
रुपन्देहीको तिलोत्तमामा रहेको सामुदायिक स्कूल शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।
विद्यालयका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएका हुन् ।
त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन ।
शुक्रबार प्रकाशित नतिजामा नेपालभरबाट ३.६० देखि ४ जीपीएसम्म अंक ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ ।
जसमध्ये देशभरबाट चार जीपीए ल्याउने विद्यार्थी ५४० छन् । जसमध्ये रुपन्देहीका मात्रै ८७ जना छन् ।
शान्ति नमूनाको यो नतिजा सम्भवत: नेपालकै सर्वोत्कृष्ट रहेको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले जानकारी दिए । लामिछानेले एकसाथ यति धेरै विद्यार्थीले ४ जीपीए ल्याएको भन्दै खुसी व्यक्त गरे । ‘विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको हो,’ प्रअ लामिछानेले भने ।
शान्ति नमूनामा ५ हजार विद्यार्थी अध्ययनरत छन् । शान्ति नमूनाले विगत वर्षमा पनि राम्रो नतिजा ल्याउँदै आएको थियो । अधिकांश रुपन्देहीका सामुदायिक विद्यालयले पनि चार जीपीए ल्याएका छन् ।
यो नतिजाले मेहनत गर्ने हो भने सामुदायिक विद्यालयले पनि राम्रो नतिजा ल्याउन सक्छ भन्ने सन्देश दिएको छ ।