
काठमाडौं, २१ मंसिर - दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदानको समय सकिएको छ । विहान ७ बजेदेखि साँझ पाँच बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।
छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा निर्वाचन भएको थियो । दोस्रो चरणमा पहाडी र तराईका जिल्लामा मात्रै चुनाव भएको हो ।
पहिलो चरण अन्तर्गत सरकारले हिमाली र पाहाडि जिल्लाहरुमा चुनाव गरेको थियो । मतदानको समय सकिएपनि पाँच बजेभन्दा अघि मतदान केन्द्रमा प्रवेश गर्नेहरुले साँझैसम्म पनि मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत बढी मत खसेको थियो । दोस्रो चरणको निर्वाचनमा पनि ६५ प्रतिशत हाराहारी मत खसेको अनुमान गरिएकाे छ । दिउँसो तीन बजेसम्म ५७ प्रतिशत मत खसेको थियो ।
निर्वाचन आयोगले मतदान सकिएसँगै देशभर मतगणना शुरु हुने जनाएको छ । तर केही जिल्लाहरुमा भोलि बिहानदेखि मात्रै मत गणना शुरु हुने भएको छ । पहिलो चरणमा चुनाव भएका अधिकांश जिल्लामा चाहिँ आजै साँझदेखि मतगणना हुँदै छ ।