इरान-इजरायलबीच चलिरहेको द्वन्द्वमा अमेरिका प्रत्यक्ष सामेल भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा 'रेजिम चेन्ज' अर्थात् सत्ता परिवर्तनबारे सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
दुई दिन अघिसम्म युद्धविरोधी छबी भएको मानिएका राष्ट्रपति ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले इरानमा आणविक कार्यक्रम चलिरहेको ३ ठाउँमा बम प्रहार गरेको थियो । अमेरिकी आक्रमणको राम्रैसँग जवाफ दिने इरानले बताइरहेको छ ।
अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक स्थलमा गरेको यो आक्रमणले विगत ४६ वर्षदेखि कायम अमेरिकाको 'इरान नीति'लाई नयाँ मोडमा ल्याइदिएको छ ।
पछिल्लो समय ट्रम्पले इरानको सत्ता उल्ट्याउने खेलमा समेत सामेल हुने संकेत गरिरहेका छन् ।
यस आक्रमणबाट ट्रम्पले इरानको आणविक हतियारको सम्भावनालाई पूरै ध्वस्त पारे वा पार्न सकेनन् भन्नेबारे विश्वभर फरक-फरक आंकलन भइरहेका छन् । कतिपय विश्लेषकहरूले उनले खतराको जरा उखेल्नुभन्दा उल्टै त्यसलाई मलजल गरेको आरोप पनि लगाएका छन् ।
ट्रम्पले आइतबार सामाजिक सञ्जाल पोस्टमार्फत् भनेका थिए, 'ती हमला गम्भीर थिए । ठूलो क्षति भएको छ र लक्ष्यमा सटीक प्रहार गरिएको थियो ।'
उनले तीनवटा आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणलाई 'इतिहासकै निर्णायक' भनेका छन् ।
अमेरिकाको मिसौरीस्थित एयरबेसबाट उडेका बी-२ स्टील्थ बमवर्षकहरूले हालसम्म कहिल्यै प्रयोग नगरिएका ‘बंकर बस्टर’ बम प्रयोग गरेर इरानी भूमिमा प्रहार गरेका थिए । यसले अमेरिकी सैन्य क्षमताको उजागर पनि गरेको मानिएको छ ।
सीएनएनले एक विश्लेषणमा लेखेको छ, 'यदि यो आक्रमणले इरानको युरेनियम प्रशोधन कार्यक्रमलाई दशकौंपछाडि धकेलेको वा पूर्णतः निष्क्रिय बनाएको हो भने ट्रम्पले इजरायलको अस्तित्वमाथिको खतरा हटाएको क्रेडिट तुरुन्त लिने थिए । तर, यो दाबीबारे गहिरो शंका उठिरहेको छ ।'
ट्रम्पले दाबी गरेअनुसार अमेरिकाले आक्रमण नगरेको भए इरानले केही सातामै आणविक बम बनाइसक्ने थियो । तर, अमेरिकी खुफिया एजेन्सीहरूले भने इरानले अहिलेसम्म आणविक बम बनाउने निर्णय नै नगरेको बताएका थिए ।
त्यसैले ट्रम्पको 'पूर्वप्रतिरोधी' रणनीति पनि यतिबेला आलोचनाको केन्द्रमा छ । यो कदम तत्कालिन आवश्यकताले थालिएको हो, वा यो राजनीतिक रूपमा पूर्वाग्रही निर्णय थियो भन्नेबारे विभिन्न कोणबाट बहस भइरहेका छन् ।
अमेरिकी कंग्रेसका खुफिया समितिका प्रमुख जिम हाइम्सको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ, 'यो आक्रमणले के प्रभाव पर्यो भन्ने अहिलेसम्म स्पष्ट छैन । ज-जसले यो भयो, उ भयो भन्दै हिँडिरहेका छन्, तिनीहरू झुट बोलिरहेका छन् ।'
उनी थप्छन्, 'बंकर बस्टर बम प्रहार हुनुअघि पनि इरानले आफ्नो आणविक पदार्थ अन्य सुरक्षित सुरुङहरूमा राखेको हुनसक्छ र आक्रमणले खासै भौतिक क्षति नगरेको हुन सक्छ ।'
अहिले सबैको नजर इरानको जवाफमा केन्द्रित छ । अमेरिकी कदमको जवाफमा इरानले ठूलो सैन्य प्रतिशोध लिने संकेत दिएको छ ।
आइतबार संयुक्त राष्ट्रसंघमा इरानका स्थायी प्रतिनिधि आमिर सईद इरावानीले भने, 'इरानको सैन्य नेतृत्वले समय, प्रकृति र मापन निर्धारण गर्नेछ । हामी हाम्रो ढाँचामा जवाफ दिनेछौं ।'
यो जवाफ कस्तो होला भन्ने अझै अनिश्चित छ । तर, हालै इजरायलले गाजा र लेबनानमा इरानका प्रोक्सी समूहमाथि गरेको कारबाही अनि अमेरिकाले इरानभित्रै गरिएका हमलालाई लिएर इरानी नेतृत्वभित्र गहिरो आन्तरिक असन्तुलन पैदा भइरहेको देखिन्छ ।
सत्तासंक्रमण र अस्थिरता
इरान यतिबेला संवेदनशील सत्तासंक्रमणको चरणमा छ । इरानी सर्वोच्च नेता अयातोल्ला अली खामेनीको शासन काल अन्त्यतर्फ अघि बढिरहेको छ ।
आन्तरिक रूपमा पनि इरान कमजोर भएको बेला गरिएको यो प्रहारले घरेलु राजनीतिमा अझ कठोर र अप्रत्याशित प्रतिक्रिया जन्माउने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमहरूको विश्लेषण छ ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, 'सत्तापरिवर्तन किन नगर्ने ?' ट्रम्पको यो भनाइ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लागि संगीतझैं प्रिय लाग्न सक्छ, तर यसले मध्यपूर्वमा अर्को बृहत् द्वन्द्वको ढोका खोलेको छ ।
इरानी सत्तामा भएको कुनै पनि कमजोरीले उदारवादी परिवर्तन ल्याउने ग्यारेन्टी नरहेको सीएनएनको विश्लेषण छ ।
सत्ता परिवर्तन भएमा अझ दमनकारी तत्वहरूले सत्ता कब्जा गर्न सक्ने सम्भावना कायमै छ । यसको असर इरानसम्म मात्र सीमित नरही सम्पूर्ण क्षेत्रमा पर्न सक्छ ।
यो आक्रमणका कारण अमेरिकाभित्रैको आन्तरिक राजनीति पनि तातिएको छ ।
ट्रम्पका समर्थकहरूले यसलाई शक्तिशाली निर्णय भनेका छन् भने कतिपयले ट्रम्पले मेक अमेरिका ग्रेट अगेन अभियानलाई खतरामा पार्ने चेतावनी दिएका छन् ।
ट्रम्पमाथि कंग्रेसलाई जानकारी नगराई युद्ध घोषणा गरेको, संवैधानिक प्रक्रिया नअपनाई सैनिक प्रयोग गरेको, अनि राष्ट्रिय सुरक्षासम्बन्धी निर्णयलाई जनताका सामु निष्पक्ष रूपमा नराखेको आरोप लागिरहेको छ ।
अमेरिकी आक्रमणपछि इरानले थुप्रै विकल्पबारे सोचिरहेको छ । अमेरिकी सैन्य अड्डामाथि हमला, स्ट्रेट अफ होर्मुज बन्द गर्ने, खाडी मुलुकका तेल संरचनामाथि मिसाइल आक्रमण गर्ने वा चरमपन्थी आक्रमणमा उत्रनेबारे इरानभित्र छलफल भइरहेको कतिपय अमेरिकी सञ्चारमाध्यमहरूले लेखेका छन् ।
इरानमा छलफल भएका यी सबै विकल्प जोखिमपूर्ण छन् । होर्मुज बन्द गर्दा चीनमा इरानी तेलकै आपूर्ति रोकिन सक्छ ।
तर, यदि इरान प्रत्याक्रमणमा उत्रियो भने ट्रम्पले थप कडा जवाफ दिन सक्ने आंकलन पनि गरिएको छ । त्यसपछि भने यो तनाव पूर्णयुद्धमा धकेलिन सक्छ ।
अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले भनेका छन्, 'यदि इरानले शान्तिपूर्वक आणविक कार्यक्रम त्याग्यो भने, अमेरिका सहयोगी हुनेछ । तर, उसले अमेरिकी सैनिकमाथि हमला गर्यो भने त्यसको जवाफ अकल्पनीय ढंगमा दिइनेछ ।'
अमेरिकी परराष्ट्र मामिला परिषद्का पूर्व अध्यक्ष रिचर्ड हासले अमेरिकी आक्रमणपछि इरान झन् छिटो आणविक हतियार बनाउने दौडतिर लाग्न सक्ने बताइन् ।
उनले सीएनएनसँगको कुराकानीमा भनिन्, 'यदि उनीहरूसँग आणविक हतियार हुने हो भने यस्तो हमला हुँदैनथ्यो । त्यसैले उनीहरूले अब आणविक हतियार बनाउने दौड शुरू गर्न सक्छन् ।'
उनले यो द्वन्द्व हप्ता वा महिनाभरमा मात्र सीमित नभएर वर्षौंसम्म तानिन सक्ने सम्भावना रहेको पनि बताइन् ।