वास राखें । सामाजिक सहकार्य र साझा अभियानमा जोड दिएँ ।

नेपाली समुदायको हितमा तपाईंले खास के काम गर्नुभयो?

कागजपत्र नभएका नेपालीहरूको मुद्दा उठाएँ । श्रमिकहरूलाई कानूनी परामर्श, स्वास्थ्य सहायता र आपतकालीन सहयोगका काम गरें ।

महिला सशक्तीकरण, भाषा कक्षा र दूतावास स्थापनाका लागि पहल गरें । डिजिटल सदस्यता र अभिलेखीकरणमा समेत काम भयो ।

एनआरएनएमा विवाद पनि छ भन्छन्,खास कुरा के हो?

विवाद संस्था विकासको स्वाभाविक प्रक्रिया हो । विचारमा भिन्नता रहन सक्छ । तर, जब व्यक्तिगत स्वार्थले संस्थागत हितमाथि असर पार्छ, त्यो गलत हो । मेरो विचारमा पारदर्शिता र संवादबाट विवाद समाधान हुन सक्छ ।

पोर्चुगलमा पनि विवाद छ र?

विवाद सबै ठाउँमा हुन्छन् । तर, पोर्चुगलमा संस्था चलाउने शैली र सोचमा केही मतभेद छन् । म सबैलाई समेटेर अघि बढ्न चाहन्छु । सहकार्यको संस्कृति विकास गर्न आवश्यक छ ।

लिसबनमा नेपाली राजदूतावास स्थापनापछि नेपालीहरूको कागजपत्रको समस्यामा के कति समाधान हुँदै आएको छ?

राजदूतावास स्थापना हुनु आफैँमा ऐतिहासिक उपलब्धि हो । पहिले नेपालीहरूलाई विभिन्न देशको दूतावास जानुपर्थ्यो, जसले समय, पैसा र मानसिक तनाव बढाउँथ्यो । अहिले भने पासपोर्ट नवीकरण, नागरिकता प्रमाणीकरण, जन्मदर्ता प्रमाणपत्र, पावर अफ अटर्नी लगायतका सेवा लिसबनमै सहज रूपमा पाउन थालिएको छ । समस्याहरू पूर्ण रूपमा अन्त्य भएका छैनन्, तर ठूलो मात्रामा समाधान भएको छ ।

एनआरएनए पोर्चुगलको अध्यक्ष हुँदा तपाईंले भोग्नुभएका प्रमुख चुनौतीहरू के थिए?

सबैभन्दा ठूलो चुनौती थियो, विविध पृष्ठभूमिबाट आएका नेपालीहरूलाई एउटै छातामुनि ल्याउनु । त्यस्तै, संगठनमा सबैको विश्वास जित्नु, संस्थागत पारदर्शिता कायम राख्नु र समुदायमा सकारात्मक सन्देश दिनु पनि सहज थिएनन् । साथै, कागजपत्र नभएका श्रमिकहरूसँग प्रत्यक्ष सम्पर्क राखेर उनीहरूको मुद्दा सरकारसम्म पुर्‍याउनु पनि चुनौतीपूर्ण थियो ।

नेतृत्व गर्ने काम कत्तिको सहज रहेछ?

नेतृत्व भनेको केवल पद हैन, जिम्मेवारी हो । सहज जति लागे पनि वास्तवमा नेतृत्व गरिरहँदा धेरै पक्ष सम्हाल्नुपर्छ । राजनीतिक दबाब, आन्तरिक असमझदारी, अनि समुदायको अपेक्षा । चुनौतीपूर्ण रह्यो तर, म सन्तुष्ट छु कि म मेरो कार्यकालमा सकारात्मक सन्देश दिन सकें ।

प्रवासमा रहेको नेपाली समुदायको नेपालसँग जोड्ने प्रमुख मुद्दा के देख्नुभयो?

सबैभन्दा प्रमुख कुरा हो, पहिचान र सम्बन्ध । धेरै नेपालीहरू आफ्नो देशसँग भावनात्मक रूपमा त जोडिएका छन्, तर व्यवहारिक सम्बन्ध कमजोर छ । लगानी, सम्पर्क, शिक्षा, भाषा र संस्कृति यी कुरामा जोड दिनु आवश्यक छ । प्रवासी नेपालीको क्षमता राष्ट्र निर्माणमा प्रयोग हुनुपर्छ ।

एनआरएनए व्यापारीको कि श्रमिकको भन्ने प्रश्न बारम्बार उठ्छ,तपाईंले कस्को हकहितका लागि बढी काम गर्नुभयो?

एनआरएनए सबैको हो । तर, मेरो प्राथमिकता श्रमिकहरूप्रति बढी थियो, किनभने श्रमिक समुदाय नै सबैभन्दा बढी समस्यामा परेका छन् । कागजपत्र, काममा शोषण, भाषामा समस्या, सामाजिक एकता आदि । मैले श्रमिकमाझ पुगेर प्रत्यक्ष सेवा दिने प्रयास गरें ।

अन्य संघ–संस्थासँग सहकार्य गर्न कत्तिको सहज भयो?

सहकार्यका लागि मेरो ढोका सधैं खुला थियो । केही संघ–संस्थासँग राम्रो सहकार्य भयो, कतिसँग तिक्तता पनि देखियो । तर, समग्रमा हेर्दा साझा मञ्चमा उभिने सोचको थालनी भयो, जुन सकारात्मक पक्ष हो ।

एनआरएनए राजनीतिबाट प्रभावित भयो भन्ने गुनासो छ,तपाईंको धारणा के छ?

यो गुनासो सम्पूर्णतः असत्य होइन । एनआरएनएमा राजनीतिक झुकाव आउने क्रम देखिएको छ, जसले संस्थागत निष्पक्षता खल्बल्याउन सक्छ । म व्यक्तिगतरूपमा चाहन्छु कि एनआरएनएले पार्टीभन्दा माथि उठेर सम्पूर्ण नेपालीको हितमा काम गरोस् ।

पोर्चुगलको नेपाली समुदायका लागि  तपाईंले गर्नुभएको प्रमुख योगदान के हो?

मेरो कार्यकालमा समुदायको पहुँच र आवाज राज्यको सरोकारवाला निकायहरूसम्म पुर्‍याउने काम भयो । श्रमिकहरूको कानूनी परामर्श, स्वास्थ्य सहायता, भिसा समस्यामा सहयोग, महिला सशक्तिकरणका कार्यक्रम र डिजिटल एनआरएनए सदस्यता विस्तार, यी सबैलाई म प्रमुख योगदान मान्दछु ।

तपाईंको कार्यकाललाई तपाईं स्वयंले कसरी मूल्यांकन गर्नुहुन्छ?

स्वमूल्यांकन गर्दा म सन्तुष्ट छु । सीमित स्रोत, समय र दबाबबीच पनि धेरै सकारात्मक काम गरियो । गलत नभएका छैनन्, तर नियत सफा थियो । समुदायले दिएको साथप्रति म आभारी छु ।

राज्यले श्रमजीवी वर्गप्रति कस्तो व्यवहार गर्छ भन्ने कस्तो अनुभूति भयो?

राज्यको नीति राम्रो देखिए पनि कार्यान्वयन कमजोर छ । श्रमिकहरू अझै पनि शोषित छन्, खासगरी कागजपत्र नभएका । म राज्यलाई आग्रह गर्न चाहन्छु, सिर्जनशील श्रमिकमाथि नहेप्ने, बरु अवसर दिने ।

सरकारी कागजपत्र प्रमाणीकरणको समस्या समाधान हुँदै गएको हो?

पहिले निकै जटिल प्रक्रिया थियो । दूतावास स्थापनापछि यो समस्या क्रमशः घटेको छ । 

अब भविष्यमा पनि एनआरएनएको अभियानमा लागिरहनुहुन्छ कि अन्य योजना छ?

म जहाँ भए पनि नेपाली समुदायका लागि काम गरिरहने छु । संस्थागत रूपमा एनआरएनएमा रहने कि नरहने भन्ने निर्णय समयअनुसार हुनेछ, तर मेरो सोच र उद्देश्य भने स्थायी रूपमा समुदायमुखी नै रहनेछ ।

एनआरएनएको केन्द्रीय विवादलाई तपाईं कसरी हेर्नुहुन्छ?

केन्द्रमा देखिएको विवाद दुःखद् हो । यसले सम्पूर्ण एनआरएनएको छवि प्रभावित पार्छ । म चाहन्छु कि नेतृत्व तहमा रहेका सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्था बलियो बनाउने दिशामा सोचून् । अहिलेको समय मिलेर जाने हो, फुटेर हैन ।

अन्त्यमा,केही भन्न चाहनुहुन्छ?

म सबैप्रति आभारी छु, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मलाई साथ, सुझाव र सहयोग गर्नुभयो । मेरो प्रयत्न सधैं सकारात्मक रहनेछ, चाहे म नेतृत्वमा रहुँ वा नरहुँ । एनआरएनए केवल संस्था होइन, यो प्रवासी नेपालीहरूको भावना, पहिचान र भविष्य हो । सबै नेपालीहरूलाई एकताको सूत्रमा बाँध्न सकियोस् भन्ने मेरो कामना छ । धन्यवाद !

salt training

कमेन्ट गर्नुहोस्