२८ जेठ २०८३, बिहीबार
अनलाइन ठगीका अनेक रूप

स्क्यामरको गिफ्ट आतंक: एकै जनाको ८५ लाखसम्म झ्वाम, पीडक खोज्दा भेटिन्छन् अर्काथरि पीडित !

कोही गहना र आइफोनको लोभमा ठगिँदै, कसैलाई कमिसनमा खाता प्रयोग गर्न दिँदा फसाद
असार २५, २०८२
काठमाडौं
स्क्यामरको गिफ्ट आतंक: एकै जनाको ८५ लाखसम्म झ्वाम, पीडक खोज्दा भेटिन्छन् अर्काथरि पीडित !

    बौद्ध नयाँबस्ती बस्दै आएकी नगिमालाई ह्वाट्स एपमा अपरिचित व्यक्तिले ‘हेलो’ भन्छन् ।

    नगिमाले तुरुन्तै ‘हाइ’ भनेर जवाफ फर्काउँछिन् । लगत्तै ह्वाट्स एपमै फोन आउँछ । फोन उठाउँछिन् ।

    आफूलाई स्वीजरल्यान्डको बताउने ती युवकले हिन्दी भाषामा आफू नेपाल आउन लागेको र नेपालका अस्पतालमा लगानी गर्ने चहाना रहेको बताउँछन् ।

    नगिमा झन् उत्साही हुन्छिन् । श्रीमान गुमाएकी नगिमाले उत्साही हुँदै ‘मलाई पनि जागिर दिनुहोला है, काठमाडौंमा बाँच्न गाह्रो छ,’ भन्छिन् । डा. एड्रिन नाम बताउने ती व्यक्तिले ‘हुन्छ’ भनेर जवाफ दिन्छन् ।

    दुई/चार दिन नगिमा र एड्रिनबीच कुराकानी हुन्छ । फोनमा कुराकानी हुँदा एड्रिनले आफू भारतमा रहेको र स्वीट्जरल्यान्डबाट आएको पार्सल काठमाडौं पठाएर रिसिभ गरिनुस् भन्ने चाहना रहेको कुरा नगिमालाई बताउँछन् ।

    नगिमाले ‘कस्तो पार्सल हो ?’ भनेर सोध्छिन् । एड्रिनले केही डलर, सुनका गरगहनालगायतका सामग्रीको फोटो पठाउँछन् । नगिमाले ‘मलाई के ल्याइदिनुहुन्छ ?’ भनेर सोध्छिन् । एड्रिनले ‘अहिले पठाउन लागेको सामान तिमै्र लागि हो,’ भनेर जवाफ दिन्छन् ।

    तर, ‘त्यसका लागि स्वीट्जरल्यान्डबाट सिधा रकम काठमाडौं पठाउन नमिल्ने रहेछ, भारतबाट पठाउनुपर्छ, नेपालको खाता नम्बर चाहियो’ भनेर एड्रिनले नगिमालाई खाता खोल्न सुझाउँछन् ।

    नगिमाले शुरूमा एनआईसी एसिया बैंकमा आफ्नो नाममा खाता खोलेर खाता नम्बर, एटीमएम र सीमकार्ड समेत कुरियर गरेर भारत पठाउँछिन् ।

    नगिमालाई एड्रिनले पैसा पठाउन मिलेन भन्दै पटक–पटक गरेर १३ वटा बैंकको खाता खोल्न लगाउँछन् ।

    नगिमाले ९ वटा बैंकको खाता नम्बर, दुईवटा आफ्नै नामको सीमकार्ड र एटीएम कुरियर गरेर भारत पठाइदिन्छिन् ।

    असारको दोस्रो साता नगिमालाई एड्रिनले फोन गरेर ‘तिमिलाई सामान पठाएको छु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान रिसिभ गर्न जाऊ’ भन्छन् ।

    नगिमा खुसी हुँदै विमानस्थल पुग्छिन् । त्यतिबेलै एड्रिनले ह्वाट्स एपमा फोन गरेर ‘सामान भन्सारले रोकेको छ, भन्सार क्लियर गर्न १ लाख ६० हजार चाहिने भयो,’ भन्छन् । नगिमाले साथीलाई फोन गरेर विमानस्थलमै १ लाख ६० हजार रुपैयाँ मगाउँछिन् ।

    उक्त पैसा एड्रिनले भनेअनुसारको खातामा पठाइदिन्छिन् । फेरि एड्रिनले ‘सामान प्रहरीले रोक्यो’ भन्दै ३ लाख रुपैयाँ लाग्ने बताउँछन् ।

    नगिमाले उक्त रकम आफूसँग नभएको बताउँछिन् ।

    एड्रिनले ‘पैसा नदिए आफू पनि भारत फर्कनुपर्ने र सामान विमानस्थलमा भन्सारले जफत गर्ने’ बताउँछन् । नगिमा निराश हुँदै बौद्ध फर्किन्छिन् ।

    साथीसँग सापटी लिएको १ लाख ६० हजार रुपैयाँ गुमाएकी नगिमाविरुद्ध टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी पर्छ ।

    नगिमाकै खाता प्रयोग भएर ८ लाख रुपैयाँ अरू नै खातामा गएको देखिएपछि अनुसन्धानका लागि प्रहरीले नगिमालाई झिकाएर अनुसन्धान गरिरहेको छ ।

    मंगलबार अनुसन्धान कार्यालयमा भेटिएकी नगिमाले प्रहरीसामु बिन्ती गरिरहेकी थिइन्, ‘मलाई झुक्याएर खाता खोल्न लगायो, एटीएम, खाता नम्बर र खाता खोल्दा प्रयोग भएको मोबाइलका सीमकार्ड पनि भारतमै कुरियरमार्फत मगायो, मेरो खातामा कति पैसा आयो, कहाँ गयो मलाई थाहा छैन ।’

    एड्रिनले आफूलाई पठाएको सामानको लिस्ट भन्दै नगिमाले प्रहरीलाई देखाउँछिन् । तर, त्यो सबै नक्कली हुन्छ ।

    अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार नगिमाजस्ता थुप्रै नेपाली यसरी नै ठगिएका छन् ।

    ‘नगिमाको सोझोपनको फाइदा उठाएर स्क्यामरले ठगी गरेको देखिन्छ, तर खाता नम्बर नगिमाकै प्रयोग भएकाले अन्य पीडितले नगिमालाई नै कारबाही गर्नुपर्ने भनेर उजुरी दिएपछि कसरी अगाडि बढ्ने भनेर सोचिरहेका छौं,’ आचार्यले लोकान्तरसँग भने, ‘हामीले यस्तै खाता प्रयोग भएर रकम ट्रान्सफर भएको अनुसन्धान गर्दा चार लेयरसम्म पुगेका छौं ।’

    ०००

    मंगलबारै झापाको गौरादहबाट एक युवक दुई प्रतिशत कमिसन खाने चक्करमा पर्दा ठगिएको भनेर अनुसन्धान कार्यालयमा आइपुगेका थिए । गौरादहका केशव ढुंगानालाई फेसबुकमा म्यासेज आएको थियो । उनले कुराकानी गर्न थाले । ‘अनलाइन जब’को अफर आएपछि उनले स्क्यामरले भनेअनुसार ‘टाक्स’ पूरा गर्दै गए । अमेजनमार्फत मागएका सामान कुरियरमार्फत पठाउँदा लाग्ने रकम ढुंगानाको खातामा आउँथ्यो ।

    उनले उक्त रकम स्क्यामरले भनेअनुसारको खातामा पठाउँथे । यसैगरी उनले झण्डै ८ लाख रुपैयाँ अरु खातामा ट्रान्सफर गरेको प्रहरीमा स्वीकार गरेका छन् ।

    ‘मलाई खातामा आएको रकम ट्रान्सफर गरेबापत कूल रकमको २ प्रतिशत दिने भएपछि मैले स्कामरले भने अनुसार नै रकम ट्रान्सफर गरिदिएको हुँ,’ ढुंगानाले प्रहरीसामु भने, ‘मैले जान अञ्जानमा जे गरेँ, त्यो गलत गरेँ, अब मलाई कारबाहीबाट जोगाउनुहोस्, मैले रकम ट्रान्सफर गरेको खातावालालाई पक्राउ गरेर मलाई न्याय दिनुस् ।’

    पीडितले जुन व्यक्तिको बैंक खातामा शुरूमा रकम पठाएका थिए, उक्त खाता ढुंगानाकै रहेको देखिएपछि प्रहरीले उनलाई सम्पर्कमा ल्याएको थियो ।

    अब पीडितहरूलाई बोलएर ढुंगानाको हकमा कसरी जाने भनेर प्रहरीहरू छलफल गरिरहेका छन् ।

    दुई महिनाको बीचमा ढुंगानाले स्क्यामरबाट एक लाख रुपैयाँ कमिसन पाए । तर, अब उनले अरु खातामा ट्रान्सफर गरेको ८ लाख रुपैयाँ पीडितहरूलाई बुझाउनुपर्ने देखिन्छ ।

    ०००

    गहना र डलर पाउने आशमा एउटै व्यक्तिको ८५ लाख गुम्यो !

    काठमाडौं बस्दै आएकी पामेल लामाले अपरिचित व्यक्तिलाई विश्वास गर्दा पटक–पटक गरेर ८५ लाख २० हजार रुपैयाँ गुमाइन् ।

    गत वैशाखको यो घटनामा प्रहरीले विस्तृत अनुसन्धान गरेको थियो । उनलाई इङ्ल्यान्डको नागरिक बताएर एक व्यक्तिले फेसबूक र ह्वाट्स एपमा सम्पर्क गर्छन् ।

    ती व्यक्तिले आफ्नो श्रीमती नभएको र एउटी छोरी आफूसँग रहेकोबाट कुरा शुरू गर्दै लामालाई प्रभावमा पार्न खोज्छन् ।

    ‘आफू काठमाडौं घुम्न आउने र छोरीको जन्मदिनमा गिफ्ट दिन लागेको’ भन्दै लामालाई फकाउने कोशिश गर्छन् । आफूलाई डाक्टर बताउने ती व्यक्तिले लामासँग टेलिग्राममा समेत कुराकानी गर्छन् ।

    एकदिन यी/यी समान पठाउन लागेका भन्दै लामाको मोबाइलमा लामै लिस्ट पठाउँछन् । लामा खुसी हुन्छिन् । तर, ती व्यक्तिले समान पठाउन विमानस्थलमा कर तिर्नुपर्छ भन्दै शुरूमा ६ लाख रुपैयाँ पठाउन भन्छन् ।

    लामाले सहजै पठाइदिन्छिन् । भन्सारमा कर्मचारीलाई ‘सेटिङ’ मिलाउँछु भन्दै विमानस्थल गएको नाटक गरेर इङ्ल्यान्डको एक विमानस्थलको फोटो ह्वाट्स एपमा पठाउँछन् । लामा खुसी हुन्छिन् । अनि उनलाई फोन आउँछ, १२ लाखमा कुरा मिल्यो ।

    आफूसँग पैसा छैन, नेपाल आएपछि फिर्ता गर्ने भन्दै ती व्यक्तिले लामालाई पैसा पठाउनू भन्छन् । ६ लाख पठाइसकेकी लामाले ‘होला नि त’ भन्ठानेर थप १२ लाख पठाउँछिन् । यो बीचमा लामा ती व्यक्तिसँग गफिन्छिन् । छोरीलाई पनि नेपाल ल्याउन लागेको भन्दै राहदानीको काममा आफू व्यस्त भएको नाटक गर्छन् ।

    पार्सल पाउने आशामा २४ पटकमा विभिन्न खातामा ८५ लाख २० हजार पठाएपछि मात्रै उनी झसंग हुन्छिन् । परिवारका सदस्यले खातामा जम्मा भएको रकम खोजी गरेपछि मात्रै लामा प्रहरीमा उजुरी दिन पुगेकी हुन्छिन् । अचम्मको कुरा त इङ्ल्यान्डमा रहेको बताउने ती व्यक्तिले लामालाई नेपाली बैंककै खातामा रकम ट्रान्सफर गर्न लगाउँदा समेत लामा सचेत हुँदिनन् ।

    ती व्यक्तिले मोबाइलमा पठाएको डलर, सुन र हिराका गरगहना, आइफोन लगायतका महंगा वस्तु हेरेर लामा लोभमा पर्छिन् । कहिले आउला ती समान भन्ने मात्रै लामाको दिमागमा खेलिरहन्छ । प्रहरीमा उनले भनेकी छिन्, ‘मलाई यसरी फकायो कि मैले ऊ गलत होला भन्ने सोच्नै सकिनँ, पटक–पटक गरी पैसा पठाएपछि सामान आउला भन्ने भयो । जब परिवारले पैसा खोज्न थाले, तब म बताउन बाध्य भएँ । प्रहरीमा आएपछि मात्रै त्यो व्यक्ति त स्क्यामर रहेछ भन्ने थाहा भयो ।’

    विमानस्थलमा प्रहरी देखाएर ६ लाख झ्वाम !

    बालकुमारीकी एक युवतीलाई स्क्यामरले शुरूमा आफ्नो सम्पर्कमा ल्याउँछन् । फेसबूक र ह्वाट्स एपमा कुराकानी गर्छन् । बेलायत बस्ने भारतीय मूलको नागरिक बताउने ती युवकले नेपाल घुम्न आउन लागेको बताउँछन् । नेपाल आउँदा ‘तिमीलाई गिफ्ट ल्याइदिन्छु’ भन्दै समानका लिस्ट र फोटो ह्वाट्एसपमा पठाउँछन् । गत आइतबार ती युवकले आफू दुई दिनपछि नेपाल आउन लागेको र समान सँगै ल्याउन लागेको बताउँछन् । ती युवती खुसी हुन्छिन् ।

    दुई दिनपछि मंगलबार आफू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको र उक्त सामान भन्सार क्लियर गर्न ६ लाख रुपैयाँ लाग्ने बताउँछन् ।

    स्क्यामरले यतिसम्म गर्छन् कि नेपाल प्रहरीको जस्तै पोशाक लगाएको एकजना व्यक्ति देखाएर ‘मलाई प्रहरीले निकै केरकार गरेको छ, ६ लाख रुपैयाँ नदिए समान जफत गर्ने र मलाई पनि जेल हाल्ने भनेका छन्’ भन्दै भिडियो देखाएपछि ती युवतीले ६ लाख रुपैयाँ खातामा ट्रान्सफर गरिदिन्छन् ।

    पैसा ट्रान्सफर हुनेबित्तिकै युवक सम्पर्कविहीन हुन्छन् । तब मात्रै ती युवती आफू स्क्यामरको चंगुलमा फसेको थाहा पाउँछिन् ।

    अनुसन्धान कार्यालयका प्रवक्ता एसपी आचार्यका अनुसार यसैगरी ठगिएँ भन्दै दैनिक १० देखि १२ जना सर्वसाधरण उजुरी लिएर आउँछन् ।

    अनुसन्धान गर्दै जाँदा स्क्यामरले नेपाली नागरिकको बैंक खाता प्रयोग गरी रकम ट्रान्सफर गर्न लगाएको देखिन्छ ।

    ‘अधिकांशको हकमा कमिसन खाने लोभमा आफ्नो खातामा आएको रकम ट्रान्सफर गरेको देखिन्छ,’ आचार्यले भने, ‘केहीले पार्सल पाउने भन्दै विश्वासमा परेर धमाधम रकम पठाएपछि सम्बन्धित व्यक्ति सम्पर्कविहीन भएको देखिन्छ ।’

    salt training

    कमेन्ट गर्नुहोस्