
पराग्वेका राष्ट्रपति सान्टियागो पेन्याले आफ्नो देशको फुटबल टोली फिफा विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको खुसीयालीमा मंगलबार राष्ट्रिय बिदा घोषणा गरेका छन् ।
विश्वकपमा जर्मनीमाथि हासिल गरेको अप्रत्याशित जितको खुसीयाली मनाउन उनले एक दिन बिदाको घोषणा गरेको रोयटर्सले जनाएको छ ।
नेपाली समयअनुसार मंगलबार बिहान भएको खेलमा दक्षिण अमेरिकी टोली पराग्वेले चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले स्तब्ध पारेको थियो । निर्धारित र थप गरिएको समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । यसलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेरमध्ये एक मानिएको छ।
जितको खुसी साट्दै राष्ट्रपति पेन्याले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर)मा बिदाको निर्णयमा हस्ताक्षर गरिरहेको तस्वीर पोस्ट गर्दै लेखेका छन्, 'आज, सिंगो देश उत्सव मनाइरहेको छ। यो जित यस्तो टोलीको हो, जसले हाम्रो पहिचानको सबैभन्दा गहिरो अंशलाई प्रतिनिधित्व गर्छ । पराग्वेली जनताको त्यो साहस, विश्वास र शक्ति, जसले कहिल्यै हार मान्दैन।'
राष्ट्रपति पेन्याले सामाजिक सञ्जालमा सेयर गरेको सरकारी आदेशको पाठमा पराग्वेको यो जित खेलकुदभन्दा धेरै माथि रहेको र यसले राष्ट्रव्यापी उत्सवलाई न्यायोचित ठहराएको उल्लेख छ।
विश्वकपमा जर्मनीविरुद्ध आश्चर्यजनक नतिजा निकालेर बिदा घोषणा गर्ने पराग्वे दोस्रो दक्षिण अमेरिकी देश बनेको छ। यसअघि गत हप्ता मात्रै इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले पनि समूह 'ई' को खेलमा जर्मनीलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेपछि आफ्नो देशमा राष्ट्रिय बिदाको घोषणा गरेका थिए।