२८ जेठ २०८३, बिहीबार
बिग्रिँदो सद्भाव

समाजमा अपराधको डरलाग्दो चित्र: परिवारभित्रै असुरक्षित, सामान्य आवेगमा सामूहिक हत्या !

मनोविद्को सुझाव– ‘सामाजिक मनोपरामर्शको खाँचो छ, स्थानीय तह सक्रिय हुनुपर्छ’
असार २२, २०८२
काठमाडौं
समाजमा अपराधको डरलाग्दो चित्र: परिवारभित्रै असुरक्षित, सामान्य आवेगमा सामूहिक हत्या !

चार वर्षअघि संखुवासभाको मादी गाउँपालिका– १ उम्लुङमा भएको ‘हत्याकान्ड’कै झल्को दिने गरी शनिबार राति भोजपुरको रामप्रसाद राई गाउँपालिका– २ स्थित धोदलेखानीमा अर्को वीभत्स घटना भएको छ  ।

२०७८ भदौ २० गते उम्लुङमा भतिजा नाता पर्ने लोकबहादुर कार्कीले एकै परिवारका ६ जनाको हत्या गरेका थिए  । फरक यति हो, लोकबहादुरले तत्कालै हत्या स्वीकार गरेका थिएनन्  ।

प्रहरी पुग्दा उनी घटनास्थलमै केही थाहा नपाएको जसरी बसिरहेका थिए  ।

हिजो शनिबार (२०८२ असार २१ गते) भोजपुरको धोदलेखानीमा भएको घटनाका आरोपी राजेन्द्र राईले भने मध्यरातमा प्रहरीलाई फोन गरेर हत्या स्वीकार्दै आफूलाई पक्राउ गर्न बोलाए  ।

संखुवासभा हत्याकाण्डमा पक्राउ परेका लोकबहादुरले तत्कालीन समयमा प्रहरीलाई दिएको बयानमा भनेका थिए, ‘मलाई काका तेजबहादुरले देख्नेबित्तिकै गाली गर्न थाल्नुभयो, मैले सहन सकिनँ र चिर्पट प्रहार गरें  ।  काकी दौडिएर आउनुभयो, उहाँलाई पनि हानेँ  । मलाई त्यतिबेला देखेका सबैलाई एक–एक गरी चिर्पट प्रहार गरें  ।’

संखुवासभा घटनाका अभियुक्त

लोकबहादुरको बयान र प्रहरीको सूक्ष्म अनुसन्धानले पनि उक्त हत्याकान्डका पछाडि अन्य कुनै ठूलो कारण नभएको पुष्टि भयो  । सामान्य भनाभनमै घटनाले सामूहिक हत्याको रूप लिएको थियो  ।

राजेन्द्रले प्रहरीमा बयान दिएअनुसार शनिबार भोजपुरको घटनामा पनि उनकी श्रीमती मनिषा विगत एक महिनादेखि माइतीमै थिइन्  । माइत बसेकी श्रीमतीलाई लिन राजेन्द्र ५ दिनदेखि ससुरालीमै थिए  । राति खाना खाएर सबै सुते  । सुतेकै ठाउँमा सासू मञ्जु गिरीले धारिलो हतियारले आफूलाई प्रहार गरेपछि त्यही हतियारले सासूसहित श्रीमती, ससुरा बलबहादुर गिरी र सालो सपन गिरीलाई प्रहार गरेको राजेन्द्रको बयान छ  ।

भोजपुरमा शनिवार घटना भएको घर

प्रहरीका अनुसार राजेन्द्रको पेटमा दुई ठाउँमा धारिलो हतियारको चोट देखिन्छ  । उनी अहिले उपचारपछि डिस्चार्ज भइसकेका छन्  । उनको बयानलाई समेत मध्यनजर गर्दै अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ  ।

००००

गत जेठ १४ गते बुधबार रुपन्देहीको बुटवलमा एकै व्यक्तिले परिवारका तीन जनाको हत्या गरिदिए  । बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा सुजन कोइरालाले दीपा बस्याल (कोइरालाको पूर्वपति), ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या गरेका हुन्  । कोइराला र बस्याल सम्बन्धविच्छेद गरेर बसेका थिए  ।

प्रहरी अनुसन्धानमा बस्यालसँगको सम्बन्धविच्छेद कोइरालालाई मन परेको थिएन  । त्यतिबेलैदेखि उनीहरूबीच दुरी बढेको थियो  । कोइरालाले ‘तँलाई मार्छु’ भनेर पहिला पनि धम्क्याउँदै आएका थिए  । त्यही बीचमा कोइरालाले घरमै बोलाएपछि बस्याल दुई छोरी लिएर पुगेकी थिइन्  ।

त्यही मौकामा कोइरालाले धारिलो हतियार प्रयोग गरेर बस्याल र उनकी दुई छोरीको हत्या गरिदिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो  । कोइरालाको विगत पनि त्यति राम्रो थिएन । उनी आफ्नै दाजुको हत्या गरेर कर्तव्य ज्यान मुद्दामै जेल बसेर संविधान दिवसमा कैद माफी पाई छुटेका थिए  ।

आवेगमा आएर कोइरालाले हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष थियो  ।

००००

२०८० फागुन ९ गते नागार्जुन नगरपालिका– ६ भैरव टोलमा काजी भनिने राजु विश्वकर्माले परिवारकै तीन जनाको हत्या गरेपछि आत्महत्या गरेका थिए  । उनले आवेगमा आएर श्रीमती प्रेमकुमारी श्रेष्ठ, छोरी अनिषा श्रेष्ठ र नातिनी शिवानी श्रेष्ठको हत्या गरेका थिए  । प्रहरीले घटनाको अनुसन्धान गर्दा छोटो भिडियो क्लिप पनि फेला पारेको थियो  । भिडियोमा सुन, गहना र पैसाको कुरा गरिएको थियो  । कुनै आर्थिक विवादमा विश्वकर्माले परिवारको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष थियो  ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा परिवारसँग जोडिएका हत्याका घटना बढ्दै गएको देखिन्छ  । तथ्यांकअनुसार, २०७७/०७८ मा २६६, २०७८/०७९ मा २६९, २०७९/०८० मा ३०१, २०८०/०८१ मा ३१२ वटा र २०८१/०८२ को जेठसम्ममा ३१९ वटा घटना परिवारसँग जोडिएको छ  ।

पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार परिवारबीच बेमेल, कमजोर आर्थिक अवस्थाले निम्त्याएका परिघटना, सामाजिक परिवेश, साँघुरिएको पारिवारिक मेल, सामाजिक सञ्जाल, वैदेशिक रोजगारी लगायतका कारणले पारिवारिक हत्याका घटना बढ्दै गएको देखिन्छ  ।

‘विगत तीन/चार वर्षको अभिलेख हेर्ने हो भने परिवार जोडिएको हत्या घटनामा ठूलो कारण देखिँदैन,’ ठकुरीले लोकान्तरसँग भने, ‘जहाँ घटना भएको छ, त्यो परिवार शिक्षित देखिँदैन । त्यो परिवार कुनै न कुनै आर्थिक समस्याबाट गुज्रिएको छ  । त्यो परिवारमा मेलमिलाप देखिँदैन  ।’

ठकुरीका अनुसार सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र देखासिकीले पनि घटनाहरू निम्त्याउँदै आएको देखिन्छ  । मनोविद् गोपाल ढकाल पारिवारिक विवादका कारण सम्बन्धमा आएको टकवारले नै यस्ता घटना निम्त्याउने गरेको बताउँछन्  ।

‘अहिले हरेक परिवारमा कुनै न कुनै समस्या छ  । चेतनशील परिवारले त्यस्ता चिन्तामा खासै रोष प्रकट गर्दैनन्, सकभर पीडा अरूलाई पोख्न चाहँदैनन्,’ ढकालले लोकान्तरसँग भने, ‘तर, जुन परिवारमा चेतना अभाव छ र त्यो परिवार आर्थिक, सामाजिक र अन्य पारिवारिक समस्याबाट लामो समय गुज्रिरहेको छ भने त्यो कुण्ठा व्यक्त गर्न आवेगमा हत्यासम्मका घटना निम्त्याउन सक्छन्, जुन पछिल्ला केही घटनाले पुष्टि समेत गरेका छन्  ।’

यस्ता घटना हुन नदिन के गर्ने त ? भन्ने प्रश्नमा ढकाल भन्छन्, ‘अहिले स्थानीय तह बलियो छ, प्रत्येक स्थानीय तहले आवश्यक ठान्यो भने स्थानीयस्तरमै मनोपरामर्श सेवा उपलब्ध गराउन सक्छ । हामीकोमा परामर्श रोग लागिसकेको अवस्थामा मात्रै दिनुपर्छ भन्ने भाष्य छ, तर त्यो होइन  ।’

समाज कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरामा सम्बन्धित स्थानीय तह नै पहिलो जानकार हुने हुँदा उसैले बेलाबखत परामर्श सेवा उपलब्ध गराउनुपर्ने ढकालले बताए  । उनका अनुसार तनाव व्यवस्थाप नै यस्ता घटना न्यूनीकरणको मुख्य जग हो  ।

salt training

कमेन्ट गर्नुहोस्