
हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’ सालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यस पटक दार्जिलिङका प्रसिद्ध सांगीतिक जोडी बद्री,दुर्गा खरेल प्रस्तुत हुने भएका छन् ।
पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो । यस महिनाको कार्यक्रमका निम्ति यस जोडीले आफ्ना सुप्रसिद्ध गीतका साथै गीतकार दिनेश अधिकारीका नयाँ शब्दमा धुन भरेर ल्याएका छन् ।
जसलाई बद्री, दुर्गाका साथ पलेँटीकी नयाँ कण्ठ-शिल्पी अभिज्ञा घिमिरेले आफ्नो स्वरमा सजाउने छन् । यस कार्यक्रमलाई पुरानो र नयाँ पुस्ताको मिलन विन्दुको रूपमा पनि लिन सकिन्छ ।
बद्री, दुर्गा दार्जिलिङको नेपाली सांगीतिक जगतमा मात्र नभएर सम्पूर्ण नेपालीभाषी श्रोताबीच स्थापित नाम हो । खासगरी यो जोडीको सृजना- ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’लाई नेपाली जगतले आजसम्म पनि उत्तिकै रुचाएको पाइन्छ ।
दार्जिलिङकै स्वर-शिल्पी दावा ग्याल्मोले गाएको ‘शुभकामना खाली खाली’ पनि यही संगीतकार जोडीको अर्को सृजना हो । मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’को चर्चित गीत ‘सारङ्गीको तारले मेरो मनको गीत गाउँछ’ दार्जिलिङमा मञ्चन हुँदा यही जोडीका दुर्गा खरेलले प्रत्यक्ष गाएका थिए । रेडियो नेपालमा रेकर्ड गर्ने मौका भने गायक कुमार सुब्बाको भागमा पर्यो र उनलाई नेपाली गायन जगतमा लोकप्रियता प्रदान गर्यो ।
यसपालीको पलेँटीबारे कार्यक्रम संयोजक आभास भन्छन्- ‘पुराना सांगीतिककर्मीहरूलाई नयाँ सृजनाका निम्ति झकझकाउनु पर्छ भन्ने उद्देश्य पलेँटीले लिएको छ । त्यही भएर यसपालीको पलेँटीलाई आंशिक रूपमा गीतकार दिनेश अधिकारीसँग संगीतकार बद्री, दुर्गा खरेललाई जोड्ने चाँजो मिलाएका हौं ।’
पहिलोपल्ट सन् २००८ मा पलेँटी कसेका दुर्गा खरेल भन्छन्- ‘लामो अन्तरालपछि आफ्नो सांगीतिक कर्मथलोमा आउन पाउँदा एकदमै आनन्दित भएका छौं । सांगीतिक क्षेत्रबाट फेरि ओझेल परियो कि कसो भनी सोचिरहेको बेला पाएको यो मौकाले आफ्नो संगीतकर्मप्रति झन् विश्वास जगाएको छ ।’
पलेँटी कार्यक्रम आउँदो शुक्रबा र शनिबारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’सालामा हुने यस कार्यक्रमको टिकट पलेँटीमा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिने नेपालयले जनाएको छ ।