
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले एकैपटक २ म्युजिक भिडियो र ७ वटा अडियो गीत सोमबार सार्वजनिक गरेको छ ।
नक्सालस्थित प्रज्ञा–प्रतिष्ठानको कार्यालय भवनमा आयोजित कार्यक्रममा ‘तीते तीते...’ र लहविरे भाकाको गीतको म्युजिक भिडियो र गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजना गरिएको राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै वटा प्रदेशका एक/एक गीतको अडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएका भिडियोमध्ये शिक्षासम्बन्धी चेतना फैलाउने ‘तीते तीते...’ गीतको म्युजिक भिडियोलाई अभि लामाले निर्देशन गरेका हुन् । यस गीतको रचना प्रकाश सापकोटा, सङ्गीत महेश खड्का र गायन शान्तिश्री परियारको रहेको छ भने कलाकारमा बिना रावत र अलि तामाङ रहेका छन् ।
त्यसैगरी, पूर्वी पहाड ओखलढुङ्गा जिल्लाका बायुङ, थुलुङ र वाम्बुले समुदायले गाउँदै आएको लोपोन्मुख लहविरे भाकाको गीतमा सङ्गीतकार लाहाङ सुब्बाको सङ्गीत संयोजन र गायक कुमार प्रयास, परेश राई र तेजकुमार राई तथा गायिका इन्द्रकला राई, मनमाबी राई र रश्मी राईको स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोलाई पनि अभि लामाले नै निर्देशन गरेका छन् ।
यसैगरी, राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ मा छनोट भएका ७ वटा प्रदेशका गीतमा कोशी प्रदेशबाट तेजकुमार राईको शब्दमा महेश खड्काको सङ्गीत, सन्दीप पनेरु र प्रिया पोखरेल पनेरुको स्वर रहेको छ ।

मधेश प्रदेशबाट लिलाराज दाहालको शब्द रचनालाई वसन्त सापकोटाको सङ्गीतमा प्रल्हाद तिमल्सिना र मनिसा सुनारले स्वर भरेका छन् ।
बागमती प्रदेशबाट सृजना अर्यालको शब्दलाई शान्तिराम राईको सङ्गीतमा रोशन राईको गायन रहेको छ । लुम्बिनी प्रदेशबाट बसन्तकुमार आचार्यको गीतमा आशिष अविरलको सङ्गीत र स्वर रहेको छ ।
यसैगरी, कर्णाली प्रदेशबाट छनोट भएको क्षितिज समर्पणको शब्दमा महेश खड्काको सङ्गीतमा मिलन खपाङ्गी र मिना चौधरीले स्वर भरेका छन् ।
सुदूरपश्चिमबाट धिरन नाथको गीतलाई शान्तिराम राईको सङ्गीतमा रोशन राईको स्वर रहेको छ भने गण्डकी प्रदेशबाट बाबुराम श्रेष्ठको गीतलाई श्रीकृष्ण बम मल्लको सङ्गीतमा लक्ष्मी मल्ल, सारिका घिमिरे, उषा गजुरेल र योगेश काजी शाहले स्वर दिएका प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा सार्वजनिक भएका भिडियोका निर्देशक र गीतका गीतकार, सङ्गीतकार र गायक गायिकालाई सम्मान समेत गरिएको थियो ।
यसैगरी, कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका ४ जना कर्मचारीलाई पनि सम्मान गरियो । सम्मानित हुनेमा अधिकृतस्तरका प्रदीप गुरागाईं, प्रविन सापकोटा, ध्रुव वाग्ले र नायब सुब्बा जगदीश सापकोटा रहेका छन् ।

कार्यक्रमका नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले राष्ट्रिय भावना र जनचेतना अभिवृद्धिका लागि म्युजिक भिडियो र गीतको रेकर्ड गरिएको बताइन् ।
राष्ट्रिय भावका गीत तथा राष्ट्रिय गीतको भिडियो सार्वजनिक कार्यक्रमका संयोजक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको सन्दर्भमा मौलिक नेपाली संस्कृतिको जगेर्ना र अभिवृद्धिका लागि सबै जना एकजुट हुनुपर्ने बताए ।
उनले सार्वजनिक गरिएका म्युजिक भिडियो र अडियो गीतहरू प्रज्ञा–प्रतिष्ठानको अफिसियल युट्युब च्यानलमा राखिएको जानकारी दिए ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले बजेटको व्यवस्था गरेर अडियो रेकर्ड गरिएका राष्ट्रिय भावनाका सात वटै गीतको म्युजिक भिडियो बनाउने समेत प्रतिबद्धता जनाइन् ।