०७ साउन २०८३, बिहीबार
चर्चामा रहेका युवा उम्मेदवार

अमेरिका तताइरहेका ३३ वर्षे मम्दानी– किन ट्रम्पको टाउको दुखाइ बने न्यूयोर्कका मेयर उम्मेदवार ?

असार १६, २०८२
काठमाडौं

विश्वकै प्रभावशाली महानगर न्यूयोर्क सिटीको मेयर पदका लागि ३३ वर्षीय एक युवा उम्मेदवारले अहिले चुनावी मैदान तताइरहेका छन् ।

आगामी नोभेम्बर ४ मा हुने भनिएको मेयरको निर्वाचनमा सामान्य आप्रवासी पृष्ठभूमिका जोरन मम्दानीले उम्मेदवारी दिएपछि राष्ट्रपति ट्रम्पसहित विश्वभरका प्रभावशाली व्यक्तिहरूको ध्यान उनीतर्फ तानिएको छ ।

उनलाई नेपालमा सांगीतिक पृष्ठभूमिबाट उदाएका काठमाडौंका मेयर बालेन शाहसँग तुलना गर्न सकिन्छ । मम्दानी पनि सांगीतिक पृष्ठभूमिबाट नै उदाएका अनि बालेनकै उमेर समूहका युवा हुन् ।

नयाँ राजनीतिक विचार

जोरन मम्दानीको अभियानको मुख्य उद्देश्य सामाजिक न्याय, आर्थिक समानता र नीतिगत क्रान्ति हो । उनी न्यूयोर्क सिटीलाई केवल ‘चलिरहेको शहर’ होइन, ‘न्यायपूर्ण शहर’ बनाउने सपना लिएर अघि बढिरहेका छन् ।

उनले चर्को घरभाडा नियन्त्रण, निःशुल्क सार्वजनिक यातायात, राज्यनियन्त्रित किराना पसल, निःशुल्क बालबालिका हेरचाह केन्द्रजस्ता संरचना बनाउने एजेन्डा लिएर आएका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूले जोरनका यी एजेन्डाहरू न्यूयोर्कजस्तो पुँजीवादी केन्द्रमा असम्भव जस्तै मानिने टिप्पणी गरेका छन् । तर, उनले आफ्नो अभियान यस्तै विषयमा केन्द्रित गरेका छन् ।

उनले धनी र शक्तिशालीहरूको विशेषाधिकार कटौती गर्दै 'सम्पत्तिमा कर बढाएर सेवामा लगानी गरौं’ भन्ने नारा अघि सारेका छन् ।

विशेषगरी, धनी गोरा बस्तीमा सम्पत्ति कर बढाउने, बहुराष्ट्रिय कम्पनीको कर दर ७ दशमलव २५ प्रतिशतबाट ११ दशमलव ५ प्रतिशत पुर्‍याउने र अर्बपतिहरूमाथि थप २ प्रतिशत आयकर लगाउने उनको प्रस्ताव छ ।

यो प्रस्तावमार्फत राज्यलाई ९ अर्ब डलरभन्दा बढी राजस्व संकलन हुने अनुमान उनको छ । त्यो पैसालाई जनकल्याणमा खर्च गर्नुपर्ने मम्दानीको विचार छ ।

न्यूयोर्क सिटीको सामाजिक र राजनीतिक पृष्ठभूमि

न्यूयोर्क सिटीलाई 'विश्वको राजधानी' भनेर चिनिन्छ । अर्थतन्त्र, संस्कृति, आप्रवासी जीवनशैली र राजनीतिक प्रभावका हिसाबले यो अमेरिकाको व्यापारिक र राजनीतिक केन्द्र हो ।

यहाँको जनसंख्या ८८ लाखभन्दा बढी छ, जसमध्ये ३७ प्रतिशतभन्दा धेरै विदेशी नागरिक छन् ।

८०० भन्दा बढी भाषा बोलिने यो शहरमा विविधता मात्र होइन, गहिरो असमानता पनि विद्यमान छ । मम्दानीले सोही असमानतालाई टेकेर आफ्नो चुनावी अभियान अघि बढाएका हुन् ।

न्यूयोर्कमा रहेका म्यानह्याटन र स्ट्याटन आइल्यान्ड धनी क्षेत्र हुन् भने ब्रोंक्स र ब्रुक्लिनमा गरिबीको दर २१ देखि २८ प्रतिशतसम्म पुगेको छ ।

खासगरी, अफ्रिकन–अमेरिकी, ल्याटिनो र अन्य आप्रवासी समुदाय बसोबास गर्ने यी क्षेत्रमा उच्च घरभाडा, बेरोजगारी र सार्वजनिक सेवाको अभाव अभाव छ ।

सामाजिक पुनर्संरचनाको प्रतिबद्धता

मम्दानीको शिक्षा सम्बन्धी दृष्टिकोण पनि मौलिक छ ।

उनले न्यूयोर्कका सार्वजनिक विद्यालयहरूमा लागू गरिने विशिष्टीकृत माध्यामिक भर्ना परीक्षा (एसएचएसएटी) प्रणाली नश्लीय र विभेदकारी भएकाले हटाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

यो प्रणाली न्यूयोर्क सिटीका उत्कृष्ट सार्वजनिक माध्यमिक विद्यालयहरूमा भर्ना हुने एकमात्र आधार  हो ।

त्यस्तै, उनले महानगरले नै किराना पसल खोल्ने र नाफामुखी बजार प्रणालीको विकल्प निर्माण गर्ने योजनामा पनि जोड दिएका छन् । उनको विचारमा, खाद्य आपूर्ति र दैनिक उपभोग्य सामग्रीजस्ता आधारभूत सेवा राज्यको जिम्मेवारी हो ।

अल्पसंख्यक,आप्रवासी र श्रमिकको आवाज

जोरन मम्दानी आफैं एक आप्रवासीका सन्तान हुन् । उनी युगान्डामा जन्मिएर, दक्षिण अफ्रिकामा हुर्किएर, सात वर्षको उमेरमा न्यूयोर्क पुगेका थिए ।

उनको यो पृष्ठभूमिले नै उनलाई न्यूयोर्क सिटीका आप्रवासी, मुस्लिम, दक्षिण एसियाली र मेहनती वर्गको आवाज बन्ने प्रेरणा दियो ।

राजनीतिक रूपमा हेर्दा उनी अहिले अमेरिकी डेमोक्रेटिक पार्टीको सबैभन्दा प्रगतिशील पात्रका रूपमा उदाएका छन् ।

उनले आफ्नो प्रचार अभियानलाई केवल अंग्रेजी भाषामा मात्र सीमित राखेका छैनन् । उनले हिन्दी, उर्दू, बंगला र स्पेनी भाषामा चुनावी सन्देश सम्प्रेषण गर्दै उनले बहुभाषिक जनसमुदायमा पहुँच कायम गरेका छन् ।

विवाद

मम्दानी निश्फिक्री भएर आफ्ना अभिव्यक्ति दिने गर्छन् । यसअघि उनले दिएको इजरायल–हमास युद्धबारेको अभिव्यक्तिले अमेरिकी राजनीतिमा हलचल ल्याएको थियो ।

उनले गाजामा इजरायली कारबाहीलाई ‘जनसंहार’ भनेका छन् र इजरायली प्रधानमन्त्री नेतान्याहुलाई खुला रूपमा ‘युद्ध अपराधी’ घोषित गरेका छन् ।

यस्तै, राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति उनको धारणा पनि निकै स्पष्ट र कठोर छ । उनले आफू राष्ट्रपति ट्रम्पको दुस्वप्न भएको बताएका छन् ।

यी अभिव्यक्तिका कारण उनमाथि कट्टर दक्षिणपन्थी र यहूदी समुदायबाट आलोचनाको वर्षा भइरहेको छ । तर, अर्कोतर्फ, मुस्लिम समुदाय, प्रगतिशील नेता (जस्तै अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज, बर्नी स्यान्डर्स), श्रमिक संगठनहरू र युवाहरूको आँखामा उनी 'नायक'का रूपमा उभिएका छन् ।

ट्रम्प भन्छन्-'पागल कम्युनिस्ट'

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै केही दिनअघि मम्दानीलाई भनेका थिए, 'उ देख्नमा एकदमै नराम्रो छ । उसको आवाज कर्कश छ र उसलाई एओसी+३ जस्ता मूर्खहरूले समर्थन गरिरहेका छन् ।'

ट्रम्पले उल्लेख गरेको 'एओसी +३' शब्दको अर्थ हुन्छ - अलेक्जान्ड्रिया ओकासियो कोर्टेजकोर्टेज डेमोक्रेटिक सांसद हुन् र निरन्तर प्रगतिशील विचार राख्दै आएका छन् ।

ट्रम्पले कोर्टेज र उनलाई समर्थन गर्ने थप तीन जना सांसदको नाम लिएर उक्त शब्दावली प्रयोग गरेका हुन् । ट्रम्पले अर्को एक पोस्टमा मम्दानीलाई भनेका छन् - 'पागल कम्युनिस्ट !'

मम्दानीलाई भारतीय नेताहरूले पनि उत्तिकै आलोचना गर्ने गरेका छन् ।

भारतीय कंग्रेस नेता मनु सिंहवीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, 'जब मम्दानीले आफ्नो मुख खोल्छन्, तब पाकिस्तानमा रहेको उनको पीआर टीमले छुट्टी लिन्छ ।'

सिंहवीले मम्दानीलाई पाकिस्तानी एजेन्ट भनेकी छन् ।

त्यस्तै, भाजपा सांसदसमेत रहेकी अभिनेत्री कंगना रनौतले उनलाई ‘पाकिस्तानी सोच’ बोकेको भनेर आरोप लगाएकी छन् ।

मम्दानीले दिएको इजरायलविरोधी अभिव्यक्तिलाई दक्षिण एसियाली राजनीतिमा धर्म-राष्ट्र-पहिचानको मुद्दासँग गाँसिएको देखिन्छ ।

तर, अर्कातर्फ प्रगतिशील नेताहरू अलेक्जान्ड्रिया ओकासियो कोर्टेज र बर्नी स्यान्डर्सले मम्दानीको अभियानलाई एउटा ‘साँचो विकल्प’का रूपमा स्वागत गरेका छन् ।

आप्रवासी समुदाय, श्रमिक वर्ग र युवा पुस्ताले मम्दानीको भाषालाई आफ्नो आवाज मानेका छन् । यसरी हेर्दा, मम्दानीको उम्मेदवारी केवल एक चुनाव होइन, विश्वव्यापी शक्ति सन्तुलन र विचारधाराको टकराव पनि बनेको छ ।

मम्दानीले खुला रूपमा आफू भारतको गुजरातको मुस्लिम परिवारको भएको बताउँछन् । सन् २००२ मा गुजरातमा मुस्लिम समुदायमाथि भएको हिंसाको विरुद्धमा उनले पटक-पटक अभिव्यक्ति दिएका छन् । त्यसैले उनी भारतको संस्थापन पक्षको आँखाको तारो बनेका हुन् ।

न्यूयोर्क सिटीको वार्षिक बजेट करिब ११५ अर्ब अमेरिकी डलर हुन्छ । जुन नेपालको वार्षिक बजेटभन्दा लगभग ७ गुणा बढी हो ।

तर, सार्वजनिक यातायात, हाउजिङ र शिक्षा प्रणालीजस्ता क्षेत्रमा राज्य सरकारसँग अधिकार बाँडिएकाले मेयरको भूमिका नीतिगत दृष्टिले निकै जटिल हुन्छ ।

हेर्नुहोस्, भिडियो :

कमेन्ट गर्नुहोस्