
इजरायलमा काम गर्न आएका हजारौं नेपालीको मनमा अहिले एउटै प्रश्न घुमिरहेछ- ‘देश फर्किने कि नफर्किने ?’
इजरायल–इरानबीचको बढ्दो तनाब, सम्भावित युद्धको त्रास, अनि त्यसमाथि नेपाल फर्कन सकिने वा नसकिने अन्योलता । यद्यपि, यहाँ रहेका धेरै नेपाली अझै पनि नेपाल फर्किने निर्णय लिन चाहँदैनन् । बरु, जति सकिन्छ यहीँ बसेर काम गर्ने र सुरक्षित बस्ने रणनीति अपनाउनेतर्फ उनीहरू उन्मुख छन् । अब प्रश्न उठ्छ- किन नफर्किने ?
आर्थिक ग्यारेन्टी
नेपालमा काम गर्दा हुने औसत कमाइभन्दा यहाँ पचासौं गुणा बढी तलब हुन्छ । इजरायलमा एक सामान्य केयरगिभरले पनि महिनामा ६/८ हजार शेकेल कमाउँछन्, जसको नेपाली रूपान्तरण करिब दुई लाख रूपैयाँभन्दा बढी हुन्छ ।
धेरै नेपालीहरूले यही कमाइबाट घर बनाएका छन्, ऋण तिरेका छन्, छोराछोरीको पढाइ खर्च धानेका छन् । जब यत्रो आर्थिक स्थायित्व सम्भव देखिन्छ, तब कसलाई नेपाल फर्किन मन लाग्छ र ?
नेपाल फर्किएपछि रोजगारीको ग्यारेन्टी छैन । बेरोजगारी उस्तै, राजनीतिक अस्थिरता झन् झन् बढ्दो छ । नेपाल फर्केपछि पनि वैदेशिक रोजगारीको लाइनमै पुनः लाग्नुपर्ने अवस्था आउँछ ।
यही चिन्ता र तनाबबाट बच्न धेरै नेपालीहरू जति सकिन्छ यहीँ बस्ने सोच बनाउँछन् । आफ्नो भविष्यको सुरक्षाका लागि उनीहरूको निर्णय व्यावहारिक लाग्छ ।
इजरायलमा श्रमिकप्रति देखिने सम्मानजनक व्यवहार
यहाँको सरकारले विदेशी श्रमिकहरूलाई स्वास्थ्य बीमा, न्यूनतम तलब, कानूनी सुरक्षा लगायतका सबै आधारभूत अधिकार प्रदान गरिरहेको छ ।
बाह्य देशले आक्रमण गरेपनि सुरक्षित बंकर, चेतावनी दिने साइरन र उद्धार संयन्त्र तुरुन्त सक्रिय हुन्छ । विदेशी श्रमिकलाई पनि नागरिकसरह व्यवहार गरिन्छ, जुन व्यवहार अन्यत्र बिरलै देखिन्छ ।
इजरायलमा झापा, कास्की, चितवनजस्ता विभिन्न जिल्लाका नेपालीहरू भेटिन्छन् । खेलकुद, सांस्कृतिक कार्यक्रम र रमाइलो जमघट सामूहिक रूपमा आयोजना हुन्छन् ।
यसले गर्दा नेपालीहरू एक आपसमा मजबुत सहकार्य गर्दै, ‘घरजस्तै’ वातावरण सिर्जना गर्न सफल भएका छन् । मनोवैज्ञानिक रूपमा ताजा र सुरक्षित महसुस भएपछि, फर्किन मन नलाग्नु अस्वाभाविक होइन ।
युद्धको खतरा बढ्दै जाँदा, इजरायलस्थित नेपाली दूतावासले नेपालीहरूको नामावली संकलन शुरू गरेको छ । ‘आकस्मिक अवस्था आएमा उद्धार कार्य सहज होस् भनेर विवरण संकलन गर्न थालिएको हो’, दूतावासको भनाइ छ ।
त्यसका लागि अनलाइन फारम खुलाइएको छ, जसमा सबै नेपाली श्रमिकले विवरण भर्नुपर्ने भनिएको छ । यो पहललाई सकारात्मक रूपमा लिनुपर्छ । दूतावासले यो तुरुन्तै फर्काउने तयारी नभएको जनाएको छ ।
इजरायल–इरानबीचको पछिल्लो अवस्था
इजरायलले ‘अपरेसन राइजिङ’ अन्तर्गत इरानमा चौथो चरणको सैन्य कारबाही गरिरहेको छ । दुवै पक्षमा सयौंको मृत्यु, हजारौंको घाइते भएको अनुमान छ ।
केही अन्तर्राष्ट्रिय मिडियाका अनुसार इरानी गार्ड्सले इजरायलका प्रमुख शहर तेलअविव र हैफा खाली गराउन चेतावनी दिइरहेका छन् । अहिलेको अवस्थाले हेर्दा युद्ध तत्काल रोकिने संकेत देखिँदैन ।
यद्यपि, इजरायलका शहरमा सुरक्षित बस्नका लागि बंकर र सतर्कता सायरनजस्ता संयन्त्रले जोखिम न्यूनीकरण गरेको छ ।
हालसम्म युद्धका कारण इजरायलस्थित नेपाली कामदारमा प्रत्यक्ष भौतिक असर परेको छैन, तर मनोवैज्ञानिक दबाब भने महसुस गरिएको छ ।
नेपाल सरकार र दूतावासको प्रयासलाई सकारात्मक रूपमा लिएतापनि, इजरायलमै बस्ने नेपालीहरूको चाहना केवल भावना होइन, त्यो यथार्थमा आधारित छ ।
उच्च आय, नेपालमा भविष्यको अनिश्चितता, राजनीतिक अस्थिरता र इजरायलमा श्रमिकमैत्री व्यवस्थाका कारण धेरै नेपाली रिस्क लिएरै भए पनि यहीँ बस्ने निर्णय लिएका छन् ।
तर, अवस्था सधैँ यस्तै रहँदैन । यदि युद्ध चर्कियो भने देश फर्किनु नै अन्तिम विकल्प बन्नेछ । त्यसैले युद्ध छिटो अन्त्य हुनुको कुनै विकल्प छैन ।
[लेखक जम्मरकट्टेल हाल इजरायलमा कार्यरत छन् ।]