०१ असार २०८३, सोमबार
पर्यावरणबारे चिन्तित पथप्रदर्शक

ट्रेकिङ गाइड जसले पदमार्गको फोहोर पनि सफा गर्छन्

असार २१, २०८२
पाेखरा
ट्रेकिङ गाइड जसले पदमार्गको फोहोर पनि सफा गर्छन्

अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्छ दीपेन्द्र चपाइँको जन्मघर । उनी सानैदेखि पर्यटक पदमार्गमा आएको देख्थे,भेट्थे । काका र गाउँका चिनेजानेकाहरू उनै पर्यटकसँग तलमाथि गर्थे । 

एसएलसी दिइसकेपछि काकासँग पछि लागेर उनी पनि पदमार्गमा हिँड्न थाले । १० कक्षापछि खाली समयमा पार्टटाइम जागिर भयो पोर्टरको काम । १५ वर्ष भयो उनी पदमार्गमा विदेशी पर्यटक लिएर आउजाउ गरेको । यसबीच उनले धेरै परिवर्तन देखे, प्राकृतिक र मानवीय दुवै ।

एक दशक अगाडिसम्म सफा हुने पदमार्गमा आजभोलि प्लाष्टिकका फोहोर असरल्ल देखिन्छ । मानवीय कारणले भएको परिवर्तनले उनलाई सताउँछ । पदमार्गमा जथाभावी पुगेको बाटो । पर्यटक हिँड्ने धुलाम्मे बाटो । शान्त जंगलमा बाटोभरि फालिएको प्लाष्टिकका कागज । यी देखेर दीपेन्द्र चिन्तित बन्छन् ।

त्यसैले पनि पदमार्ग हिँड्दा उनीसँग बोरा अनिवार्य हुन्छन् । जसमा उनी पदमार्गमा भएका प्लाष्टिकका फोहोर उठाउँदै हिँड्छन् । सन् २०१६ बाट हो उनले यसरी पदमार्गमा सफा गर्दै हिँडेको ।

वातावरण र जलवायु परिवर्तनको संवेदनशीलतासँग नजिक भएको उनी यही पर्यटन व्यवसायमा आएपछि हो । शुरूमा त पोर्टरबाट नै अनुभव बटुले उनले । पछि, ट्रेकिङ गाइडको तालिम लिए । आधिकारिक रूपमा गाइडको लाइसेन्स पाए । त्यही क्रममा पढाएको कुराले उनलाई गहिरिन बाध्य पार्‍यो ।

‘कक्षा १२ सकेर ट्रेकिङ गाइडको लाइसेन्स लिँदाखेरि एकजना सरले जलवायु परिवर्तन कसरी भएको छ हिमताल कसरी बनिरहेको छ । स्थानीय जैविक विविधता कसरी बचाउन मिल्छ भनेर क्लास लिनुभएको थियो,’ उनले सम्झिए ।

null

यो विषयमा गहिरिनका लागि त्यो कक्षा आधार बन्यो उनका लागि । ट्रेकिङ गाइडको लाइसेन्स पाइसकेपछि आफ्नै सहजीकरणमा पर्यटक लैजान मिल्ने भयो । उनले सन् २०१८ उनले ‘गो द हिमालय ट्रेक्स’ कम्पनी खोले । त्यसपछि यस विषयमा विदेशी पर्यटकको राय बुझ्ने र थप जान्ने मौका पाए ।

आक्कलझुक्कल बाटोमा प्लाष्टिक देखे पनि उनको विदेशी क्लाइन्ट सुनाइहाल्थे– ‘हाम्रो देशमा यसरी फाल्दैनौँ गोजीमा वा झोलामा हाल्छौँ।’

वातावरण प्रदूषणको विषयमा उनले बुझ्दै जान थाले । उनीहरूबाटै सिके आफ्नो फोहोर आफैं व्यवस्थापन गर्ने । खाएर उनीहरूले फोहोर कागज गोजीभित्र हाल्दा दीपेन्द्रले सिके प्लाष्टिक व्यवस्थापनको प्रयास । २०१६ पछि उनी पर्यटक लिएर पदमार्ग जाँदा बोरामा फोहोर उठाउनु अनिवार्य भएको छ, उनका लागि ।

‘२०१६ तिर म र मेरो क्लाइन्ट मिलेर कहिलेकाहीँ फोहोर बोरा टिपेर ल्याएर होटलमा छोड्ने गर्थ्यौं । त्यतिबेला यस्तो सामाजिक सञ्जालमा चार्म थिएन,’ उनले सुनाए, ‘वातावरणमा यसरी फाल्न हुँदैन, राम्रो हुँदैन । त्यो मैले कसरी सिकेँ शिक्षाबाट सिकेँ वा क्लाइन्टबाट नै सिकेँ तर, हामी चाहिँ २०१६ बाट नै मैले उठाउन शुरू गरेको हो ।’

उनी पर्यटक लिएर नेपालका जुनसुकै पदमार्ग पुग्छन् । उनले देखेका छन् जलवायु संकटको प्रत्यक्ष असर हिमालमा । उनले देखेको बढ्दै गरेको हिमतालले सुन्दरता होइन, खतराको घण्टी बजाइरहेको छ । तर, अर्को चिन्ता छ पर्यटकको आगमन बढेसँगै पदमार्गमा थुप्रिएको प्लाष्टिक ।

कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई आन्तिरक पर्यटकले धाने । पदमार्गमा घुम्ने नेपाली पर्यटकको संख्या बढ्यो । वातावरणप्रति आन्तिरक पर्यटकको सचेतना कम भएको उनको भनाइ छ ।

null

‘यो असरको कुरा गर्दा वृहत् नै छ । नेपाली पर्यटकमा वातावरणप्रति, लोकल कल्चरप्रतिको सचेतना कम छ । नेपाली पर्यटन बढेसँगै असर बढेको छ । पढेकै जान्छौँ तर चेतना कम छ,’ उनी भन्छन् ।

सन् २०२१ मा उनले एन्थ्रोपोलोजिमा स्नातकोत्तर गरे । उनको थेसिसको विषय थियो अन्नपूर्ण पदमार्गमा ‘सोलिड वेष्ट म्यानेजमेन्ट’ । थप गहन अध्ययन गर्ने मौका मिल्यो उनलाई । एउटा चक्लेटको कागज त हो भनेर फालेको फोहोरले वातावरण प्रदूषण गरिरहेको छ ।

‘सोलिड वेष्ट म्यानेजमेन्ट कसरी भइरहेको छ भन्ने विषयमा थेसिस । मेरो आँखाले जुन देख्यो स्थिति अत्यन्तै भयाभव भयो । हुन त हाम्रो देशमा फोहोरमै राजनीति भएको छ । तर, हिमालको फोहोर चाहिँ रोकथाम गर्न सकिन्छ । सहज पनि छ,’ उनले भने ।

स्थानीय निकाय र अन्नपूर्ण संरक्षण क्षेत्रले फोहोर व्यवस्थापनमा धेरथोर काम गरिरहेको छ । तर, अपुग छ । जनस्तरबाट नै सचेतना जरुरी रहेको उनको अनुभव छ । पर्यटनको विस्तारसँग फोहोर शुरू भएको थियो । तर, सानो मात्रामा हुँदा स्थानीय तह वा सम्बन्धित निकायले त्यसलाई व्यवस्थापन गरेका थिए । सानो मात्रामा भएका कारण छायाँमा परेको हुनसक्ने दीपेन्द्र बताउँछन् ।

कोरोना पछाडि उनले पदामार्गमा दुई तरिकाले फोहोर देख्न थाले । एउटा; जहाँ खायो उहीँ फाल्ने आन्तरिक पर्यटकको प्रवृत्ति । अर्को; होटलमा भएका फोहोर उत्पादन व्यवस्थापनको चुनौती । पदमार्गमा फोहोर सही ढंगबाट हुन्छ कि हुँदैन संशय छ ।

‘यसको अवस्था कस्तो छ भने कमजोरी हेर्दै जाँदा जैविक विविधता संरक्षणको कुरा आउँछ । फोहोरका कारण जैविक विविधतामा खलल पुगेको कुरा आउँछ । तीनवटै पक्षले यसलाई अनदेखा गरेको देखिन्छ । संरक्षण क्षेत्रले काम गर्‍यो तर, दिगो रूपमा सोचेन । समस्या जहाँ थियो त्यही रह्यो,’ उनले दुखेसो पोखे ।

उनी हाल पदमार्गबाट उठाएर ल्याएको फोहोरले दिगो रूपमा काम नगर्ने सुनाउँछन् । फोहोर उठाउनु भन्दा त्यसको सही व्यवस्थापन महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।

‘केही बोरा फोहोर टिपेर ल्याइयो होला । कहिलेकाहीँ क्यापियन गरियो होला । तर, दिगो रूपमा काम नगर्दा २० वर्ष पहिला फालिएको प्लाष्टिकको बोत्तल समेत अहिलेसम्म त्यही स्थानमा छ । जुन वातावरण हामीसँग थियो, पहिला खोलानाला वन्यजन्तु कुरा आगामी पुस्ताले पनि देख्न पाउनुपर्छ,’ उनी चिन्तित सुनिन्छन् ।

यसका लागि पर्यटन व्यवसाय, संरक्षण क्षेत्र, स्थानीय तह सबै एकै स्थानमा आएर काम गर्नुपर्ने सुझाउँछन् ।

null

यसरी पदमार्गमा पर्यटक लिएर पुग्दा फोहोर उठाउँदै हिँडेका दीपेन्द्रलाई हेरेर कोही प्रोत्साहन गर्छन् । कोही असन्तुष्टि पोख्छन् । बाहिरको फोहोर घरमा ल्याएको भन्दे हपार्छन् पनि ।

‘कतिपय स्थानीयले एप्रिसिएट पनि गर्नुहुन्छ । कतिपयले नेपालीले फोहोर गरे भनुहुन्छ । कतिपय रिसाउनुहुन्छ । किन बाहिरको फोहोर घरभित्र ल्याएको हो भन्नुहुन्छ,’ उनले सुनाए ।

त्यसरी रिसाउने होटलका साहुलाई उनी उल्टै सम्झाउन खोज्छन् । बुझाउन तत्पर हुन्छन् । तर, उनीहरूको पनि आफ्नै समस्या छ । दिगो रूपमा फोहोर व्यवस्थापनको उपाय छैन । होटलले पनि जम्मा भएका फोहोर लिएर खुल्ला स्थानमामै व्यवस्थापन गर्ने हो ।

‘हामी होटलमा गएर साहुजीसँग गएर कुरा गर्दा हामीसँग अप्सन छैन भन्नुहुन्छ । दिगो रूपमा फोहोर व्यवस्थापन गर्न उनीहरूलाई बाटो दिनु पर्‍यो । हामी उठाउँदै हिँड्छौँ होटलमा लगेर राख्छौँ । त्यो होटल फेरि लगेर एउटा ओपन स्पेसमा राख्छ । त्यो त्यही डडाउनुहुन्छ’, उनले भने ।

एकपटक उनी मनाङमा आफ्नो गेस्ट लिएर पुगेका थिए । फर्किएर आउँदा आफ्नो गेस्टसँगै पदमार्गमा फालिएका फोहोर बोरामा उठाएर ल्याए । होटलका साहुले उनलाई गाली गरे ।

‘आँगनमा राख्न नपाउँदै यो कहाँ राख्यो भन्दै गाली गर्नुभयो । किन ल्याएको भन्नुभयो । लगेर भिरको डिलबाट फाल्न लगाइयो । त्यसपछि मलाई नराम्रो महसुस भयो,’ उनले भने ।

आफूले त्यसरी उठाएर ल्याएको फोहोर रिसाइकल सेन्टरसम्म पुगे राम्रो हुने उनी सुनाउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्