२७ जेठ २०८३, बुधबार
राष्ट्रप्रमुखबाट फर्किएर राजनीति

राजनीतिमा विद्याको पुनरागमन– नेतृत्वको सद्भावविना सहज छैन भावी यात्रा !

असार १५, २०८२
काठमाडौं
राजनीतिमा विद्याको पुनरागमन– नेतृत्वको सद्भावविना सहज छैन भावी यात्रा !

ठूलो दलबलभन्दा पनि एक्लै एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विस्तारै गतिविधि बढाउने तयारी गरेकी छिन् । 

सक्रिय राजनीति छाडेको १० वर्षपछि भण्डारीले असार १४ गतेबाट एमालेमा फर्किएको घोषणा गरेकी हुन् । यसका लागि उनले जनताको बहुदलीय जनवाद प्रतिपादन गर्ने मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर रोजिन् । जबजका प्रतिपादक भण्डारी उनका पति पनि हुन् । 

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय विचार गोष्ठीमा भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर पार्टीमा होमिएको घोषणा गरेकी हुन् । 

विद्याले एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिन खोज्नुमा पवित्र उद्देश्य रहेको दाबी गरिन् । ‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले पुन: राजनीतिमा फर्किएकोबारे भनेकी थिइन् । 


null

सोही क्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक मान्छे राजनीतिमा आउनुलाई अनौठो मान्न नहुने बताएका थिए । पोखरेलबाहेकका एकाध नेता मात्र भण्डारीलाई साथ दिनेगरी खुलेका छन् । अर्थात्, तत्काल नै भण्डारीलाई साथ दिने नेता यी हुन् भनेर चिनाउने अनुहार छैन । 

खुलेर एमालेमा लागेपछि आफूलाई देशभरका नेता/कार्यकर्ताको साथ मिल्ने आकलन भण्डारीको छ । पारिवारिक विरासत, राष्ट्रपति बनेर दुईपटक चलाएको अनुभव र बलियो पार्टीको आवरणमा विद्या राजनीतिमा हामफालेकी हुन् । संवैधानिक पदमा बसेर राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेकी उनको राजनीतिमा पुन:आगमनको विरोध पनि हुन थालिसकेको छ । 

एमाले महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति एमालेको विकास र समृद्धिको आकांक्षाबाहिर जान नसक्ने बताएका छन् । आफू र नेता विष्णु पौडेलबीच धार जन्माउने कोशिश सफल नभएपछि अर्को खेतीपाती शुरू भएको पोखरेलको भनाइ छ । 

‘शंकर पोखरेल र विष्णु पौडेलका नाममा धार जन्माउने कोशिश भए । कित्ताकाटको प्रयत्न नभएको हो र ?’  पोखरेलले भण्डारीप्रति लक्षित गर्दै भनेका छन्, ‘आज हेर्नुभयो भने शंकर पोखरेल र विष्णु पौडेल भन्ने कित्ताकाटको आवश्यकता हरायो, तर त्यो खेतीपाती अर्कातिर शुरू भएको छ ।’ 

सत्ता साझेदार एवं संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि भण्डारी राजनीतिमा आउने विषयमा प्रतिक्रिया जनाएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले राष्ट्रपति भइसकेपछि पार्टीभन्दा माथि उठ्नुपर्ने बताएका छन् । आइतबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि महतले पूर्व राष्ट्रपति भण्डारीप्रति संकेत गर्दै यस्तो बताएका हुन् । 

‘राष्ट्रपति पार्टीभन्दा माथि उठेर देश र जनताको एकताको प्रतीकका रूपमा रहेको संस्था हो,’ महतले भने, ‘यो पदबाट रिटायर्ड भइसकेपछि पनि त्यहीरूपमा रहिरहने संस्था हो भन्ने कांग्रेसको सोच हो ।’

एमाले राजनीतिमा फर्किने भण्डारीको घोषणाले हिजो राष्ट्रपति हुँदा पनि सोही पार्टीको पक्षमा भूमिका निभाइन् कि भन्ने प्रश्न उठ्ने छ । यसको जवाफ दिन उनलाई सहज हुनेछैन । 

तर, भण्डारीले एमाले उपाध्यक्ष हुँदाको भन्दा ठूलो र बलियो पकडसहित राजनीतिमा होमिएको संकेत गरेकी छन्  । राष्ट्रप्रमुख भइसकेपछि राजनीतिको मैदानमा हामफालेकी उनी केही समय परीक्षामा हुनेछिन् । राजनीतिमा आउनैपर्ने कारणबारे उनले जवाफ दिनुपर्ने छ । अर्कातिर, पूर्व राष्ट्रप्रमुखका रूपमा लिएको सुविधा त्याग गर्नुपर्नेछ । 

भन्नलाई कुनै विशिष्ट महत्त्वाकांक्षा नभएको उनको दाबी छ । तर, उपाध्यक्ष हुँदै राष्ट्रपति बनेकी उनी त्यो भन्दा सानो पदका राजनीतिमा आएकी होइनन् भन्ने अर्थ सहजै लगाउन सकिन्छ । अर्थात्, उनी एमालेको अध्यक्ष बन्ने र देशकै पहिलो महिला प्रधानमन्त्री बन्ने सपना समेत देखेर राजनीतिमा पुन: होमिएको नेताहरू बताउँछन् । 

एमालेमा अध्यक्ष केपी शर्मा ओलीको मजबुत सांगठनिक पकड छ । यद्यपि, पछिल्लो समय उनले पार्टीमा केही चुनौती महसुस गरेको देख्न सकिन्छ ।

जेठ ३० गते एमालेको सबैभन्दा ठूलो भ्रातृ संस्था अनेरास्ववियुमा पेचिलो नतिजा आएको थियो । पार्टी नेतृत्वले अध्यक्षमा डा. सुजन कडरियालाई सर्वसम्मत बनाउन खोजेको थियो । तर, प्रकाश पौडेल समूहले निर्वाचन नै गर्नुपर्ने अडान लियो । पार्टीले पनि औपचारिक उम्मेदवार कडरिया भएको सन्देश दिन खोज्यो । तर, निर्वाचनमा कडरियालाई जित्न हम्मेहम्मे पर्‍यो । पार्टी नेतृत्वकै साथ हुँदा पनि कडरिया जम्मा ७ मतको अन्तरले विजयी भए ।

एमाले स्थायी कमिटी सदस्य कर्ण थापा लामो तयारीपछि नै भण्डारी राजनीतिमा होमिएकाले अहिले नै संगठित शक्ति नदेखिने बताउँछन् । 

‘लामो तयारीपछि पूर्व राष्ट्रपति हिजोबाट बल्ल राजनीतिमा सक्रिय हुनुभएको छ । उहाँ कहिले राजनीतिमा आउनुहुन्छ भन्ने जिज्ञासा थियो । उहाँ एमालेको आवश्यकताले आउनुभएको हो भन्ने जमात पनि धेरै देखिएको छ,’ थापाले लोकान्तरसँग भने, ‘उहाँ आएपछि एमालेको आन्तरिक समस्या समाधान हुन्छ । देशले खोजेको साझा र निष्कलंक व्यक्ति आउनुभयो भन्ने आधारमा कार्यकर्ता र जनताले नै उहाँलाई रुचाउँछन् ।

के छन् भण्डारीका कार्यक्रम ? 

पार्टीले छलफल गरेर कुनै पदमा नल्याएसम्म भण्डारी एमालेमा पार्टीको सदस्य मात्रै हुन् । यसैले उनले चाहेर पनि पार्टीका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा भाग लिन पाउने छैनन् । तर, पार्टीले औपचारिक रूपमा कुनै पद नदिए पनि भण्डारीले कार्यकर्तामा पुग्ने रफ्तार बढाउने भएकी छिन् । 

‘अस्तिसम्म उहाँकाबारे अर्कै कुरा हुन्थे । तर, हिजोदेखि उहाँ औपचारिक रूपमा एमालेमा सक्रिय हुने गरी खुल्नुभयो । अब शुरूवात भएको छ । योजना बनाउने र कार्यकर्ताबीच पुग्ने कार्यक्रम बनाउनुहोला,’ थापाले भने, ‘दुई वर्षदेखि एमालेको जीवनमा देखा परेका समस्याबारे छलफल, सल्लाह र सुझावका आधारमा यो निष्कर्षमा पुग्नुभएको हो । उहाँलाई ठूलो पार्टीपंक्तिले साथ दिन्छ ।’ 

अब आफूलाई साथ दिने नेतासँग छलफल गर्ने र कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउने तयारीमा भण्डारी छिन् । पार्टी नेतृत्वमा कुनै पद सिर्जना हुने स्थिति नआएसम्म उनी मदन भण्डारी फाउन्डेसनकै कार्यक्रम लिएर देशदौडाहामा जाने योजना देखिन्छ ।

‘फाउन्डेसनले मदन भण्डारीको ७५ औं जन्जयन्तीलाई हीरक महोत्सवका रूपमा मनाउने निर्णय गरिसकेको छ । अबका एक वर्षभरि यिनै कार्यक्रममार्फत आमजनता र कार्यकर्ताबीच उहाँ पुग्नुहुन्छ,’ भण्डारीनिकट स्रोतले भन्यो, ‘उहाँले एमालेको राजनीति मात्रै गर्छु भन्नुभएको छैन, मुलुकको आर्थिक, राजनीतिक र सामाजिक समस्याको समाधान के हुन्छ भनेर पनि सोच्नुभएको छ ।’

केही समयमै भण्डारीले आफ्ना राजनीतिक गतिविधि अगाडि बढाउन सम्पर्क कार्यालय खोल्ने तयारी गरेकी छिन् । भण्डारीको सचिवालयमा काम गर्दै आएका राजकुमार राईले भण्डारीले केहीसमयमै सम्पर्क कार्यालय खोल्ने तयारी गरेको बताए । 

‘हिजो मात्रै खुला हुनुभयो, योजना सुनाउनुभयो, अब सल्लाह हुँदै जान्छ, विस्तारै कार्यक्रम बन्दै जान्छ,’ राईले लोकान्तरसँग भने, ‘अध्यक्षज्यू स्पेनबाट फर्किएपछि उहाँसँग कुराकानी गर्नुहुन्छ ।’ 

यसअघि नै भण्डारीले फाउन्डेसनमार्फत पोखरामा असार १९ र २० गते कार्यक्रम राखेकी थिइन् । पार्टी राजनीतिमा आउने घोषणा गरेपछि एकपटक अध्यक्ष ओलीसँग छलफल गरेर मात्रै देश दौडाहामा निस्कने मानसिकतामा भण्डारी रहेको नेताहरू बताउँछन् ।

‘उहाँले पोखरामा कार्यक्रम राख्नुभएको छ । तर, जाने/नजाने टुंगो लागिसकेको छैन,’ राईले भने, ‘अध्यक्ष फर्किएपछि एकपटक कुरा गरौं, अनि मात्र हिँडौं भन्ने सोच बनाउनुभएको होला ।’

null

असन्तुष्ट संस्थापन

भण्डारीको राजनीतिमा आउने तयारीप्रति पार्टी संस्थापन पक्ष पहिलेदेखि नै असन्तुष्ट थियो । अध्यक्ष ओलीले आफूहरूले चाहे मात्रै भण्डारीलाई राजनीतिमा ल्याउने बताएका थिए । तर, देशभर घुमघाम र छिमेकी मुलुक चीनको यात्राबाट फर्किएको केही समयमै भण्डारीले एमालेमा सक्रिय हुने योजना प्रकट गरेकी छन् । 

शनिबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई साक्षी राखेरै भण्डारीले घोषणा गर्न खोजेकी थिइन् । तर, स्पेन भ्रमणमा जानुपर्ने भएकाले ओली आफ्नो कुरा राखेर फर्किएका थिए । 

‘सम्माननीय पूर्वराष्ट्रपतिज्यूले मेरा कुरा पनि सुन्नुस् भन्दै हुनुहुन्थ्यो । तपाईं राम्रै बोल्नुहुन्छ भन्ने थाहा छ, किन सुन्नुपर्‍यो र ?,’ ओलीले भनेका थिए, ‘आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको छु, राम्रो बोल्नुहुन्छ, थाहा छ ।’

ओली हिँडेको केहीबेरमै भण्डारीले एमालेमा सक्रिय हुने योजना सार्वजनिक गरेकी थिइन् । 

एमालेमा आज पनि ओलीको संगठित वर्चस्व र प्रभाव छ । यस्तोमा भण्डारीलाई तत्काल सक्रिय हुने गरी पार्टीले सहजीकरण गर्छ कि गर्दैन भन्नेमा संशय छ ।

अर्कातिर, भदौमा हुने विधान महाधिवेशनले भण्डारीको प्रतिकूल हुनेगरी विधान संशोधन गरिदिने जोखिम पनि उत्तिकै छ । भण्डारीको चाहनाविपरीत एमाले नेतृत्व लागे उनका लागि यो पनि चुनौतीकै विषय बन्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्