१६ असार २०८३, मंगलबार
कांग्रेस बैठकका रोचक किस्सा

अनशन बस्ने धम्कीदेखि ‘कांग्रेसको सदस्यता मलामी जानका लागि हो ?’ भन्ने प्रश्नसम्म

बालकृष्ण, मोहन र दीपकलाई अन्याय भएको नगिनाको दाबी, दुई झापाली नेतृबीच नोंकझोक
असार १९, २०८२
काठमाडौं
अनशन बस्ने धम्कीदेखि ‘कांग्रेसको सदस्यता मलामी जानका लागि हो ?’ भन्ने प्रश्नसम्म

१० महिनापछि बल्ल बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरूले खुलेर बहस, आरोप-प्रत्यारोप, आग्रह र विग्रहका कुरा गर्न पाएका छन् । 

तीन दिनसम्म ५१ जनाले बोलेकामा बिहीबार थप सदस्यले आफ्नो धारणा राखे । जसमा पार्टी नेतृत्व, सरकार, सदस्यतादेखि नेता विशेषकै आलोचनासम्म नेताहरू उत्रिएका छन् । 

क्रियाशील सदस्यताभन्दा मत कम आएको, पार्टी कार्यालयमै अनशन बस्ने, विवादास्पद नेतामाथि अन्याय भएको, सभापतिको रिटायरमेन्ट लिने बेला भएकोदेखि कसैलाई पनि अनुशासनको कारबाही गर्न नहुनेसम्मका विषय बैठकमा उठेका छन् । 

बिहीबारको बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अनुशासनको कारबाहीको अभ्यास व्यवहारिक नभएकाले सबैलाई उन्मुक्ति दिन आग्रह गरेका छन् ।

‘अनुशासनको कारबाही निष्पक्ष, पारदर्शी र विधिसंगत हुनुपर्छ । अनुशासन समिति पार्टीको अदालत हो । मैले धेरैचोटी भनेको छु, एकचोटीलाई या त सबैलाई सुध्रिने, इमानदार हुने विश्वासमा सबैप्रतिको अनुशासनको कारबाही खारेज गरौं,’ केसीले भने, ‘नत्र पार्टी परित्याग गरी अर्को पार्टीको टिकटबाट निर्वाचन लड्ने बागी व्यक्ति जसलाई विधानमा स्पष्ट लेखिएको विद्रोही उम्मेद्‌वारलाई सोझै प्रवेश गराउने जुन खेल भइरहेको छ, त्यो किमार्थ स्वीकार हुन सक्दैन ।’

केसीले अपमानजनक ढंगले चल्न खोजे पार्टी कार्यालयै अनशन बस्ने चेतावनी समेत दिए । ‘पार्टीमा एउटै मापदण्ड हुनुपर्छ । असमान व्यवहार कसैलाई नहोस्,’ केसीले भने, ‘अरुको मर्यादा ख्याल नगर्ने, अपमान मात्रै गर्ने हो भने पार्टी कार्यालयमै अनशन बस्छु ।’

बैठकमा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले रिटायर्डको संकेत गरेका सभापति शेरबहादुर देउवालाई अधिवेशन नगर्ने भातृ संस्थालाई कहिले रिटायर्डमा पठाउने भन्दै प्रश्न गरे ।

‘आदरणीय सभापतिज्यूले आफ्नो रिटायरमेन्टको समय आएको संकेत गर्नुभएको छ । तर, जिम्मेवारी पाएर पनि पूरा गर्न नसकेका भातृ संस्थाको नेतृत्वलाई कहिले रिटायरमेन्टमा पठाउने ? नेविसंघ, तरुण दल, महिला संघ, दलित संघको वेथिति कहिलेसम्म टुलुटुलु हेरिरहने ?,’ उनले भने, ‘सभापतिज्यूले रिटायरमेन्ट लिँदै गर्दा पार्टीलाई एक ढिक्का बनाएर लाने सबैभन्दा ठूलो चुनौती छ। तपाईंको उमेर समूहदेखि जेन्जी हुँदै अल्फा पुस्तासम्मको भावना समेट्दै आम नागरिकको बीचमा फेरि पनि नेपाली कांग्रेसलाई लोकप्रिय पार्टी बनाउने चुनौती छ ।’ 

पार्टीका महामन्त्रीमाथि मोहनबहादुर बस्नेतले अनावश्यक आरोप लगाएको भन्दै उनले आपत्ति जनाए । पार्टी सुशासनको पक्षमा उभिने भए आरोपको टुंगो नलाग्दासमेत बस्नेत पार्टी राजनीतिबाट अलग हुनुपर्ने माग गरे । बस्नेतले बुधबार महामन्त्री थापाको कारण आफूलाई टेरामक्सको मुद्दा लागेको आरोप लगाएका थिए ।

बैठकमा केन्द्रीय सदस्य सीता गुरुङले कांग्रेसको रुख चिह्नमा भोट हाल्न नपाउने क्रियाशील सदस्यता किन नवीकरण गर्नेभन्दै प्रश्न उठाएकी थिइन् । ‘३६५ दिन कांग्रेस हुने भोट हाल्ने दिन नहुने, यस्तो भएपछि किन चाहियो कांग्रेसको सदस्यता ? कांग्रेसको सदस्यता मलामी जानका लागि हो ?,’ गुरुङले भनिन्, ‘चितवनमा १३ हजार क्रियाशील सदस्यत हुँदा १० हजार मत आयो । यस्तो भएपछि कांग्रेस किन हुने ?’ 

आफूले जित्दाजित्दैको चुनाव हराइएको भन्दै उनले बैठकमा बिलौना गरिन् ।

केन्द्रीय सदस्य दिनेश कोइरालाले रिटायर्ड हुने बेलामा कारबाहीका डण्डा किन चलाउनुहुन्छ भन्दै सभापति देउवालाई प्रश्न गरे । 

‘सभापतिजीको रिटायर्ड हुने बेला आएको छ । यस्तो बेला अपजसको भारी किन बोक्नुहुन्छ ?’ कोइरालाले भने, ‘विद्यार्थीकालदेखि राजनीति गरेका विक्रम खनाललाई कारबाही गर्ने, विनोद चौधरीलाई बोकेर हिँड्ने कसरी हुन्छ ?’ 

कहिले माओवादी र कहिले एमालेबाट धोका खाए पनि कांग्रेसले नचेतेको उनको भनाइ थियो । 

उनले बोललगत्तै चौधरी जुरुक्क उठेर केही बोल्न खोज्दै थिए । तर, सभापतिले बीचमै रोकिदिए ।

null

बैठकमा दुई झापाली नेतृको नोंकझोक पनि केहीबेर चलेको एक नेताले जानकारी दिए । केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बुले नेता शेखर कोइरालाले अनुशासनहीन आरोप पार्टीका नेतालाई लगाएको टिप्पणी गरिन् ।

‘अनुशासनहीन कुरा गर्ने, तपाईंहरूको मात्रै कुरा हुन्छ । मेरो बाउ पनि महेन्द्रनारायण निधिसँग लडेका हुन् । दुईवटा गोली खाएका थिए । अहिले तपाईंहरूले चाहिँ जे भने पनि हुन्छ ? खै कहाँ छन् शेखर ?’, उनले एकातिरबाट यस्तो बोल्दा अर्कोतिरबाट झापाकै सरिता प्रसाईंले काउन्टर गरिन् ।

‘यता हुनुहुन्छ शेखर कोइराला । हामी पनि यतै छौं’ प्रसाईंले भनिन्, ‘ठूला कुरा नगर्नुस् । पार्टीमा मत राख्न पाइँदैन ?’ 

लिम्बुले पार्टीका काम गर्ने तर, सामाजिक सञ्जालबाट मात्रै राजनीति गरेको भन्दै आक्रोश पोखेकी थिइन् ।

केन्द्रीय सदस्य नगिना यादव खुलेरै बालकृष्ण खाँण, मोहनबहादुर बस्नेत र दिपक खड्कामाथि अन्याय भएको बताइन् । ‘हाम्रा आदरणीय दाइहरू बालकृष्ण खाँण, मोहनबहादुर बस्नेत र दीपक खड्कामाथि अन्याय भएको छ,’ यादवले भनिन्, ‘यस्तो अन्याय हुँदा हेरेर मजा मान्ने कि बोल्ने ? उहाँहरूको पक्षमा बोलेर पार्टीले जनमत बनाउुपर्छ ।’

चीनकाजी श्रेष्ठले सहमहामन्त्रीभन्दा कोषाध्यक्षलाई मर्यादामा किन माथि राखेको भन्दै प्रश्न उठाए । तर, कांग्रेसले यो विषय मिलाइसकेको एक नेताले जानकारी दिए ।

गण्डकीका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्र पाण्डेले कुनै पनि हालतमा राइड सेयरिङलाई लागू गरेरै छोड्ने बताएका थिए । 

‘राइड सेयरिङको विषय जनताको हितमा छ । केही व्यवसायीको स्वार्थमा हामी यो अडानबाट पछाडि फर्किदैनौं,’ पाण्डेले भने, ‘हामीलाई अदालतबाट अवरोध छैन । अब गर्छौं ।’

केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टीमा युवा प्रतिनिधित्व बढाउन ४० वर्ष मुनिका २० प्रतिशत युवालाई अवसर दिन माग गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्