
नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएसँगै कांग्रेसले पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो ।
कांग्रेसबाट कोशी सरकारमा एक राज्यमन्त्रीसहित चार मन्त्री छन् । भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयमा भूपेन्द्र राई मन्त्री छन् । शेखर कोइराला समूहलाई स्वास्थ्य मन्त्रालय दिने तयारी भए पनि समूहले मन्त्रीको नाम नदिएपछि दुवै मन्त्रालयको जिम्मेवारी राईले सम्हाल्दै आएका छन् ।
पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल छन् भने उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हागाम रहेका छन् । यस्तै, भौतिक पूर्वाधारका राज्यमन्त्री भूमिप्रसाद राजवंशी रहेका छन् ।
बजेट निर्माणपछि मन्त्री राई र राज्यमन्त्री राजवंशीबीच राम्रो सम्बन्ध नभएको मन्त्रालयका कर्मचारी बताउँछन् । स्रोतका अनुसार राज्यमन्त्री राजवंशीले नै मन्त्री राईलाई हटाउन लबिङ गरिरहेको स्रोत बताउँछन् । राई नेपाली कांग्रेस कोशीका महामन्त्री समेत हुन् ।
कृषि मन्त्री हागामले नयाँ कार्यक्रम नल्याएको भनेर आलोचना भइरहेको छ । हागामको भने मुख्यमन्त्री हिक्मत कार्कीसँग पनि राम्रो सम्बन्ध नरहेको नेताहरू बताउँछन् । मुख्यमन्त्री कार्कीले हागामलाई फिर्ता बोलाउन कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई समेत आग्रह गरेका थिए । तर, थापाले नमानेपछि हांगामको पद जोगिएको छ ।
त्यस्तै, पर्यटन मन्त्री मण्डलले सांसदका कुरा नसुन्ने र आफ्नै क्षेत्रमा मन्दिरमा मात्र बजेट विनियोजन गरेको भन्दै संसदीय दलको बैठकमा समेत कुरा उठेको थियो । उनले प्रदेशसभामा बजेटसँग सम्बन्धित विषयमा उठेको जवाफमा पनि आफ्नै सांसदहरूमाथि खनिएका थिए ।
मन्त्री फेर्नेबारे औपचारिकरूपमा नभएर अनौपचारिक छलफल भने भएको संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए । बजेटको देखिएको असन्तुष्टिलाई लिएर होइन, पहिले नै १३/१३ महिनामा मन्त्री फेर्ने सहमति भएको उनले बताए । यो निर्णय बजेटसँग जोडेर नहेर्न पनि उनले आग्रह गरे ।
कोशीमा एमालेको नेतृत्वमा २० महिना र कांग्रेसको नेतृत्वमा २० महिना सरकारको नेतृत्व गर्नेगरी भागबण्डा भएको थियो । केन्द्रीय गठबन्धनमा तलमाथि नभए अब ८ महिनापछि मुख्यमन्त्री हिक्मत कार्कीले सत्ताको चाबी उद्धव थापालाई बुझाउनुपर्ने हुन्छ । १३/१३/१३ महिना गरेर तीन पटक मन्त्री फेर्ने सहमति भएको उनले तामाङले दोहोर्याए ।
एमालेले समेत मन्त्री हेरफेर गर्ने तयारी रहेकाले केही दिन पर जान सक्ने कांग्रेसका एक सांसदले बताए । ‘हामीलाई आएको सूचना अनुसार एमालेले समेत मन्त्री फेर्ने तयारी गरेको छ,’ ती सांसदले भने, ‘उनीहरूको त बजेट ल्याउनुभन्दा अगाडि नै फेर्ने तयारी बुझेका थियौं, अब उनीहरूले फेरेनन् भने पनि केन्द्रले नरोके साउनमा मन्त्री फेरिन्छ ।’
यता एमालेले भने मन्त्री फेर्ने तयारी नभएको जनाएको छ । अहिले नै मन्त्री फेर्ने गरी कुनै तयारी नरहेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर लिङथेपले स्पष्ट पारे । उनले यस्तो कुनै छलफल वा तयारी नभएको दाबी गरे ।
कोशीमा एमालेका मुख्यमन्त्री र एक राज्यमन्त्री र तीन मन्त्री छन् । एमालेबाट मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगर, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की र सिर्जना राई राज्यमन्त्री छन् ।