
दीर्घकालीन युद्धको विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यतिबेला ठूलो खतरा मोलेका छन् ।
गएराति इरानका तीन आणविक क्षेत्रमा सम्भवतः इतिहासकै ठूलो आक्रमण गरेर आणविक कार्यक्रम पुनःनिर्माणलाई लगभग असम्भव बनाइदिएका छन् ।
इरानले प्रतिकार गर्ने सम्भावना जिवितै छ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले त्यसको चेतावनी पनि दिइसकेका छन् । तर, ३ दशकदेखि आणविक हतियार बनाउने तयारीमा लागेको इरान उक्त कार्यक्रममा दशकौं पछि धकेलिएको छ ।
विगत दुई दशकयता अमेरिकाले इरानको आणविक कार्यक्रम रोक्न युद्धको सहारा लिएको थिएन । बरू, आर्थिक नाकाबन्दी, साइबर आक्रमण र कूटनीतिक वार्ताको सहारा लिँदै आएको थियो ।
तर, गएराति स्थानीय समयअनुसार करिब साढे २ बजे ट्रम्पले ती सबै रणनीतिक सीमाहरू तोडे । ट्रम्पको यो कारवाहीलाई अमेरिकाकै कतिपय विपक्षी सिनेटरहरूले 'जुवा' र 'कच्चा सैन्य शक्ति प्रदर्शन' भनेका छन् ।
युद्धको खतरा ट्रम्पअघिका राष्ट्रपतिहरूले जानाजान टारेका थिए । इराक, लिबिया, सिरियाजस्तै मध्यपूर्वमा अर्को दीर्घकालीन द्वन्द्वमा अमेरिका फस्ला भन्ने डर उनीहरूमा थियो । तर, ट्रम्पले त्यसको परवाह गरेनन् ।
एक साताअघि इजरायलले इरानमाथि आक्रमण गरेर केही सैन्य अधिकारी र आणविक कार्यक्रममा संलग्न वैज्ञानिकहरूको हत्या गरेको थियो । उक्त आक्रमणमा बचेका इरानी नेता र सैन्य जनरलहरूले छिटो-छिटो आणविक हतियार निर्माण गर्नतर्फ ध्यान दिएको सूचना ट्रम्पलाई थियो ।
यद्यपि, दुई दिनअघि इजरायल-इरान युद्धबारे दुई सातामा निर्णय गर्ने सन्देश दिएका ट्रम्पले त्यसको दुई दिनमै कसरी कठोर निर्णय लिए भन्नेबारे पश्चिमा सञ्चारमाध्यमहरूले आ-आफ्नो अनुमान सार्वजनिक गरेका छन् ।
इरानको हातमा परमाणु हतियार पर्नुहुन्न भन्नेमा अमेरिका,युरोप र मध्यपूर्वका अधिकांश देशहरू सहमत छन् ।
तीमध्ये इजरायलले सैन्य कारबाही गरेरै इरानको आणविक कार्यक्रमलाई निस्तेज पार्नुपर्ने धारणा राख्दै आएको थियो भने स्वयं अमेरिकाले सैन्य आक्रमणको आवश्यकतालाई नकार्दै कूटनीतिक पहल गर्नुपर्ने धारणा राख्दै आएको थियो ।
अमेरिकी र इरानी अधिकारीबीच ओमानको मस्कटमा आणविक कार्यक्रमसम्बन्धी वार्ता हुने तय हुँदाहुँदै इजरायल इरानविरुद्ध आक्रमणमा उत्रियो । वार्ता भाँडियो । ट्रम्प उक्त वार्ताबाट केही सकारात्मक निष्कर्ष निस्किनेमा आशावादी थिए ।
इरान-अमेरिकाबीच हुने भनिएको वार्ता सफल भएमा मध्यपूर्वमा इजरायलको हात तल पर्ने कारणले नै इजरायल युद्धमा उत्रिएको हुन सक्ने केही विश्लेषकहरूको अनुमान छ ।
उसो त, अमेरिकी खुफिया एजेन्सी आफैंले केही महिनाअघि इरानले तत्काल आणविक हतियार विकास गर्न नसक्ने भन्दै व्हाइट हाउसलाई एक प्रतिवेदन दिएको थियो । त्यसलाई ट्रम्पले बेवास्ता गरे ।
इरानले पनि संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूलाई बेलाबेलामा आफ्नो आणविक कार्यक्रमबारे जानकारी गराउँदै आएको थियो ।
गएराति अमेरिकाले गरेको आक्रमणको मुख्य लक्ष्य थियो– फोर्डो नामको भूमिगत युरेनियम संवर्धन केन्द्र ध्वस्त बनाउनु । उक्त स्थानमा इजरायल पुग्न सकेको थिएन ।
कुनै शत्रु राष्ट्रको आणविक पूर्वाधारमाथि आक्रमण गर्ने ट्रम्पको निर्णय सबैभन्दा खतरनाक 'जुवा' रहेको द न्यूयोर्क टाइम्सले लेखेको छ ।
ट्रम्पलाई उनका सल्लाहकारहरूले मध्यपूर्वमा रहेका ४० हजारभन्दा बढी अमेरिकी सैनिकलाई लक्षित गर्दै इरानले जुनसुकै आक्रमण गर्यो भने पनि त्यसको प्रतिकार गर्न अमेरिका सक्षम रहेको ब्रिफिङ गरेका छन् । मध्यपूर्वमा रहेका सबै अमेरिकी सैन्य बेसहरू इरानी क्षेप्यास्त्रको दायराभित्र छन् ।
न्यूयोर्क टाइम्स लेख्छ, 'इरानले पुरानो र घातक सैन्य रणनीति (आतंकवादी क्रियाकलाप, बन्धक बनाउने र साइबर आक्रमण गर्ने) अपनाउन सक्ने विषयमा पनि ट्रम्पले नजरअन्दाज गरिरहेका छन् ।'
गएरातिको आक्रमणमा इरानले आफ्नो आणविक कार्यक्रम कहिल्यै पुनः शुरू गर्न नसक्ने गरी प्रहार गरिएकोमा ट्रम्प विश्वस्त देखिन्छन् । ट्रम्पले इरानमाथि आक्रमणसँगै थप युद्ध नभड्किने भरोसा पनि गरेका छन्, किनभने इरानले पहिल्यै चेतावनी दिएको थियो- यदि उसमाथि आक्रमण भयो भने ऊ आणविक अप्रसार सन्धिबाट बाहिरिनेछ र आफ्नो कार्यक्रम भूमिगत लैजानेछ ।
यही कारण ट्रम्पले फोर्डो नष्ट गर्नमा यति धेरै ध्यान केन्द्रित गरेका हुन् । इरानले सन् २००० को दशकको मध्यतिर फोर्डोमा आणविक कार्यक्रम शुरू गर्न थालिसकेको थियो । इरानले गोप्य रूपमा निर्माण गरिरहेको उक्त आणविक संरचनाको पोल २००९ मा राष्ट्रपति बाराक ओबामाले खोलेका थिए ।
इरानले त्यहीँ बम निर्माणको स्तरसम्म पुग्न सक्ने युरेनियम प्रशोधन गरिरहेको थियो । इजरायल, अमेरिका र युरोपलाई सबैभन्दा बढी चिन्ता लागेको विषय त्यही हो ।
इरानमा आक्रमण गरेपछि व्हाइट हाउसका अधिकारीहरूले अमेरिकी मित्रराष्ट्रहरूलाई ब्रिफिङ गरेका थिए । उनीहरूले भनेका थिए, 'वाशिङ्टनको एक मात्र उद्देश्य इरानको आणविक पूर्वाधार ध्वस्त पार्नु हो, अरू केही होइन ।'
यो आक्रमणलाई सन् २०११ मा पाकिस्तानमा लुकेर रहेका ओसामा बिन लादेनलक्षित कार्यक्रमजस्तै लिनुपर्ने उनीहरूको तर्क थियो । एक वरिष्ठ युरोपेली कूटनीतिज्ञको भनाइ उदृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, 'यो कुनै युद्धको घोषणा होइन ।'
तर, अमेरिकी मित्रराष्ट्रका कतिपय कूटनीतिज्ञहरूले यस आक्रमणको खुलेर समर्थन गरेका छैनन् ।
अर्का एक कूटनीतिज्ञको भनाइ उदृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, 'लादेनले ३ हजार अमेरिकी नागरिकको हत्या गरेका थिए । तर, इरानले त अहिलेसम्म बम बनाएको पनि थिएन । यो आक्रमण के-का लागि ?'
संक्षेपमा, ट्रम्प प्रशासनले भनेको छ- यो कारबाही इरानी शासनको विरुद्ध होइन, बरु एक पूर्वप्रतिरोधी कार्यक्रम हो । पूर्वप्रतिरोधी कारबाही सम्भावित खतरा अन्त्य गर्ने प्रयोजनका निम्ति गरिन्छ ।
तर, इरानले यसलाई युद्ध नभई पूर्वप्रतिरोधी कारबाही मात्रै बुझ्ला भन्ने कुनै निश्चितता छैन ।
इरानमा आक्रमण गरेलगत्तै ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्स, विदेश मन्त्री मार्को रुबियो र रक्षा मन्त्री पिट हेगसेथलाई सँगै राखेर ट्रम्पले चेतावनी दिए, 'यदि इरानले मेरो माग मानेन भने आगामी आक्रमण अझ विनाशकारी हुनेछन् ।'
उनले इरानले शान्ति कायम गर्नैपर्ने बताए । 'नत्र त्यो देशले यस्तो विनाश भोग्नेछ, जुन पछिल्ला आठ दिनमा देखिएकोभन्दा धेरै भयावह हुनेछ,' ट्रम्पको चेतावनी थियो ।
उनको भनाइको सारांश थियो - यदि इरान झुकेन भने, पुनः त्यस्तै आक्रमण हुनेछ ।
यसो भनेर ट्रम्पले इजरायलसँगको सैन्य सहकार्यलाई अझ विस्तार गर्ने संकेत दिएका छन् । गत आठ दिनमा इजरायली आक्रमणमा परेर इरानका केही शीर्ष सैन्य र आणविक कार्यक्रमका वैज्ञानिकहरूको ज्यान गएको छ ।
शुरूमा अमेरिका त्यस कारबाहीबाट अलग देखिएको थियो । ट्रम्प प्रशासनको पहिलो आधिकारिक टिप्पणी गर्दै रुबियोले भनेका थिए, 'त्यो इजरायलले एकल रूपमा कदम चालेको हो । अमेरिका संलग्न छैन ।'
तर, केही दिनअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए, 'यदि चाहेमा मैले अहिले नै ८६ वर्षीय आयातोल्ला अली खामेनीलाई पनि समाप्त गर्न सक्छु ।'
र, इरानमाथि आक्रमण गरिसकेपछि ट्रम्पले लेखे, 'अब अमेरिका पनि त्यस आक्रमणको हिस्सा भइसकेको छ ।'
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ८ दिनको इजरायली आक्रमण र गएराति आफूले गरेको आक्रमणमा परी इरान निकै कमजोर बनेको ट्रम्पको बुझाइ छ ।
७ अक्टोबर २०२३ को आतंकवादी आक्रमणमा हजारभन्दा बढी इजरायली नागरिक मारिएपछि इजरायलले गरेको प्रतिरोधी आक्रमणमा परेर इरानका प्रोक्सी समूहहरू हमास र हिजबुल्लाह क्षतविक्षत भएका छन् ।
इरानको प्रमुख सहयोगी सिरियाका बशर अल-असद देश छाडेर भागिसकेका छन् । इरानसँग सहकार्य गर्दै आएका रूस र चीन पनि इजरायलको आक्रमणपछि मौन छन् ।
पछिल्लो समय इरानलाई आफ्नो आणविक कार्यक्रम जोगाउनु ठूलो चुनौती बनेको थियो । त्यो कार्यक्रम ऊर्जा उत्पादनका नाममा मात्र थिएन, त्यो पश्चिमविरुद्ध इरानी प्रतिरोधको प्रतीक पनि थियो । अनि, खामेनीको सत्ता कायम राख्ने रणनीतिक आधार पनि यही थियो ।