
छैटौँ मनु चाक्षुषको अन्त्यमा भएको जलप्रलयपछि काश्यपसागर (जसलाई त्यतिबेला क्षीर सागर भनिन्थ्यो)को तटीय क्षेत्रमा १२ भाइ आदित्य थिए । उनीहरूलाई अदितीका सन्तान भएकाले संयुक्तरूपमा आदित्य भन्ने गरिन्थ्यो । उनीहरूका बाबुको नाम कश्यपप्रजापति थिए । उनकै नामबाट क्षीरसागरलाई काश्यपसागर भन्ने गरिएको पाइन्छ । १२ भाइ आदित्यमा जेठा वरुण र कान्छा सूर्य थिए । यिनै वरुणलाई कतै ब्रह्मा भनिएको पाइन्छ कतै नारायण । सागरको आसपास (शायद टापु)मा बस्ने भएकाले उनलाई नारायण भनिएको अनुमान छ । किनभने पानीलाई नार र नारमा (आसपासको टापु)मा बस्ने भएकाले नारायण भनिन्छ । शायद ब्रह्मा चाहिँ जेठा भएकाले वा प्रलयपछि सर्वप्रथम जलको व्यवस्थापनगरी उत्पादन लायक बनाएकाले भनिएको हुनुपर्छ ।
वरुणले काश्यप सागरआसपासको पर्वतीय इलाकामा नगर बसाएका थिए । तत्कालीन समयमा सुषा नामले ख्याति पाएको त्यस नगरलाई पौराणिक ग्रन्थहरूमा अमरावती भन्ने गरिएको पाइन्छ । वरुणका वंशजले त्यस क्षेत्रमा नयाँ सभ्यता बसाए, जुन हाल सुमेर सभ्यताको नामले परिचित छ । सूर्यका वंश भने सोही १२ भाइ आदित्यमध्येका कान्छा सूर्यका पुत्र वैवस्वतका कारण चलेको हो, जुन हाल सातौँ मनुको नामले परिचित छन् । यिनै मनुका सन्तान एउटा हाँगो युनानतिर लागे, जसले त्यहाँका निवासी भूमध्यसागरीय जातिलाई हटाएर युनानी सभ्यता कायम गरेका थिए । अर्काे हागो ऐलभूमितिर लागे, जुन भूमिको नाम मनुपुत्री ईलाको नामबाट कायम भएको थियो । यिनी ईलाको साथमा विवाह भएपछि चन्द्रपुत्र बुध पनि त्यतैतिर आएर बस्न लागे । यिनै सूर्य र चन्द्रका वंशजहरूपछि गएर सूर्यवंशी र चन्द्रवंशीको नामले परिचित भए, जसले ऐलभूमिमा आर्यसभ्यताको निर्माण गरेका थिए ।
यसरी करिब एउटै समयमा सुषाक्षेत्रमा वरुणको वंशजले सुमेर सभ्यता तथा सूर्यपुत्र मनुवंशजका एउटा हाँगोबाट युनानीभूमिमा युनानी (पश्चिमी) सभ्यता र अर्को हागोबाट ऐलभूमिमा आर्यसभ्यता निर्माण भएको देखिन्छ । यिनै ऐलभूमिका आर्यहरू करिब ई. पू. १८०० तिर आफ्नो पैतृकभूमि ईलावर्तबाट सिन्धु उपत्यकातिर प्रवेश गरेको देखिन्छ । त्यतिबेला सिन्धु उपत्यकामा मेसोपोटामियाका समसामयिक जाति बस्ने गर्थे । यी जाति कति व्यवस्थित थिए भन्ने कुरा त्यसक्षेत्रमा उत्खनन् गर्दा भेटिएका पुरातात्विक वस्तुहरूले पुष्टि गर्दछ । आर्यहरूले तिनै जातिहरूलाई हराएर आफ्नो प्रभुत्व कायम गरेका थिए । आर्यहरू यस क्षेत्रमा आएपछि पहिलेकाले मान्ने गरेका देवलाई शिष्न देवता भनेर घृणा गर्थे तर, पछि गएर उनीहरू आफैं उनकै उपासक हुन पुगेका थिए ।
जे होस् ऐलभूमि इलावर्तबाट आएका आर्यहरूको पहिलो बसाइ काबूल र स्वात उपत्यका रहेको पाइन्छ । दोस्रो बसाइ सप्तसिन्धु क्षेत्र रहेको देखिन्छ । तेस्रो बसाइ भने फैलिर गङ्गायमुनाको मैदानसम्म पुगेको पाइन्छ । वेदमन्त्रकर्ता ऋषिहरूको जन्म यही दोस्रो बसाइको क्रममा भएको पाइन्छ, जुन विश्वामित्र, वशिष्ठ आदि ऋषिहरूको नामले परिचित छन् । यसको अर्थ वेदमन्त्र कर्ता ऋषिहरू उनीहरू मात्र हुन् भन्ने होइन । अन्य धेरै ऋषिहरू रहेका छन्, जुन केही उनीहरूकै समकालीन र केही पछिका रहेका छन् । वेदमन्त्रका रचनाकाल भने ई. पू. १५०० देखि १००० सम्मको समय मानिएको छ ।
वेदमन्त्र रचना गर्ने ऋषिहरू केही पारिवारिक र केही एकाकी रहेका छन् । पारिवारिक ऋषिमा अङ्गिरा र विश्वामित्रको नाम सर्वाधिक अगाडि देखिन्छ । अङ्गिराकुलमा छ पुस्ताको योगदान देखिन्छ, जसमा बृहस्पति, भरद्वाज, नर, सङ्कृति, गौरवीतिलगायत पर्दछन् । उनीहरू क्रमश: ई. पू. १५२० देखि १४२० बीचका देखिएका छन् । (राहुल सांकृूत्यायन, दर्शनदिग्दर्शन, नेपाली अनुवाद, नारयणप्रसाद आचार्य) त्यस्तै, विश्वामित्र कुलमा चार पुस्ताको योगदान पाइन्छ, जसमा विश्वामित्र आफैं छोरा मधुच्छन्दा, नाति जेता र पनाति अघमर्षण रहेका छन् ।
वेदमा ऋग्वेदलाई सर्वाधिक पुरानो मानिएको छ । त्यसपछिको वैदिक संहिता यजुर्वेद हो भने तेस्रोमा सामवेद संहिता रहेको छ तर, सामवेद संहितामा ७५ वटाबाहेक अन्य मन्त्र ऋग्वेदबाटै लिइएको पाइन्छ । अथर्व वेद भने नयाँ वैदिकसंहिता हो, जसको रचना बुद्धकालपछि भएको पाइन्छ । किनभने बुद्धकालसम्म तीनवेदकै चर्चा हुने गरिएको पाइन्छ, जसलाई त्यतिबेला त्रयी भनिन्थ्यो ।
यसरी ई. पू. १५०० देखि १००० सम्मको पाँचसय वर्ष वेदमन्त्र रचनामा लागेको देखिन्छ । त्यसपछि ब्राह्मणग्रन्थको युग आउँछ, जुन ई. पू. १००० देखि ६०० को बीचमा भएको अनुमान छ । उपनिषद् ग्रन्थको रचनाकाल भने ई. पू. ७०० देखि १०० को बीचमा भएको पाइन्छ । उपनिषद् ग्रन्थहरू धेरै छन् । तीन मुख्यमुख्य १३ वटा मानिएका छन्, जसमा ईशोपनिषद्, केनोपनिषद्, कठोपनिषद्, मुण्डकोपनिषद्, माण्डुक्योपनिषद्, प्रश्नोपनिषद्, ऐतरेयोपनिषद्, तैत्तिरीयोपनिषद्, छान्दोज्ञोपानिषद्, बृहदारण्यकोपनिषद्, श्वेताश्वतरोपनिषद्, कौषीतकी उपनिषद् र नृसिंहतापिनी उपनिषद् पर्दछन् । यीमध्ये ऋग्वेदीय उपनिषद्मा ऐतरेयोपनिषद् र कौषितकी हुन् । यजुुर्वेदीय उपनिषद्मा बृहदारण्यकोपनिषद् र ईशोपनिषद रहेका छन् । छान्दोज्ञोपनिषद् र केनोपनिषद् सामवेदीय उपनिषद् र प्रश्नोपनिषद्, मुण्डकोपनिषद्, माण्डुक्योपनिषद् अथर्ववेदीय उपनिषद् हुन् ।
मोटामोटीरूपमा उपनिषद् ग्रन्थको रचनाकाल चार समूहमा विभक्त भएका छन् । यिनमा प्राचीनकालका उपनिषद्मा ईश, छान्दोज्ञ र बृहदारण्यक मानिएका छन्, जसको रचनाकाल ई. पू. ७०० को आसपास मानिएको छ । द्वितीयकालका उपनिषद्मा ऐतरेय र तैत्तिरीय रहेका छन्, जसको रचनाकाल ई. पू. ६००–५०० को आसपास रहेको अनुमान गरिएको छ । तृतीय कालका उपनिषद्मा प्रश्न, केन, कठ, मुण्डक, माण्डुक्य रहेका छन्, जसको रचनाकाल ई. पू. ५००–४०० को आसपास रहेको अनुमान छ । चतुर्थ कालको उपनिषद्मा कौषीतकि, मैत्री, श्वेताश्वतर उपनिषद् रहेका छन्, जसको रचनाकाल ई. पू. २००–१०० को आसपास रहेको अनुमान गरिएको छ ।
यिनमा प्रथम कालका उपनिषद्हरूले कर्मकाण्डको समर्थन गरेका छन् भने पछिका उपनिषद्हरूमा त्यसको विरोध रहेको पाइन्छ । उपनिषद्हरू सबैले ब्रह्मतत्व बुझाउने प्रयास गरेका छन् तर, सबै उपनिषद्को एउटै धारणा भने पाइन्न । केहीले वेदकै एउटा अङ्ग कर्मकाण्डको विरोध गरेका छन्, केहीले समर्थन । समग्रमा उपनिषद् तीन किसिमका छन्, जसमा द्वैत, अद्वैत र त्रैत पर्दछन् । यीमध्ये अद्वैत विशुद्ध ब्रह्मपरक छन् । द्वैतले ब्रह्म र जीव तथा त्रैतले ब्रह्म, जीव र प्रकृतिको कुरा गरेका छन् ।
जे होस् वेद आर्यसभ्यताको मूल आधार हो, जसको रचनामा लामो समय लागेको छ । हाल वैदिक सम्यतामा जेजति दर्शन छन् तिनको आधार वैदिकसंहिताहरू नै हुन्, जसको निर्माणमा आर्यहरूको पसिना बगेको छ । यद्यपि वैदिक मन्त्रहरू दर्शनको आधार होइनन् । पछिल्ला कालमा रचना भएको दशौँमण्डलको नासदीय सूक्तमा दर्शनका केही आधार भेटिए पनि अन्यत्र भेटिन्न भन्ने अभिमत पनि कहीँकतै पाइन्छ तर, उपनिषद्को आधार यिनै वैदिकसंहिता नै भएकाले तिनमा दर्शनको आधार पाइन्न भन्दा वैदिक संहिताहरूप्रति अन्याय हुन्छ जस्तो लाग्छ । हो, वैदिक मन्त्रहरू विभिन्न व्यक्तिले विभिन्न समयमा रचना गरेकाले सबैमा दार्शनिक आधार पाउन नसकिएला र सबै उत्तिकै ओजिला छन् भन्न पनि नसकिएला तर, यसैको आधारमा सबै मन्त्रलाई एउटै आँखाले हेर्नु भने राम्रो होइन ।