३२ असार २०८३, बिहीबार

फूटबलको जर्मन एरा अफिसियल्ली ओभर !

असार १६, २०८३
काठमाडौं
फूटबलको जर्मन एरा अफिसियल्ली ओभर !
Photo : AFP

विश्वकप इतिहासलाई नै नयाँ मोड दिने नतिजा यही थियो । १२ वर्षपछि पहिलोपटक फिफा विश्वकपको नकआउट चरण खेलेको चारपटकको विश्वविजेता जर्मनी सोमबार बोस्टन स्टेडियममा १–१ को निरस बराबरीपछि पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजीत भयो ।

विश्वकपको इतिहासमा जर्मनी यसअघि कहिल्यै पेनाल्टी सुटआउटमा हारेको थिएन । तर, यो टोली जर्मनीका स्वर्णिम दिनहरूको छायाँ मात्र देखियो ।

सन् १९५४, १९७४, १९९० र २०१४ का विश्वविजेता टोलीहरूले यस्तो पाराग्वेमाथि जीत निकाल्ने उपाय अवश्य भेट्थे, किनभने यही पाराग्वे समूह चरणको पहिलो खेलमा अमेरिकासँग ४–१ ले पराजीत भएको थियो र उत्कृष्ट आठ तेस्रो स्थानमध्ये सातौं हुँदै अन्तिम ३२ मा पुगेको थियो ।

जर्मनीलाई सम्भावित उपाधि दाबेदारका रूपमा हेरिनुको मुख्य कारण उनीहरूको विगतको गौरवशाली इतिहास थियो । तर, जुलियन नागेल्समान (प्रशिक्षक)को नेतृत्वमा रहेको वर्तमान जर्मन टोली त्यो विरासतको फिक्का प्रतिरूप मात्र सावित भयो ।

वास्तविकता के हो भने, यदि जर्मनी कुनै प्रकारले यो चरण पार गरेको भए पनि अर्को चरणमा फ्रान्ससँग पराजीत भएर उनीहरूको यात्रा टुंगिने सम्भावना बलियो थियो । सायद पाराग्वेसँगको यो स्तब्ध पार्ने हारले सन् २०१८ र २०२२ मा समूह चरणमै बाहिरिएको र पछिल्लो दशकभर विश्वकपमा निराशाजनक प्रदर्शन गरिरहेको यो ऐतिहासिक टोलीलाई नयाँ सोचतर्फ धकेल्नेछ ।

नागेल्समानले भने, 'यदि पहिलो चरणपछि नै बाहिरिनुपर्छ भने त्यो जर्मन फूटबलका लागि पर्याप्त होइन । यो लगातार तेस्रो पटकको बहिर्गमन हो, त्यसैले अब हामी विश्वका शीर्ष श्रेणीका टोलीहरूमा पर्दैनौँ ।'

जर्मनी आफ्नो विश्वकप इतिहासकै खराब नतिजामध्ये एकको समीक्षा गरिरहेको बेला पाराग्वेले सम्भवतः आफ्नो सबैभन्दा ठूलो उपलब्धि हासिल गर्‍यो ।

प्रतियोगिताको बाँकी यात्रा जस्तोसुकै भए पनि पाराग्वेका लागि ‘बोस्टन’ सधैँ अविस्मरणीय रहनेछ ।

सोमबार जर्मनीसँग खेल्नुअघि पाराग्वेले विश्वकपको नकआउट चरणमा कहिल्यै गोल गरेको थिएन । तर, हुलियो एन्सिसोले त्यो इतिहास तोडे । त्यसपछि पाराग्वेले अनुशासित र दृढ रक्षात्मक प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो । दोस्रो हाफ र अतिरिक्त समयमा लगातार विपक्षीका प्रहार रोक्दै बिताएका होसे कानालेले निर्णायक पेनाल्टी गोल गर्नु पनि उपयुक्त अन्त्य बन्यो ।

निर्णायक पेनाल्टी जाल चुम्नेबित्तिकै रातो–सेतो जर्सी लगाएका पाराग्वेका समर्थक भावुक भएर रोए । अर्कोतर्फ, उच्च अपेक्षासहित प्रतियोगितामा आएको जर्मनीका खेलाडीहरू मैदानको बीचमा घुँडा टेकेर निराश बने ।

यो प्रतियोगितापछि जर्मनीको प्रदर्शनमाथिको समीक्षा नागेल्समानका लागि सहज हुने छैन ।

पूर्व एफसी बायर्न म्युनिखका प्रशिक्षक नागेल्समानले भने, 'सायद हामीले ठूलो परिवर्तन गर्नुपर्नेछ । भविष्यका लागि केही समाधान खोज्नुपर्छ । आज विस्तृत रूपमा बोल्दिनँ, तर केही कुरा अवश्य परिवर्तन गर्न आवश्यक छ ।'

उता पाराग्वेले भने आफ्नो लक्ष्य पहिले नै हासिल गरिसकेको छ ।

अब अर्को चरणमा किलियन एम्बाप्पे सम्मिलित फ्रान्ससँग खेल्नुपर्ने हुन सक्छ, तर त्यसले धेरै अर्थ राख्दैन । छनोट चरणमा ब्राजिल र अर्जेन्टिनालाई हराएको पाराग्वेले आफ्नो उपलब्धिमा अर्को ऐतिहासिक जीत थपेको छ । विश्वकपमा जर्मनीलाई हराएको दिन पाराग्वेका समर्थकहरूले जीवनभर सम्झिरहनेछन् ।

पाराग्वे अघि बढिरहेको छ भने जर्मनीका लागि आत्मसमीक्षाको कठिन यात्रा अब शुरू भएको छ ।

पहिलो चरणमा जर्मनीले सर्वाधिक १० गोल गरेको थियो र समूह ‘ई’ को शीर्ष स्थानमा पनि रह्यो । तर त्यसबेलादेखि नै टोलीको कमजोरी देखिन थालेको थियो । कुरासाओ, आइभोरी कोस्ट र विशेषगरी इक्वेडरसँगको हारमा टोलीले चिन्ताजनक प्रदर्शन गरेको थियो ।

नागेल्समानले आफ्नो टोलीले पाराग्वेलाई हराउन पर्याप्त अवसर सिर्जना गरेको दाबी गर्दै अतिरिक्त समयमा जोनाथन टाहको हेडरलाई भीएआर जाँचपछि अमान्य घोषित गरिएको निर्णयलाई “ठट्टा” भने । तर यो भाग्यको खेल मात्र थिएन । पाराग्वेले पहिलो हाफमै अग्रता लिएको थियो र काई हाभर्ट्जको बराबरी गोलबाहेक जर्मनीलाई प्रभावकारी रूपमा नियन्त्रणमा राख्यो ।

यो खेलअघि नै नागेल्समान र उनका खेलाडीहरूको आलोचना भइरहेको थियो, अब त्यो झन् चर्किने निश्चित छ ।

विशेषगरी पहिलो हाफ जर्मनीका लागि अत्यन्तै निराशाजनक रह्यो ।

आइतबारको पत्रकार सम्मेलनमा नागेल्समानले पाराग्वेलाई “असहज प्रतिद्वन्द्वी” भनेका थिए, र मैदानमा पाराग्वे त्यही साबित भयो । प्रशिक्षक गुस्ताभो अल्फारोको टोलीले गहिरो रक्षात्मक रणनीति अपनायो, खेललाई सकेसम्म सुस्त बनायो र हरेक अवरोधमा समय खर्च गर्‍यो ।

जर्मनीले खेलको लय समात्न सकेन । खेल शुरू भएको केवल ३० सेकेन्डमै पाराग्वेले अवसर सिर्जना गर्दा गोलकिपर मानुएल नोयरले जुनियर अलोन्सोको प्रहार बचाउनुपरेको थियो ।

त्यसपछि पाराग्वेले पहिलो हाफको अन्त्यतिर मात्र फेरि आक्रमण गर्‍यो । मातियास गालार्साको उत्कृष्ट दौडपछि आएको क्रसलाई एन्सिसोले हेडमार्फत गोलमा परिणत गरे ।

प्रतियोगिताअघि नै जर्मनीको रक्षा पंक्तिमाथि प्रश्न उठेको थियो, र टोलीले चार खेलमध्ये एउटामा पनि क्लिन सिट राख्न सकेन । आक्रमणतर्फ पनि पहिलो हाफमा लगभग ८० प्रतिशत बल नियन्त्रणमा राखे पनि जर्मनीको ‘एक्सपेक्टेड गोल’ (एक्सजी) केवल ०.१४ रह्यो, जुन पछिल्लो ६० वर्षका विश्वकप नकआउट खेलहरूमध्ये दोस्रो सबैभन्दा कमजोर प्रदर्शन थियो ।

फक्सबरोको मध्यान्हको गर्मीले जर्मनीको आक्रमणको गति सुस्त देखिएको थियो । दोस्रो हाफमा जोशुआ किमिख मिडफिल्डमा फर्किएपछि केही सुधार देखिए पनि पाराग्वेको रक्षापंक्ति कहिल्यै पूर्ण रूपमा दबाबमा परेन । पेनाल्टी सुटआउट शुरू हुनुअघि नै जर्मनी निराश भइसकेको थियो ।

इतिहासमा पेनाल्टीमा अत्यन्त सफल मानिने जर्मनीका खेलाडीहरू यसपटक आत्मविश्वासहीन देखिए । हाभर्ट्ज र निक वोल्टेमाडे दुवैको प्रहार गोलकिपर ओरलान्डो गिलले बचाए ।

पाराग्वेले पनि जीत सुनिश्चित गर्ने दुई अवसर गुमायो । तर जब जोनाथन टाहले जर्मनीलाई पुनः खेलमा फर्काउने मौका पाए, उनले पेनाल्टी धेरै माथि प्रहार गरे ।

त्यसपछि खेलभर उत्कृष्ट प्रदर्शन गरेका क्यानालेले तेस्रो अवसरमा कुनै गल्ती नगरी पाराग्वेलाई ऐतिहासिक जीत दिलाए ।

ESPN FC बाट

salt training

कमेन्ट गर्नुहोस्