
सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् ।
मंगलबार गृहमन्त्री लेखकसँग भेटेपछि तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै उनले व्यक्तिगत जीवनमा आँच पुर्याउने गालीगलौज र चरित्र हत्या गर्ने कार्य सह्य नहुने बताएकी छिन् ।
'म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ । तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो । तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन,' उनले लेखेकी छिन्, 'जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन्- ती त मेरो मन दुखाउन चाहने मात्र हुन् । त्यसैले आत्मसम्मानको रक्षा गर्न बाध्य भई मैले कानूनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।'
सामाजिक सञ्जालमा आफूलाई गाली गलौज गर्नेहरूविरुद्ध उनले सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।
आवश्यक सहयोग गरेकोमा गृहमन्त्री लेखकलाई उनले विशेष धन्यवाद दिएकी छिन् । 'यस विषयमा आवश्यक सहयोग प्रदान गर्नुभएकोमा गृहमन्त्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको साथ र सद्भावले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ,' उनले लेखेकी छिन् ।

सोमबार साइबर ब्यूरोमा उजुरी दिएपछि लोकान्तरसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो कुरा पुर्याएर सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नेलाई कारबाही दायरामा ल्याउन माग गर्ने बताएकी थिइन् ।
'चरित्र हत्याका क्रियाकलाप रोक्ने काम सरकारको हो । नारीमाथिको अत्याचार अब सहन सकिँदैन,' उनले भनेकी थिइन् ।
मंगलबार गृहमन्त्री लेखकलाई भेट्न गायिका चौहानसँगै रेखा थापा, गायिका समीक्षा अधिकारीलगायत कलाकार पुगेका थिए ।