
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफू किन एमालेमा फर्किन लागेको भनेर सुनाउन खोजेकी थिइन् । शनिबार एउटै मञ्च शेयर गरेका ओलीलाई उनले भनेकी थिइन्- मेरा कुरा पनि सुन्नुस् न !
तर, भण्डारीको यस्तो आग्रहकाबीच ओली स्पेन भ्रमणका लागि ५ बजेर १० मिनेटमा एयरपोर्ट पुग्नुपर्ने भन्दै कार्यक्रमस्थल राष्ट्रियसभा गृह प्रदर्शनीमार्गबाट हिँडेका थिए ।
लगातार दुईपटक राष्ट्रपति भएकी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणाको ‘वार्मअप’मा लागेकी थिइन् । ओलीकै अगाडि आफ्नो योजना व्यक्त गर्न चाहना उनको थियो । तर, ओलीको व्यस्त समयले विद्याको यो चाहना पूरा भएन ।
बरु ओलीले आफ्नो सम्बोधनमा ‘उहिल्यैदेखि सुन्दै आएको छु, राम्रो बोल्नुहुन्छ’ भन्दै उनको चाहना पूरा गर्न नसकिने व्यंग्य मिश्रित बोली बोलेर हिँडे ।
‘मलाई ५ बजेर १० मिनेटमा एयरपोर्ट जानुपर्छ । समय रहेन । बीचमै बोल्न खोजेको थिएँ । सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरा कुरा पनि सुन्नुस् भन्दै हुनुहुन्थ्यो । तपाईं राम्रै बोल्नुहुन्छ भन्ने थाहा छ । किन सुन्नुपर्यो र ?,’ ओलीले भनेका थिए, ‘आज मात्रै सुन्नुपर्ने होइन । उहिल्यैदेखि सुन्दै आएको छु । राम्रो बोल्नुहुन्छ । थाहा छ ।’
पछिल्लो समय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको अनुकूलमा हुने अभिव्यक्ति दिएपछि ओलीले उनकाबारेमा पनि छोटोमा केही शब्द राखेका थिए ।
‘ईश्वर कमरेड बोल्नुहुन्छ, नराम्रो कहिल्यै बोल्नुहुन्न । मलाई थाहा छ के बोल्नुहुन्छ भनेर यसैले सुन्न बसिरहन पर्दैन । मलाई पनि धेरै हतार भएकोले धेरै समय नलिउँ’ भन्दै ओली बाहिरिएका थिए । त्यसलगत्तै वक्ताका रूपमा उनै पोखरेल बोले । अनि पूर्व राष्ट्रपति भण्डारी राजनीतिक मान्छे भएकोले राजनीतिमा आउनु अस्वभाविक नभएको प्रस्ट्याए ।

‘पूर्वराष्ट्रपति आउने कि नआउने ? दलीय व्यवस्थामा दलबाटै प्रतिनिधित्व गरेर जानुभएका हो । एउटा भूमिका पूरा गर्नुभयो । उहाँ पोलिटिकल मान्छे हो भन्नेमा किन गफ गरिरहनुपर्छ र ? राजनीति गरेर आएको मान्छेलाई अनौठो हो र ? किन इफ बट ?’ पोखरेलले भनेका थिए, ‘राजनीति गरेर आएपछि राजनीतिमा रुची हुन्छ । यो कुनै अनौठो कुरा होइन । के जिम्मेवारी लिने सल्लाह र समझदारीले हुन्छ ।’
एक कदम अगाडि सरेर पोखरेलले पूर्वराष्ट्रपति एमालेमा आउनु धर्म नै भएकोसमेत बताउन भुलेनन् ।
यो पनि पढ्नुहोस्- विद्या भण्डारीबारे ईश्वर पोखरेल- पूर्व राष्ट्रपति राजनीतिक मान्छे हो, उहाँ सल्लाहमै राजनीतिमा आउनुहुन्छ
‘पूर्वराष्ट्रपति राजनीतिक मान्छे हो । राजनीतिमा चासो राख्न पाउनु उहाँको धर्म हो । जुन ठाउँमा जन्मिनुभयो, हुर्किनुभयो । उहाँलाई किन न्यारो ढंगले सोच्ने ?,’ पोखरेलले भनेका थिए, ‘राजनीतिमा आउँदा राजतन्त्र छोडेर गणतन्त्रमा आएको के काम जस्तो भनेर हुँदैन । के गर्ने भनेर अध्यक्षसँग सल्लाह हुन्छ । हामी सबै बसेर सल्लाह गर्छौं । तातेको तावामा किन उफ्रिएको के ?’
पोखरेलले यतिमात्रै बोलेनन् । एमालेमा परिस्थिति नबुझिए समस्या नै आउने गम्भीर कुरा समेत गरे । ‘राजनीति पार्टीमा द्वन्द्व भएको कुरालाई विधिसम्मत ढंगले प्रकट हुन पाएन भने असन्तुष्टि निश्चित विन्दुमा पुगेर विष्फोट हुन्छ,’ पोखरेलले भने, ‘यसरी नबुझिए समस्या पैदा हुन्छ ।’
नवौं महाधिवेशनमा पनि लोकतान्त्रिककरणका प्रक्रिया उल्लेख भएको उनले बताए ।
‘एमालेले लोकतान्त्रिककरणको पक्षमा उभिन्छन् भनेर धेरैले थाहा पाए । तर, एमाले र माओवादी केन्द्रबीच महान एकता हुँदाखेरि विचारका कुरा स्थगित भए,’ पोखरेलले भने, ‘विचार कमजोर भए । यही सिलसिलामा पार्टीको लोकतान्त्रिककरणको विषय कता हरायो कता बिलायो ।’
कारबाही, उमेर धेरै कुरा राखे पनि केही नभएको उनले बताए । तीन दशकदेखिको अनुभवबाट निकालिएका निष्कर्षलाई पछिल्लो समय छायाँमा परेको पोखरेलको भनाइ छ ।
आउँदो भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनले अन्तिम निचोड निकाल्ने भदै उनले तदर्थवाद मान्न नसकिने पनि प्रस्ट्याए ।
‘विधान महाधविशेनमा समूहको छलफलपछि अन्तिम निचोडमा पुग्ने हो । विधान महाधिवेशनमा सचेत कार्यकर्ताले कुरा उठाउँछन् । खबरदार बोल्न पाउँदैनस् भनेर भन्न मिल्दैन । पार्टीभित्रको सीमारेखा भत्काउन मिल्दैन । छलफल हुन्छन् । कुरा उठ्छन् । बेलै यही हो । यसैको लागि हामीले विधान र नीति गरी दुई महाधिवेशनको व्यवस्था गरेका हौं’, पोखरेलले भने ।

पोखरेल मात्र होइन पछिल्लो समय एमालेका पदाधिकारी तहकै केही नेताहरू विद्यालाई एमालेको राजनीतिमा ल्याउन सक्रिय थिए । यसमा पोखरेल, स्थायी कमिटी सदस्य कर्ण थापालगायत खुलेर लागेका थिए ।
पढ्नुहोस् यो पनि- विद्या नबोल्दै ओलीले भने- राम्रो बोल्नुहुन्छ, के बोल्नुहुन्छ पनि थाहा छ
शनिबार ओली नसुनी हिँडे पनि विद्याले एमालेमा फर्किने घोषणा आफ्नो निरन्तर तयारीको उपज भएको बताइन् । भण्डारी मदन भण्डारी फाउन्डेसनकी संस्थापक हुन् । मदनको ७४ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको शनिबार काठमाडौंमा ‘जबजका तीन दशक’ विषयक विचार राष्ट्रिय गोष्ठीमै भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेकी हुन् । संरक्षक रहेका ओली प्रमुख अतिथि र विद्यालाई विशिष्ट अतिथि बनाइएको थियो ।
लिखित सम्बोधनका क्रममा भण्डारीले जबज नक्कल नभइ नेपाली माटोको उपज भएको बताइन् । ‘जबज विदेशी सिद्धान्तको नक्कल होइन । नेपालीका जीवन, भविष्यप्रतिको नवीन विचार हो । नेपाली माटोमा उत्पत्ति भइ विकास भएको सिद्धान्त हो,’ भण्डारीले भनिन्, ‘यसले लोकतान्त्रिक पद्धति र बहुदलीय व्यवस्थाको विशिष्ट बाटोलाई स्वीकार गरेको छ । यसलाई समृद्धि बनाएर अगाडि बढ्नुपर्छ ।’
आफ्ना श्रीमान मदन भण्डारीको जीप दुर्घटनापछिको शोकलाई शक्तिमा बदलेर आफू राजनीतिमा थप सक्रिय भएको उनले बताइन् । एमालेले मार्गदर्शक सिद्धान्त नै जबजलाई मानेको भन्दै यसलाई अझै समृद्ध बनाउने, देश र जनताको आर्थिक-सामाजिक रूपान्तरणमा काम गरेर अगाडि बढ्नुपर्ने बताइन् । बितेका तीन दशकमा जबजले सकारात्मक सन्देश दिएको उनको भनाइ थियो ।
जबजलाई युगअनुकुल कार्यान्वयन गर्दै लानुपर्ने ऐतिहासिक जिम्मेवारीसमेत रहेको उनको भनाइ थियो । ‘विचार र व्यवहारको दूरी कम गर्ने, नारा र नतिजाबीचको अन्तर घटाउने अनि भविष्यप्रतिको जनताको विश्वास सुदृढ गर्ने अभियान कुनै सामान्य सुधार होइन, बरु यो त जबजलाई युगानुकूल कार्यान्वयन गर्ने गहन र ऐतिहासिक जिम्मेवारी हो,’ भण्डारीले भनिन्, ‘हाम्रा निकट छिमेकी मित्र राष्ट्रहरू भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेका छन् । यो हाम्रा निम्ति खुसी र प्रेरणाको विषय हो । यी दुई मुलुकसँगको हाम्रो सुमधुर सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नु पर्दछ ।’
पढ्नुहोस् यो पनि- पार्टी सदस्यता नवीकरण गरेँ, एमालेको सदस्यका रूपमा पुनः जोडिएकी छु- विद्या भण्डारी
आफू राजनीतिमा फर्किने घोषणामा भण्डारी एमाले अध्यक्षप्रति कठोर भने सुनिइनन् । बरु निरंकुशताविरुद्ध लडेको र पार्टीलाई एउटा धार दिएको भन्दै प्रशंसा गरिन् ।
‘यसबीचमा मुलुकमा निरङ्कुशता लाद्ने दुष्प्रयासलाई निस्तेज पार्न, उग्रवामपन्थी जडसूत्रवादी चिन्तनद्वारा पोषित सशस्त्र द्वन्द्वलाई समाप्त पारेर त्यसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई निर्वाचनका माध्यमबाट संस्थागत गरिकन यसलाई सुदृढ तुल्याउन नेकपा (एमाले)ले आत्मसात गरेको सिद्धान्तबाट नै सफलता मिलेको हो,’ भण्डारीले भनेकी छन्, ‘नेपालको लामो राजनीतिक संक्रमणकाललाई समाप्त पारेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउन प्राप्त भएको यो सफलताको आधार जबजको मार्गदर्शन र जननेता मदन भण्डारीको विरासत नै हो ।’

ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानप्रति पनि भण्डारीले खुसी व्यक्त गरिन् । ‘अहिले नेकपा (एमाले)का अध्यक्ष सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली नेपाली जनताको साझा संकल्पको रूपमा रहको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियानलाई सुदृढ पार्न दत्तचित्त बनेर लागिरहनु भएको छ,’ उनले भनिन्, ‘म यसमा खुसी व्यक्त गर्दै यस अभियानको सफलताको निम्ति शुभकामना दिन चाहन्छु ।’
भण्डारीले राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षमा देशका विभिन्न स्थान र व्यक्तिसँगको भेटघाटपछि राजनीतिमा फर्किने निचोडमा पुगेको बताइन् । ‘जनताको छोरीको रूपमा मैले सोही बेलादेखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने संकल्प गरिसकेको थिएँ । देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी भएकाले नै म विद्यालय तहको विद्यार्थी हुँदादेखि नै पहिलेको माले र अहिलेको नेकपा (एमाले)मा आबद्ध भएर सामाजिक-आर्थिक रूपान्तरण अभियानमा आबद्ध भएकै हुँ’, उनले भनिन्, ‘वास्तवमा त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै थिएँ । फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।’
उनले पुनः एमालेमा जोडिए पनि कुनै विशिष्ट महत्त्वकांक्षा नभएको प्रष्ट्याएकी छन् । एमालेमा उनी अध्यक्ष बन्नैको लागि सक्रिय हुन खोजेको चर्चा भइरहेको छ । उनी आफैंले भने विशिष्ट महत्त्वकांक्षा नभएको सुनाएकी छन् ।
उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष ओलीसहितको नेतृत्वको सहमतिमा भण्डारीले जिम्मेवारी पाउने बताएका थिए । ६३ वर्षीया भण्डारीले पनि मदनको शब्द सापटी लिँदै राजनीतिमा थकाइ भन्ने नै नहुने उल्लेख गरेकी छिन् ।
‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्त्वाकांक्षा छैन,’ भण्डारीले भनेकी छन्, ‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो। जननेताले भन्ने गर्नुहुन्थ्यो- जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो- राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’
विगतले महत्त्वपूर्ण शिक्षा दिएको उनको भनाइ छ । ‘आज तपाईंहरूका बीचमा हुँदा मदनका यी भनाइहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाइलाई आदर्श मानेर म समर्पित बनिरहनेछु । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन्,’ उनले भनेकी छन्, ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्त्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदाझैँ सबैको सधैंभरि माया र विश्वास पाइरहुँ । जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक-आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको छ ।’

यो पनि पढ्नुहोस्- ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्दै एमालेको सक्रिय राजनीतिमा फर्किएको भण्डारीको घोषणा
भण्डारीले एमालेमा फर्किने घोषणा गरेलगत्तै लोकान्तरसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उनको घोषणालाई पार्टीमा स्वागत गरिने बताए ।
‘उहाँले औपचारिक रूपमा एमालेको राजनीतिमा फर्किएको घोषणा गर्नुभएको हो भने भने हामी स्वागत गर्छौं । स्वागतभन्दा ठूला के हुन्छ र ?,’ गौतमले भने, ‘एमालेमा औपचारिक रूपमा आएर काम गर्छु, समय दिन्छु र पार्टीले जिम्मेवारी दिएको ठाउँमा काम गर्छु भन्नु राम्रो हो ।’
अध्यक्षमा नै प्रतिस्पर्धा गर्छु भनेर घोषणा नगरिएको भन्दै उनले पार्टीको नेता पार्टीमै आउने कुरालाई ठूलो विषय बनाइराख्न जरुरी नरहेको पनि बताए ।
पढ्नुहोस् यो पनि- विद्या भण्डारीले राजनीतिमा फर्किने घोषणा गरेपछि के भन्यो एमालेले ?
त्यसअघि कार्यक्रमको शुरूआतमा फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले फाउन्डेसनलाई षडयन्त्रको सिद्धान्त बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाएकी थिइन् ।
‘हामीले बुबाको ४१ जन्म दिन देख्न नपाउँदै उहाँ जानुभयो । अचानक अप्रत्याशित २०५० साल जेठ ३ गते हामीले उहाँलाई गुमायौं । छरिएका सपनालाई फेरि एकपटक संगाल्दै आगडि बढ्ने प्रयत्न गर्यौं । यसैको एक प्रयत्न मदन भण्डारी फाउन्डेसन हो,’ उषाकिरणले भनिन्, ‘कलिलो उमेर दिवंगत भएकाको पूरा नभएका सपना बाँचेकाले पूरा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हाम्रो संसकृतिमा छन् । विश्वमा पनि यस्तै कल्चर छ । यसैले फाउन्डेसन स्थापना हुनु अस्वभाविका कुरा होइन । यसलाई कन्सपिरेसी थ्यौरी बनाउन आवश्यक छैन । यस्ता थ्यौरीमा जति उडाइए पनि लाग्नेहरू विचलित नभइ लागिरहन्छौं ।’
भण्डारीसँगै दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन यसअघि नै माओवादी केन्द्रको राजनीतिमा सक्रिय भइसकेका छन् । उनलाई माओवादीले उपाध्यक्षको जिम्मेवारी दिएको छ ।