
प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित बुटवलमा देशकै ठूलो र सुविधासम्पन्न अस्पताल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ ।
पश्चिम क्षेत्रमा उपचारको प्रमुख गन्तव्य बनेको बुटवलमा १२ सय शय्या (बेड) को १२ तले लुम्बिनी प्रादेशिक हस्पिटल भवन निर्माणको भौतिक प्रगति १० महिनामा २६ प्रतिशत पुगेको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा निर्माणाधीन अस्पताल १५ भदौ २०८१ मा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका थिए । ११५ वर्ष पुरानो अस्पतालका पुराना संरचना हटाएर नयाँ भवन निर्माण जारी छ ।

नारायणी पश्चिमको स्वास्थ्य क्षेत्रमा ‘गेम चेञ्जर’ परियोजना रूपमा हेरिएको अस्पताल भवन निर्माण सम्पन्न भएपछि देशकै सरकारी अस्पतालमध्ये अग्लो र ठूलो हुने अस्पताल प्रशासनको दाबी छ ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले सरकारले समयमा अस्पतालको रकम भुक्तानी गर्न सकेको खण्डमा निर्धारित मितिभन्दा अघि नै निर्माण सक्ने दाबी गरे ।
‘अस्पताल निर्माणको ठेक्का मिति आगामी वि.सं. २०८५ पुससम्म हो,’ प्रमुख इन्जिनीयर समेत रहेको पोखरेल भन्छन्, ‘बजेट पर्याप्त विनियोजन गर्ने सामर्थ्य राखे हामी तीन वर्षभित्र निर्माण गरेर हस्तान्तरण गर्ने पक्षमा छौं । सरकारले कसरी हुन्छ, बजेट अभाव हुन दिनुभएन ।’ अहिलेसम्म मुख्य भवनको आधा हिस्सा र दोस्रो बेसमेन्टको ढलान सकिएको छ । त्यस्तै, क्यान्सर भवनको रेफट फाउन्डेसनको काम पनि सकिएको छ । हालसम्मको प्रगति हेर्दा ‘लिड’ गरिएको पोखरेलको भनाइ छ । अस्पतालका लागि संघीय सरकारसँग पनि थप बजेटको व्यवस्था गरिदिन प्रदेशले आग्रह गरेको छ ।

निर्माणको काम प्रतिष्ठित अन्तर्राष्ट्रिय (भारतीय) कम्पनी क्यापासाइट–आशिष–रेलिग्रेट भेञ्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा गरिरहेको छ । निर्माण कम्पनीका १० जना विशेष प्राविधिक सदस्यसहित २२० जना कामदार दैनिक विभिन्न काममा खटिएका छन् । दिन/रात नभनी सिफ्ट र सेफ्टी मिलाएर धमाधम काम गरिरहेका छन् ।
कामदारमा ‘सेफ्टी फस्ट’ को मापदण्ड लगाएर काममा खटाइएको छ । पश्चिम नेपालका नागरिकले उपचारका लागि धाउने प्रादेशिक अस्पतालमा जनशक्तिको अभाव, सरोकारवालाको बेवास्ता र उपचारमा ढिलासुस्तीले बिरामी र आफन्तले सास्ती भोग्दै आएका छन् । अस्पताल बनेपछि सबै रोगको उपचार एकै ठाउँमा हुने नागरिकले आशा लिएका छन् । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारूले नयाँ भवन बनेपछि देशकै नमूना विशेषज्ञ अस्पतालमा हुने बताए ।

देशकै प्रमुखमध्ये एक आर्थिक तथा व्यापारिक केन्द्र बुटवलमा ठूलो र सुविधासम्पन्न अस्पताल बनेपछि चितवनपश्चिमको उपचारको ‘हब’ बन्ने निश्चित भएको मन्त्री सारूको दाबी छ ।
अहिले पनि प्रादेशिक अस्पतालले लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा सीमावर्ती भारतीय क्षेत्रका गरी वार्षिक करिब ५० लाख नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालको रेकर्डमा उल्लेख छ ।
अस्पताल २०७५ मा प्रदेश सरकारमातहत आएको थियो । अस्पतालमा दैनिक १ हजार ५०० सेवाग्राही उपचारका लागि आउने गर्छन् । नयाँ भवनसँगै सेवा विस्तारले सहज र सुलभ सेवा पाएर यो संख्या २ हजार बढी पुग्ने अनुमान छ ।

अहिले पनि अस्पतालले विभिन्न सेवाहरू विस्तार गर्दै अघि बढिरहेको छ । बहुउपचारीय ‘गेम चेन्जर’ र रणनीतिक महत्त्वको आयोजना भएकाले निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । निर्माण शुरू हुनुअगाडि लामो समयसम्म पटक–पटक विवादले अलमलमा परेको थियो । अस्पतालको मुख्य भवन ‘अन्डरग्राउन्ड’सहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि ‘अन्डरग्राउन्ड’सहित पाँच तलाको अलग्गै भवन ‘ओन्कोलोजी ब्लक’ बन्नेछ ।
गुरुयोजना अनुसार अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रूपैयाँ बराबरको लागत अनुमान गरिएको थियो । तर, निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँमा ५ वर्षमा निर्माण सक्ने गरी २६ पुस २०८० मा भवन निर्माणको ठेक्का पाएको थियो । निर्माण कम्पनीले अस्पतालका लागि आवश्यक सम्पूर्ण उपकरणहरू पनि किनेर ‘इन्टेरियर सोलुसन’सहित हस्तान्तरण गर्नेछ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको ६ बिगाहा १२ कठ्ठा जग्गामा अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण भइरहेको हो । हालको ३०० (समितिबाट थप भएको २०० सहित ५००) शय्याको अस्पताललाई विस्तार गरी न्यूनतम् १ हजार २०० शय्याको क्षेत्रीय बहु–अनुशासनात्मक अस्पतालमा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ । विशेषज्ञ सेवासहितको अत्याधुनिक अस्पताल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले यसअघि वि.सं. २०७७ मा गुरुयोजना निर्माण गरेको थियो ।
यो एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबै प्रकारका सुविधासहितको विशेष अस्पताल बन्ने प्राधिकरणका साइड इन्जिनियर शंकर सुवेदीले बताए । नयाँ बन्ने अस्पताल भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा (ओपीडी), आपतकालीन (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष रहनेछन् ।

साथै, विशिष्टिकृत ग्यास्ट्रो, न्यूरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट व्यवस्थित तरिकाले प्रदान गर्ने गरी संरचना निर्माण हुनेछन् । हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोस्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिनेछ । भवनको माथि हेलिप्याडसमेत रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।
यो अस्पतालले लुम्बिनी प्रदेशको प्रमुख प्रादेशिक अस्पतालको रूपमा सेवा प्रदान गर्दै आइरहेको छ । ३०० बेड सरकारी र १०० बेड अस्पताल विकास समितितर्फ गरी ४०० बेड स्वीकृत भएको भए पनि अहिले ५२४ बेड सञ्चालनमा छन् । यस अस्पतालमा बहिरंग सेवाहरूमा जनरल मेडिसिन, न्यूरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोग, आँखा रोग, युरोलोजी, न्यूरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरी, मनोरोगको उपचार सञ्चालनमा रहेका छन् ।

मातृशिशुसम्बन्धी सम्पूर्ण उपचार सेवा हुने गरी प्रसूति तथा स्त्री रोग उपचार र बाल रोग उपचारका लागि बेडको व्यवस्थासहित विभागमा ओपीडी, इमर्जेन्सी, डेलिभरी कक्ष, खोप, परिवार नियोजन समेटेर मातृशिशु क्लिनिक, नवजात शिशु सघन उपचार कक्ष, बच्चाहरूका लागि सघन कक्षसहितको भवन निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ । साथै, अन्य सेवाहरू फार्मेसी, प्याथोलोजी, एक्स–रे, सिटीस्क्यान, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, क्लोलोनोस्कोपी, ईसीजी, ओपीजी, इकोकार्डिओग्राम, आईसीयू, सामाजिक सेवा इकाइ, विस्तारित अस्पताल सेवा पनि उपलब्ध छ ।
अस्पतालको अक्सिजन अभावलाई मध्यनजर गर्दै अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । कोरोना महामारीको समयमा भएको आपतकाललाई मध्यनजर गर्दै अहिले अस्पतालमा स्तरीय सेवा विस्तारको काम भइरहेको प्रादेशिक अस्पतालका शाखा अधिकृत राजन केसीले बताए । क्याबिन अभावलाई हटाउन सुविधा सम्पन्न क्याबिनहरू निर्माण सम्पन्न भई सञ्चालनमा रहेको र सेवा विस्तारका साथै सहज सेवा प्रवाहमा ध्यान दिइएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।

मुख्यमन्त्री भएर बुटवल आएदेखि नै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रादेशिक अस्पताललाई स्तरवृद्धि गरी सुविधासम्पन्न बनाउने सोच बनाएका थिए । अस्पतालको गुरुयोजना तथा भवनको ‘ड्रोइङ’ र ‘डिजाइन’ पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव पोखरेल नेतृत्वको सरकारले पारित गरेको थियो ।
प्रदेश सरकारले चालू र आगामी आर्थिक वर्ष अस्पतालका लागि १/१ अर्ब रूपैयाँ विनियोजन गरेको छ । प्रदेशको महत्त्वपूर्ण आयोजना भएको र प्रभावकारी रूपमा काम हुनेगरी ठेक्का अघि बढेकाले रकम अभाव नहुने सरकारले बताएको छ ।
अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाडौं विश्वविद्यालयअन्तर्गतको ‘काठमाडौं यूनिकसल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ माध्यमबाट सुपरिवेक्षणको जिम्मा दिइएको छ । प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले डिजाइन र निर्माण सुपरिवेक्षण गरिरहेको छ । अस्पताललाई प्राक्टिलक सेन्टर बनाएर मेडिकल कलेज बनाउने भनी प्रदेशको नीति कार्यक्रमले पनि बोलेको छ ।