१० साउन २०८३, आइतबार
मध्यपूर्वको तनाव कम गर्ने प्रयास

इरानमा ट्रम्पको 'मास्टर स्ट्रोक'– अन्तिममा आए, स्थिति नियन्त्रणमा लिए, विनाक्षति बाहिरिए !

असार १०, २०८२
काठमाडौं
इरानमा ट्रम्पको 'मास्टर स्ट्रोक'– अन्तिममा आए, स्थिति नियन्त्रणमा लिए, विनाक्षति बाहिरिए !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीचको १२ दिन लामो युद्धपछि सोमबार राति युद्धविराम घोषणा गरे ।

उनले यसलाई 'अनन्तकालसम्म चल्ने शान्ति'को शुरूवातको रूपमा चित्रित गरे । तर, यो शान्ति यथार्थ नभई ट्रम्पले आफ्नो शैलीमा चलाएको भ्रम हो भन्ठान्नेहरूको कमी छैन । किनभने, मध्यपूर्वमा यसअघि भएका युद्धहरू शान्ति सम्झौतापछि पनि पटक-पटक बल्झिएका छन् । युद्धरत पक्षहरूले एकले अर्कालाई दोष लगाउँदै पुनः आक्रमणमा उत्रिएका घटना मध्यपूर्वमा निकै आम हो ।  

युद्धविरामबारे जानकारी दिँदै ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए, 'बधाई छ संसार, अब शान्तिको समय शुरू भयो !' सोमबार राति इरानबाट कतारस्थित अमेरिकी सैन्य बेसमा आएका सीमित मिसाइल देखेर ट्रम्प उत्साहित भएका थिए ।

अमेरिकाले इरानस्थित तीनवटा आणविक संरचनामा आक्रमण गरेपछि इरानले 'राम्रैसँग' जवाफ दिने चेतावनी दिएको थियो । तर, कतारमा इरानले गरेको कमजोर जवाफी आक्रमण देखेरै ट्रम्पले इरान थप अघि बढ्न नचाहेको निष्कर्ष निकाले ।

त्यसको केही घण्टामै उनले इरान र इजरायलबीच मंगलबारदेखि युद्धविराम लागू हुने बताए । तर, युद्धविराम घोषणा हुनुअघि नै दुवै देशले आक्रमण जारी राखेका थिए । इरानले क्षेप्यास्त्र प्रहार रोकेको थिएन भने इजरायली ड्रोनहरू इरानी आकाशमा घुमिरहेका थिए । तेहरानमाथि बमबारी चलिरहेको थियो ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेको घन्टौंसम्म पनि युद्ध रोकिने कुनै सम्भावना देखिएको थिएन । त्यसपछि मंगलबार बिहान ११ बजेतिर (नेपाली समय) इजरायलले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले गरेको युद्धविराम प्रस्ताव स्वीकारेको बतायो ।

अमेरिकी स्टेल्थ बम वर्षकहरूले इरानमाथि आक्रमण गरेको ४८ घण्टाभित्रै ट्रम्प आफूलाई 'महान सम्झौताकार'को रूपमा चित्रण गर्न व्यस्त छन् ।

एनबीसी न्यूजसँगको अन्तर्वार्तामा उनले भने, 'मलाई लाग्छ, युद्धविराम अनन्तकालसम्म चल्नेछ । अब इरान र इजरायलले कहिल्यै एकअर्कामाथि गोली चलाउने छैनन् ।'

विश्लेषकहरू ट्रम्पको यस्तो दाबी साहसी मात्र नभएर खतरनाक पनि रहेको बताउँछन् । विशेषगरी, मध्यपूर्व जस्तो अस्थिर क्षेत्रमा युद्धविराम अनन्तकालसम्म जारी रहेको उदाहरण अहिले छैन । यथार्थ के हो, त्यो आउँदो घटनाले प्रमाणित गर्नेछ ।

ट्रम्पकोजीत कि हार ?

इजरायल र इरानबीचको युद्धविरामपछि ट्रम्पले आफू राष्ट्रपति बनेयता सबैभन्दा महत्त्वपूर्ण सैन्य र कूटनीतिक सफलता हासिल गरेको दाबी गर्न गरेका छन् ।

अन्तर्वार्ताका क्रममा ट्रम्पले इरानका आणविक केन्द्रलक्षित आक्रमण गरेकै कारण इरान युद्धमा अमेरिका नतानिएको तर इरानको आणविक कार्यक्रम नष्ट गर्न सफल भएको दाबी गरे ।

१२ दिनअघि ट्रम्प इजरायली आक्रमणप्रति सशंकित देखिएका थिए । यसले अमेरिका पनि युद्धमा तानिन सक्छ भन्ने चिन्ता उनमा थियो ।

तर, अन्ततः उनले परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिए र बी-२ बमवर्षकमार्फत इरानमाथि प्रहार गराए । अमेरिका झन्डै शून्य क्षतिमा युद्धबाट फर्कियो ।

ट्रम्पलाई यतिबेला भाग्यले साथ दियो भन्ने मान्न सकिने सीएनएनले गरेको एक विश्लेषणमा उल्लेख छ । यद्यपि, अहिले ट्रम्पले देखाएको रणनीतिक बुद्धिमत्ता र निर्णायक शैलीले उनलाई फाइदा भयो ।

यदि दुवै तर्फबाट युद्धविरामको इमान्दार कार्यान्वयन भयो भने ट्रम्पलाई आफ्नै पार्टीभित्र थप समर्थन मिल्ने सम्भावना छ ।

युद्धमा होमिएपछि ट्रम्पको आलोचना गर्न थालेका मेक अमेरिका ग्रेट अगेन समर्थकहरूको आलोचना मत्थर हुन सक्छ ।

मध्यपूर्वको पछिल्लो संकटलाई राम्रोसँग ह्यान्डल गरेका ट्रम्पले आफूलाई 'कठोर राष्ट्रवादी रिपब्लिकन' मात्र नरहेको पुष्टि गरेका छन् । युद्धविरोधी छवि बनाएका ट्रम्पले पछिल्लो समय जब स्थिति आफ्नो नियन्त्रणमा लिने प्रयास गरे, त्यसको सफलताले अमेरिकाले चाहे विश्वमा जे पनि हुन सक्ने सन्देश दिएको छ ।

सीएनएनका अनुसार पछिल्लो समय ट्रम्प वरपर सानो तर प्रभावशाली सर्कल देखा परेको छ । सेनाध्यक्ष ड्यान काइन, सीआईए प्रमुख जोन र्‍याट्क्लिफ र राष्ट्रपति दूत स्टीभ विट्कफ । तर, गुप्तचर प्रमुख तुलसी गाबार्ड र रक्षामन्त्री पिट हेगसेथको भविष्य भने अनिश्चित देखिएको सीएनएनको दाबी छ ।

शान्तिको शर्तविश्वासको संकट

राष्ट्रपति ट्रम्पले इरानको आणविक प्रवर्द्धन क्षमतालाई पूर्ण रूपमा नष्ट गरिएको दाबी गरेपनि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफाल ग्रोसीका अनुसार इरानसँग अझै पनि ६० प्रतिशतसम्म समृद्ध गराएर राखिएको ४०० किलो युरेनियम सुरक्षित छ ।

यसको शुद्धता ९० प्रतिशत पुर्‍याएर केही दिनमै परमाणु बम बनाउन सकिने ग्रोसीको दाबी छ । केही हतियार नियन्त्रण विशेषज्ञहरूको भनाइ उद्धृत गर्दै सीएनएन लेख्छ, 'इरानले आक्रमण हुनुअघि नै युरेनियम अन्यत्र सारिसकेको हुन सक्छ । यदि, त्यसो भएको हो भने यो ट्रम्पले गरेको विजयको दाबीमाथि गम्भीर चुनौती हो । यदि, इरानले त्यो युरेनियमलाई पुनः प्रयोग गर्न सक्यो भने ५ दिनभित्र बम बनाउन सक्ने स्थिति हुनेछ ।'

बदलिएको मध्यपूर्व-इरानकोकमजोरी,इजरायलको बढ्दो प्रभुत्व

सोमबार मध्यरातमा कतारस्थित अमेरिकी हवाई अड्डामाथि इरानले प्रहार गरेका क्षेप्यास्त्र सजिलै निष्क्रिय पारिए । इजरायली जहाजहरू तेहरानको आकाशमा निसंकोच उड्न सके । यसबाट पुष्टि हुन्छ-  इरानको हवाई सुरक्षा प्रणाली असफल भयो ।

इरानले आफ्नो प्रोक्सीका रूपमा दशकौं लगाएर बनाएको क्षेत्रीय प्रतिरक्षा सञ्जाल (हिज्बुल्लाह, हमास, हुथी) पछिल्ला महिनामा इजरायली हमलाबाट कमजोर भएका छन् ।

इजरायल अब स्पष्टरूपमा क्षेत्रीय सैन्य शक्ति बनेको छ । अमेरिकी सहयोगी राष्ट्रहरू साउदी अरब र कतार झनै प्रभावशाली बन्दै गएका छन् ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी शासनकाल अन्त्यतिर पुगेको अवस्थामा यो संकट थप संवेदनशील भएको छ ।

बाह्य रूपमा कमजोर रहेको इरानभित्रै जनआन्दोलनको सम्भावना बढेको छ । वाशिङटन र इजरायलबाट बारम्बार शासन परिवर्तनको माग आइरहेका बेला तेहरानले अझ कठोर दमनको बाटो रोज्ने संकेत देखाएको छ ।

नेतन्याहूको रणनीति,ट्रम्पको दबाब

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमाससँग युद्धविराम गर्न अस्वीकार गरे । तर, इरानसँगको युद्धविराम ट्रम्पले गरेको घोषणाको केही घण्टामै स्वीकार गरे ।

इरानमाथिको आक्रमण उनले आफ्नो राजनीतिक अस्तित्व जोगाउन प्रयोग गरेका हुन् भन्ने विश्वास इजरायली जनतामा फैलिएको छ ।

यदि, इरानले युद्धविरामको इमान्दार कार्यान्वयन गरिरह्यो भने नेतन्याहूले इरानको आणविक कार्यक्रममाथिको प्रहारलाई आफ्नो जीतका रूपमा घरेलु राजनीतिक फाइदा लिन प्रयोग गर्न सक्छन् ।

गाजामा स्थायी शान्तिका लागि ट्रम्पले पनि यो स्थितिलाई नेतन्याहूमाथि दबाब सिर्जना गर्न प्रयोग गर्न सक्ने सीएनएनको विश्लेषण छ ।

salt training

कमेन्ट गर्नुहोस्