२९ असार २०८३, सोमबार

माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा

असार १२, २०८२
काठमाडौं
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा

माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आादानप्रदान भएको छ ।

भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भइरहेको माल्दिभ्सका राज्यमन्त्रीलाई जानकारी दिए ।

उनले नेपालमा एमडी एमएसका अलवा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए ।

मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरू काम गर्ने संख्या बढिरहेको तर उनीहरूले रकम घर पठाउन समस्या परेको बताए । प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताए ।

नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको छ । त्यहाँका स्वास्थ्य मन्त्रीसँग तीन महिनाअघि इण्डोनेसियामा स्वास्थ्य मन्त्री पौडेलसँगको वार्तापछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो । 

मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थालेका थिए ।

त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

कमेन्ट गर्नुहोस्