
अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्छ दीपेन्द्र चपाइँको जन्मघर । उनी सानैदेखि पर्यटक पदमार्गमा आएको देख्थे,भेट्थे । काका र गाउँका चिनेजानेकाहरू उनै पर्यटकसँग तलमाथि गर्थे ।
एसएलसी दिइसकेपछि काकासँग पछि लागेर उनी पनि पदमार्गमा हिँड्न थाले । १० कक्षापछि खाली समयमा पार्टटाइम जागिर भयो पोर्टरको काम । १५ वर्ष भयो उनी पदमार्गमा विदेशी पर्यटक लिएर आउजाउ गरेको । यसबीच उनले धेरै परिवर्तन देखे, प्राकृतिक र मानवीय दुवै ।
एक दशक अगाडिसम्म सफा हुने पदमार्गमा आजभोलि प्लाष्टिकका फोहोर असरल्ल देखिन्छ । मानवीय कारणले भएको परिवर्तनले उनलाई सताउँछ । पदमार्गमा जथाभावी पुगेको बाटो । पर्यटक हिँड्ने धुलाम्मे बाटो । शान्त जंगलमा बाटोभरि फालिएको प्लाष्टिकका कागज । यी देखेर दीपेन्द्र चिन्तित बन्छन् ।
त्यसैले पनि पदमार्ग हिँड्दा उनीसँग बोरा अनिवार्य हुन्छन् । जसमा उनी पदमार्गमा भएका प्लाष्टिकका फोहोर उठाउँदै हिँड्छन् । सन् २०१६ बाट हो उनले यसरी पदमार्गमा सफा गर्दै हिँडेको ।
वातावरण र जलवायु परिवर्तनको संवेदनशीलतासँग नजिक भएको उनी यही पर्यटन व्यवसायमा आएपछि हो । शुरूमा त पोर्टरबाट नै अनुभव बटुले उनले । पछि, ट्रेकिङ गाइडको तालिम लिए । आधिकारिक रूपमा गाइडको लाइसेन्स पाए । त्यही क्रममा पढाएको कुराले उनलाई गहिरिन बाध्य पार्यो ।
‘कक्षा १२ सकेर ट्रेकिङ गाइडको लाइसेन्स लिँदाखेरि एकजना सरले जलवायु परिवर्तन कसरी भएको छ हिमताल कसरी बनिरहेको छ । स्थानीय जैविक विविधता कसरी बचाउन मिल्छ भनेर क्लास लिनुभएको थियो,’ उनले सम्झिए ।

यो विषयमा गहिरिनका लागि त्यो कक्षा आधार बन्यो उनका लागि । ट्रेकिङ गाइडको लाइसेन्स पाइसकेपछि आफ्नै सहजीकरणमा पर्यटक लैजान मिल्ने भयो । उनले सन् २०१८ उनले ‘गो द हिमालय ट्रेक्स’ कम्पनी खोले । त्यसपछि यस विषयमा विदेशी पर्यटकको राय बुझ्ने र थप जान्ने मौका पाए ।
आक्कलझुक्कल बाटोमा प्लाष्टिक देखे पनि उनको विदेशी क्लाइन्ट सुनाइहाल्थे– ‘हाम्रो देशमा यसरी फाल्दैनौँ गोजीमा वा झोलामा हाल्छौँ।’
वातावरण प्रदूषणको विषयमा उनले बुझ्दै जान थाले । उनीहरूबाटै सिके आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने । खाएर उनीहरूले फोहोर कागज गोजीभित्र हाल्दा दीपेन्द्रले सिके प्लाष्टिक व्यवस्थापनको प्रयास । २०१६ पछि उनी पर्यटक लिएर पदमार्ग जाँदा बोरामा फोहोर उठाउनु अनिवार्य भएको छ, उनका लागि ।
‘२०१६ तिर म र मेरो क्लाइन्ट मिलेर कहिलेकाहीँ फोहोर बोरा टिपेर ल्याएर होटलमा छोड्ने गर्थ्यौं । त्यतिबेला यस्तो सामाजिक सञ्जालमा चार्म थिएन,’ उनले सुनाए, ‘वातावरणमा यसरी फाल्न हुँदैन, राम्रो हुँदैन । त्यो मैले कसरी सिकेँ शिक्षाबाट सिकेँ वा क्लाइन्टबाट नै सिकेँ तर, हामी चाहिँ २०१६ बाट नै मैले उठाउन शुरू गरेको हो ।’
उनी पर्यटक लिएर नेपालका जुनसुकै पदमार्ग पुग्छन् । उनले देखेका छन् जलवायु संकटको प्रत्यक्ष असर हिमालमा । उनले देखेको बढ्दै गरेको हिमतालले सुन्दरता होइन, खतराको घण्टी बजाइरहेको छ । तर, अर्को चिन्ता छ पर्यटकको आगमन बढेसँगै पदमार्गमा थुप्रिएको प्लाष्टिक ।
कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई आन्तिरक पर्यटकले धाने । पदमार्गमा घुम्ने नेपाली पर्यटकको संख्या बढ्यो । वातावरणप्रति आन्तिरक पर्यटकको सचेतना कम भएको उनको भनाइ छ ।

‘यो असरको कुरा गर्दा वृहत् नै छ । नेपाली पर्यटकमा वातावरणप्रति, लोकल कल्चरप्रतिको सचेतना कम छ । नेपाली पर्यटन बढेसँगै असर बढेको छ । पढेकै जान्छौँ तर चेतना कम छ,’ उनी भन्छन् ।
सन् २०२१ मा उनले एन्थ्रोपोलोजिमा स्नातकोत्तर गरे । उनको थेसिसको विषय थियो अन्नपूर्ण पदमार्गमा ‘सोलिड वेष्ट म्यानेजमेन्ट’ । थप गहन अध्ययन गर्ने मौका मिल्यो उनलाई । एउटा चक्लेटको कागज त हो भनेर फालेको फोहोरले वातावरण प्रदूषण गरिरहेको छ ।
‘सोलिड वेष्ट म्यानेजमेन्ट कसरी भइरहेको छ भन्ने विषयमा थेसिस । मेरो आँखाले जुन देख्यो स्थिति अत्यन्तै भयाभव भयो । हुन त हाम्रो देशमा फोहोरमै राजनीति भएको छ । तर, हिमालको फोहोर चाहिँ रोकथाम गर्न सकिन्छ । सहज पनि छ,’ उनले भने ।
स्थानीय निकाय र अन्नपूर्ण संरक्षण क्षेत्रले फोहोर व्यवस्थापनमा धेरथोर काम गरिरहेको छ । तर, अपुग छ । जनस्तरबाट नै सचेतना जरुरी रहेको उनको अनुभव छ । पर्यटनको विस्तारसँग फोहोर शुरू भएको थियो । तर, सानो मात्रामा हुँदा स्थानीय तह वा सम्बन्धित निकायले त्यसलाई व्यवस्थापन गरेका थिए । सानो मात्रामा भएका कारण छायाँमा परेको हुनसक्ने दीपेन्द्र बताउँछन् ।
कोरोना पछाडि उनले पदामार्गमा दुई तरिकाले फोहोर देख्न थाले । एउटा; जहाँ खायो उहीँ फाल्ने आन्तरिक पर्यटकको प्रवृत्ति । अर्को; होटलमा भएका फोहोर उत्पादन व्यवस्थापनको चुनौती । पदमार्गमा फोहोर सही ढंगबाट हुन्छ कि हुँदैन संशय छ ।
‘यसको अवस्था कस्तो छ भने कमजोरी हेर्दै जाँदा जैविक विविधता संरक्षणको कुरा आउँछ । फोहोरका कारण जैविक विविधतामा खलल पुगेको कुरा आउँछ । तीनवटै पक्षले यसलाई अनदेखा गरेको देखिन्छ । संरक्षण क्षेत्रले काम गर्यो तर, दिगो रूपमा सोचेन । समस्या जहाँ थियो त्यही रह्यो,’ उनले दुखेसो पोखे ।
उनी हाल पदमार्गबाट उठाएर ल्याएको फोहोरले दिगो रूपमा काम नगर्ने सुनाउँछन् । फोहोर उठाउनु भन्दा त्यसको सही व्यवस्थापन महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
‘केही बोरा फोहोर टिपेर ल्याइयो होला । कहिलेकाहीँ क्यापियन गरियो होला । तर, दिगो रूपमा काम नगर्दा २० वर्ष पहिला फालिएको प्लाष्टिकको बोत्तल समेत अहिलेसम्म त्यही स्थानमा छ । जुन वातावरण हामीसँग थियो, पहिला खोलानाला वन्यजन्तु कुरा आगामी पुस्ताले पनि देख्न पाउनुपर्छ,’ उनी चिन्तित सुनिन्छन् ।
यसका लागि पर्यटन व्यवसाय, संरक्षण क्षेत्र, स्थानीय तह सबै एकै स्थानमा आएर काम गर्नुपर्ने सुझाउँछन् ।

यसरी पदमार्गमा पर्यटक लिएर पुग्दा फोहोर उठाउँदै हिँडेका दीपेन्द्रलाई हेरेर कोही प्रोत्साहन गर्छन् । कोही असन्तुष्टि पोख्छन् । बाहिरको फोहोर घरमा ल्याएको भन्दे हपार्छन् पनि ।
‘कतिपय स्थानीयले एप्रिसिएट पनि गर्नुहुन्छ । कतिपयले नेपालीले फोहोर गरे भनुहुन्छ । कतिपय रिसाउनुहुन्छ । किन बाहिरको फोहोर घरभित्र ल्याएको हो भन्नुहुन्छ,’ उनले सुनाए ।
त्यसरी रिसाउने होटलका साहुलाई उनी उल्टै सम्झाउन खोज्छन् । बुझाउन तत्पर हुन्छन् । तर, उनीहरूको पनि आफ्नै समस्या छ । दिगो रूपमा फोहोर व्यवस्थापनको उपाय छैन । होटलले पनि जम्मा भएका फोहोर लिएर खुल्ला स्थानमामै व्यवस्थापन गर्ने हो ।
‘हामी होटलमा गएर साहुजीसँग गएर कुरा गर्दा हामीसँग अप्सन छैन भन्नुहुन्छ । दिगो रूपमा फोहोर व्यवस्थापन गर्न उनीहरूलाई बाटो दिनु पर्यो । हामी उठाउँदै हिँड्छौँ होटलमा लगेर राख्छौँ । त्यो होटल फेरि लगेर एउटा ओपन स्पेसमा राख्छ । त्यो त्यही डडाउनुहुन्छ’, उनले भने ।
एकपटक उनी मनाङमा आफ्नो गेस्ट लिएर पुगेका थिए । फर्किएर आउँदा आफ्नो गेस्टसँगै पदमार्गमा फालिएका फोहोर बोरामा उठाएर ल्याए । होटलका साहुले उनलाई गाली गरे ।
‘आँगनमा राख्न नपाउँदै यो कहाँ राख्यो भन्दै गाली गर्नुभयो । किन ल्याएको भन्नुभयो । लगेर भिरको डिलबाट फाल्न लगाइयो । त्यसपछि मलाई नराम्रो महसुस भयो,’ उनले भने ।
आफूले त्यसरी उठाएर ल्याएको फोहोर रिसाइकल सेन्टरसम्म पुगे राम्रो हुने उनी सुनाउँछन् ।