०२ असार २०८३, मंगलबार
छोरीको खुसी खोजिरहेकी ओमकला

श्रवणदृष्टिविहीन छोरीको हेरचाहमा समर्पित आमा

असार २१, २०८२
बुटवल
श्रवणदृष्टिविहीन छोरीको हेरचाहमा समर्पित आमा

रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ मंगलापुरकी ओमकला कुमाल बिहान सबेरै उठ्छिन् । त्यसअघि पनि उनी राति तीन/चारपटक उठेर छोरी जानकी चौधरीको अवस्था बुझ्छिन् । ११ वर्षकी छोरीले दिसापिसाब गरेर भरिएको ‘डाइपर’ फेर्छिन् ।

छोरी जानकीलाई हरपल आमाको सहारा चाहिन्छ । उनी हिँडडुल गर्न त परको कुरा शारीरिक चालसमेत गर्न सक्दिनन् । छोरीको बढ्दो उमेरसँगै हरेक दिन ओमकलालाई आफ्नो एक्लो सन्तान अन्य बच्चाजस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ । तर, जानकी सामान्य हुन सक्दिनन् । ओमकलाकी एक्लो सन्तान छोरी श्रवणदृष्टिविहीन हुन् । पीडा, संघर्ष र वेदनामा जेलिएर एकले अपाङ्गता भएकी छोरीलाई हुर्काइरहेकी छन् ।

वि.स. २०६६ मा मागी विवाह गरेकी ओमकलाले पाँच वर्षपछि विस.२०७१ मा पहिलो सन्तानका रूपमा जानकीलाई जन्म दिएकी थिइन् । जन्मिँदै फरक देखिएकी उनलाई मुटुमा प्वाल परेको समस्या देखियो । छोरीको उपचारमा विभिन्न अस्पताल धाइन् । ‘मुटुको प्वाल परेको समस्या त निको भयो तर, उनलाई सीपी (जन्मिँदै मस्तिष्क सम्बन्धी समस्या)सहितको अपाङ्गताको समस्या देखियो । छोरी हुर्किंदै गइन्, त्यो पनि श्रवण र दृष्टिबिहीन’ । जन्मिँदै दिमागमा असर गरेपछि मानसिक सन्तुलन पनि ठीक छैन । छोरीको दिमागले समेत काम गरेको छैन भन्ने उनले एक वर्षपछि मात्रै थाहा पाइन् । ‘राम्रै होलाजस्तो मान्थे तर, पछि कतिखेर हाँसेको हाँसै गर्न थाल्दा मनमा शंका लाग्न थाल्यो । कहिले रोएको रोयै गर्थ्यो,’ उनी भन्छिन् ।

श्रवण र दृष्टिविहीन अपाङ्गता व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन्छ । श्रवण दृष्टिविहीन व्यक्तिहरू पूर्ण अशक्त अपाङ्तामा पर्छन् । बढीजसो यो अपाङ्ता जन्मजात हुने रहेको उनको भनाइ छ । उनीहरूलाई सिकाउन सकिने एकमात्र भाषा स्पर्श भाषा हो ।

ओमकलाको जीवन अहिले २४सैँ घण्टा छोरी जानकीसँग गुज्रिरहेको छ । ‘दिसापिसाब आयो भने चलबलाउँछिन् । भोक लाग्यो भने रून्छिन् । पानी तिर्खा लाग्यो भने जिब्रो निकालेर संकेत गर्छिन्,’ उनी भन्छिन्, ‘म आमा हुँ, उसका सबै इसारा बुझ्ने शक्ति भगवानले नै दिँदा रहेछन् ।’

छोरीको हेरचाहभन्दा अरू मानिसले गर्ने टिप्पणीले कुमाललाई दु:खी बनाउँछ । छोरीको उमेर बढेसँगै जानकीको अहिले आएर खुट्टाका पैतला समेत बाङ्गिएका छन् ।

उनलाई सबैभन्दा चिन्ता छोरीकै मात्र छ । छोरी यस्तो बन्नुको कारणबारे अझै पत्तो लागेको छैन । ‘सधै डाइपरमै दिसापिसाब,  खाना खुवाइदिने, लुगा लगाइदिने, नुहाइदिने सबै काम मैले नै गर्नुपर्‍यो,’ उनले सुनाइन्, ‘उसको लागि समय खर्चिंदा अरू काम बित्ने गर्छ । अरू काम नगरे खान पुग्दैन, समस्या त कति छन्, कति यो पीडा कहाँ सुनाएर के हुन्छ र ।’

उनलाई पछिल्लो चिन्ता आफू बूढो भएपछि स्याहार कसले गर्ला भन्नेमा छ । असहाय सन्तानको एक्लो स्याहारसुसार सहज छैन । तैपनि उनले छोरीको सेवाका लागि कुनै प्रवाह गरेकी छैनन् । काम नगरी खान पुग्दैन । छोरीलाई झोलजस्तो जाउलो पिलाएर काममा निस्किछन् । उनले छोरीलाई शारीरिक अभ्यास गराइरहेकी हुन्छिन् । छोरीको एउटा सानो प्रगति पनि कुमालको लागि ठूलो जितजस्तो लाग्छ । ‘भगवानले मेरो जीवनमा परीक्षा लिनुभयो,’ उनी भन्छिन्, ‘तर म हार मान्दिनँ । मेरो प्राण रहेसम्म छोरीको जीवनको सारथि बन्नेछु ।’

अहिले उनी श्रवणदृष्टिविहीन संस्थामा जोडिएपछि यस्तै धेरै बच्चाहरू देखेर मन भुलाएकी छन् । उनीहरूको अर्को बच्चासमेत छैनन् । ‘शुरूमा नानी यस्तो छ भनेर योजना बनाइएन,’ उनी भन्छिन्, ‘अहिले आएर मेरो मात्र होइन रहेछ, सबैका यस्ता बच्चा रहेछन । सबैको देब्दा मन भुल्छ ।’ उनलाई झड्काको समस्या पनि छ । श्रवणदृष्टिविहीन भएका बालबालिकालाई हुर्काउने, पढाउनेबारे धेरै जानकारी नरहेको उनी सुनाउँछिन् ।

छोरीको बाँच्ने अधिकार, सम्मान र खुशीका लागि उनले कहिल्यै पछि नफर्किने बताइन् । कतिले अपाङ्गता भएका बच्चा त बोझ हो भनेर सुनाउँछन्, उनी कडा प्रतिवाद गर्छिन् । ‘यो मेरो छोरी हो, भगवानको उपहार हो,’ ओमकला भन्छिन्, ‘समाजको दृष्टिकोण बदल्न श्रवणदृष्टिविहीन अभिभावक समाजमा पनि जोडिएकी छु ।’

अहिले उनी अपाङ्गता भएका बालबालिकाको अभिभावक समूहको पैरवी पनि गर्छिन् । उनको अटल माया र साहसले अपाङ्गता भन्ने शब्दलाई पनि हार मान्न बाध्य बनाइदिएको छ । आफ्नो सन्तानजस्तै विभिन्न कारणले जन्मिने बच्चाका आमाहरूको माया, धैर्य र निष्ठाले उनीहरूलाई उज्यालो भविष्य दिन सकिने उनको भनाइ छ ।

अपाङ्गता भएका बालबालिकासँग जुध्नुपर्ने मानसिक बोझ त एकातिर छँदै छ, अर्कोतर्फ राज्यबाट समेत पर्याप्त सहयोग नपाउँदा यस्ता अभिभावकहरू निरास छन् । यस्ता बालबालिकालाई पर्याप्त शैक्षिक पूर्वाधार र उनीहरूलाई आवश्यक पर्ने उपकरण अभाव छ । अर्को बच्चा जन्माउने इच्छा भए पनि स्वास्थ्य समस्याले नमिलेको उनले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्