
भारतको मध्य प्रदेशस्थित नीमच जिल्लाका एक युवकले दाइजोको झुटो आरोपबाट पीडित भएपछि विरोधको अनौठो शैली रोजेका छन् । जसले अहिले देशैभर चर्चाको विषय बनेको छ।
कृष्णकुमार धाकड (केके) नामक ती युवकले राजस्थानको बाराम जिल्लाको अन्ता क्षेत्रमा ‘४९८ए टी क्याफे’ नामक चिया पसल सञ्चालन गरेका छन् ।
तर, यो पसल केवल चिया बेच्ने थलो मात्र होइन, न्यायका लागि गरिएको एक शान्तिपूर्ण विरोध प्रदर्शन पनि हो । केकेले हातमा हत्कडी लगाएर चिया बनाइरहेका छन् र आफ्ना पीडा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिरहेका छन् ।
पसलमा टाँगिएका पोस्टर र नारा; ‘जब तक नहीं मिलता न्याय, तब तक उबलती रहेगी चाय’ र ‘आओ चाय पर करें चर्चा, १२५ में कितना देना पड़ेगा खर्चा’ ले सर्वसाधारणको ध्यान तानेको छ ।
अठाना गाउँका स्थायी बासिन्दा केके एक समय यूपीएससी तयारी गरिरहेका थिए । सन् २०१९ मा विवाहपछि उनले श्रीमतीसँग मिलेर मौरीपालको व्यवसाय थाले र महिला सशक्तीकरणमा समेत योगदान दिएका थिए । पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहानले सन् २०२१ अप्रिल ८ मा केकेको कामको प्रशंसा समेत गरेका थिए ।
तर, सन् २०२२ अक्टोबरमा उनकी पत्नी माइती गएकी थिइन् र केही समयपछि केकेको विरुद्ध दाइजोसम्बन्धी भारतीय दण्ड संहिताको धारा ४९८ए र भरणपोषणको धारा १२५ अन्तर्गत मुद्दा दायर गराइन् । त्यसपछि केकेको व्यवसाय धराशायी भयो, समाजबाट अपमान सहनु पर्यो र उनी मानसिक तनावको चपेटामा परे ।
आत्महत्याको विचार मनमा आइरहँदा पनि वृद्ध आमाको आँसु र विश्वासका कारण उनी रोकिए । अन्ततः केकेले आफ्नै ससुराली नजिकै ‘४९८ए टी क्याफे’ शुरू गरे । वरमाला, दुलहाको दुलाहाको मुकुट र हातमा हत्कडीसहित उनले पसललाई एक प्रतीकात्मक विरोध स्थल बनाएका छन्।
‘बचपनदेखि केही ठूलो गर्ने सपना थियो, अहिले न्यायका लागि लडिरहेको छु’ केके भन्छन्, ‘मौरीपालनबाट महिलाहरूलाई आत्मनिर्भर बनाउन खोजेका थियौं तर श्रीमतीका झुटो आरोपले जीवन नै तहसनहस बनायो ।’
केकेकी आमाले भनिन्, ‘बुबा नभएको घरमा छोरो नै मेरो सहारा हो । झुटो आरोप र कानूनी दुरुपयोगबाट बाँच्न छोरोले यो उपाय अपनाएको हो । म चाहन्छु कि मेरा छोराजस्ता निर्दोषहरूलाई न्याय मिलोस् र कानूनको दुरुपयोग गर्नेलाई कडा सजाय होस् ।’
केकेका अनुसार उनले अब आत्महत्या होइन, चिया बेचेरै न्यायको लडाइँ लड्ने अठोट गरेका छन् ।