०७ साउन २०८३, बिहीबार

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आकस्मिक बाढी, ११ जनाको मृत्यु

असार १४, २०८२
काठमाडौं
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आकस्मिक बाढी, ११ जनाको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा परेको अविरल वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । 

घटनामा अन्य ६ जना घाइते भएको प्रादेशिक विपद् व्यवस्थापन प्राधिकरण (पीडिएमए)ले पुष्टि गरेको छ । बाढीका कारण स्वात नदीको जलस्तर एकाएक बढेपछि व्यापक क्षति पुगेको स्थानीय अधिकारीहरूलाई उदृत् गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्राधिकरणका अनुसार मृतकमध्ये ४ जना पुरुष, ३ जना महिला र ४ जना बालबालिका छन् । बाढीका कारण ५६ घरमा क्षति पुगेको छ, जसमा ६ घर पूर्णरूपमा ध्वस्त भएका छन् भने अन्य ५० घर आंशिक रूपमा क्षतिग्रस्त छन् ।

स्वात क्षेत्र बाढीबाट सर्वाधिक प्रभावित बनेको छ । त्यहाँ मात्र ११ जनाको मृत्यु पुष्टि भइसकेको छ । बाढीको स्तरलाई ‘अत्यन्त उच्च’ भन्दै पीडिएमएले सावधानी अपनाउन आग्रह गरेको छ । स्थानीय अधिकारीहरूका अनुसार बाढीले दर्जनौं मानिसलाई अलग–अलग स्थानमा फसाइदिएको छ ।

दुई दिनसम्म लगातार वर्षा भएपछि उद्दार र राहत कार्य जारी राखिएको छ । पाकिस्तानको प्रमुख दैनिक ‘द एक्सप्रेस ट्रिब्यून’का अनुसार, पीडिएमएले स्वातबाट सम्भावित बाढीको जोखिम रहेकाले पेशावर, चरसद्दा र नौशेराका अधिकारीहरूलाई सतर्क रहन निर्देशन दिएको छ ।

स्वातका डिप्टी कमिश्नर शहजाद महबुबका अनुसार नदीमा जलस्तर अकस्मात् बढेपछि ७३ जना विभिन्न स्थानमा फसेका छन् । उनले थप जानकारी दिँदै भने, ‘दुई पर्यटक परिवारका १८ जना स्वात नदीमा आएको बाढीका कारण शुक्रबार फसेका थिए, जसमा १७ जनाको ज्यान गएको पुष्टि भएको छ ।’

स्थानीय सञ्चारमाध्यमका अनुसार यो घटना फिजागत क्षेत्रको हो, जहाँ दुई परिवारका सदस्यहरू नदी किनारमै नास्ता गरिरहेका थिए । त्यसैबेला नदीको जलस्तर एकाएक बढ्दा उनीहरूलाई बगाएको जनाइएको छ । उद्दार कार्यका क्रममा ३ जनालाई सकुशल उद्धार गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्