
कोशी प्रदेश सभामा सधैं एउटा फरक आवाज सुनिन्छ । प्रदेश सभामा फरक–फरक तरिका र शैलीमा जनताको आवाज सुनाउने सांसद हुन् गोम्बु शेर्पा । उनी केवल भाषण वा बहस गरेर मात्रै जनआवाज उठाउँदैनन्, गीतसंगीतका माध्यमबाट पनि जनबोली बोल्छन् । सरकारलाई घच्घच्याउँछन्, विकृति/विसंगतिविरुद्ध आवाज उठाउँछन् । प्रदेशसभा सदस्य शेर्पाले आफ्ना कुराहरू गीतमार्फत् भन्ने गरेका छन् ।
हालै उनले मुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरीमा बारम्बार बजेट विनियोजन भएको विषयमा गीत गाएर व्यंग्य गरेका थिए । अन्य सांसदको तुलनामा उनी सक्रिय छन् । प्रदेशसभा बैठकमा उनले बोलेका कुराहरू प्राय: सञ्चार माध्यममा समाचार बन्ने गरेका छन् । मुख्यमन्त्रीसँगको प्रश्नोत्तरदेखि विधेयमाथि उनले अध्ययन गरेर बोल्ने गरेका छन् ।
२०५३ सालदेखि राजनीतिमा सक्रिय उनी पहिला एमाले थिए । जनयुद्धको समयमा उनले बन्दुक बोके र २०५८ सालदेखि सक्रिय रूपमा सशस्त्र संघर्षमा सामेल भए ।
उनी जनप्रतिनिधि बनेको भने पहिलोपटक हो । यसअघि २०७० सालमा संविधानसभा निर्वाचनमा सोलुखुम्बुबाट उम्मेदवार बनेका थिए तर, कांग्रेसका बलबहादुर केसीसँग उनी पराजित बने । २०७४ मा प्रदेशसभामा समानुपातिकको बन्द सूचीमा उनको नाम थियो तर, सांसद बन्न सकेनन् ।
राजनीतिक संघर्षका क्रममा उनले कठिन दिनहरू पार गरेका छन् । २०५८ सालमा गिरफ्तार परेर ४ दिन हिरासतमा बसेका थिए । २०५९ सालमा त्यो अझ कठिन भयो । आर्मीले गिरफ्तार गरेर १० दिन सूर्यविनायकको गणमा राखेको थियो । त्यसपछि केन्द्रीय कारागारमा ११ महिना राखिएको थियो ।

यातनाका दिनहरू उनका लागि निकै कष्टकर थिए । आर्मीले टाउकोमा फलामको पाइपले हिर्काएकाले ६ महिनासम्म अर्धचेतजस्तो भएर बसेको उनले सुनाए । बुटले ढाडमा हानेकाले दुइटा करङ फुटेका थिए । त्यसको असर अहिले पनि रहेको उनी बताउँछन् ।
२०६२ देखि ७७ सालसम्म उनी पार्टीमा सक्रिय भए । २०६६ मा गोपाल किराँती संस्कृति मन्त्री हुँदा उनी स्वकीय सचिवसमेत भएका थिए । अहिले भने उनी प्रदेश सभामा जनताको आवाज उठाइरहेका छन् । तर, संघीयताको कर्मअनुसार काम नभएको उनको अनुभव छ ।
प्रदेशसभालाई संविधान अनुसारको जनशक्ति र स्रोत साधन दिन संघीय सरकारले नमानेको उनी बताउँछन् । ‘प्रदेश प्रहरी नै दिन मानेको छैन । केन्द्रमा संघीयताका विरोधी मानसिकता भएकाहरू छन्,’ उनले भने ।
लामो समय सामन्तवादको राज चलेकाले गणतन्त्र भनिएता पनि प्रदेशका मन्त्री र मुख्यमन्त्रीहरूमा पनि दास प्रथा रहेको उनी टिप्पणी गर्छन् ।
संविधानले दिएको हकअधिकारका लागि केन्द्रमा मन्त्री र प्रधानमन्त्रीसँग कानूनी र वैचारिक लडाइ गर्नुपर्ने उनको भनाइ छ । ‘संविधानले दिएको अधिकारका लागि केन्द्रमा मन्त्री र प्रधानमन्त्रीसँग कानुनी र वैचारिक लडाइँ गर्नुपर्ने र संघर्ष गर्नुपर्ने अवस्था छ । संविधानले दिएको अधिकार माग्ने, मागेर नपाए खोस्ने साहस गर्नुपर्छ तर, त्यो भएको छैन,’ उनले भने ।
समानुपातिक प्रतिनिधित्वको चरम दुरुपयोग भएको उनी बताउँछन् । नेताहरूले श्रीमती, साली, सालो, गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड, व्यवसायिक पार्टनरलाई सांसद बनाउने गरेको उनको भनाइ छ । त्यही कारण संसद्मा जनताको आवाज कम उठ्ने गरेको शेर्पाले बताए । ‘जो मान्छेको सांसद हुने इच्छा नै छैन, उसैलाई विभिन्न स्वार्थले सांसद बनाइएको छ । अनि सदनमा कसरी जनताका आवाज उठ्छ ?’ उनी प्रश्न गर्छन् ।
उनी प्रदेशसभा तथा संसदीय समितिको सबैजसो बैठकमा उपस्थित हुने गर्छन् । ५/६ वटा बैठकमा मात्र अनुपस्थित भएका छन् । धेरै सांसदहरू सदनमा अध्ययन नगरेका कारण जनताका कुराहरू नउठाउने गरेको उनी बताउँछन् । अहिलेसम्म केही सांसदले भने १/२ पटक मात्रै बोलेका छन् । उनीहरू तलब खान मात्रै आएजस्तो उनलाई लाग्छ ।
उनी गीतसंगीत मन पराउँछन् । त्यहीं भएर कहिलेकाहीं प्रदेशसभामा सरकारलाई व्यङ्ग्य गर्न गीत नै गाउने गर्छन् । हालै उनले ‘गौरादहको बजारमा, माया हाम्रो बस्यो’ बोलको गीत गाएर मुख्यमन्त्रीको घरछेउको गौरादह पोखरीमा बारम्बार बजेट विनियोजन भएकोमा व्यंग्य गरेका थिए । गौरादह पोखरीको संरक्षणका लागि वर्षाैंदेखि करोडौं रुपैयाँ खर्च भइरहेको छ । २०६५ सालदेखि शुरू भएको यो काम अझै पूरा भएको छैन । उनले यस अगाडि पनि गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणलाई जोडेर भिजिट भिसामा बोलको गीत गाएका थिए ।
अर्थात् उनी आफ्ना कुराहरू फरक तरिकाले राख्ने गर्छन् । उनका गीतहरू केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृतिहरूलाई उजागर गर्ने एक माध्यम बनेका छन् । प्रदेशसभामा उनको उपस्थिति एक फरक शैलीको प्रतिनिधित्व गर्छ ।