२८ जेठ २०८३, बिहीबार
एप्सटिन फाइल्सको रहस्य

के हो ट्रम्पलाई वर्षौंदेखि सताइरहेको 'एप्सटिन फाइल्स' ?

असार २५, २०८२
काठमाडौं
के हो ट्रम्पलाई वर्षौंदेखि सताइरहेको 'एप्सटिन फाइल्स' ?

अमेरिकी राजनीतिमा इतिहासदेखि नै केही विषयहरूले धेरै विवाद र रहस्य सिर्जना गर्ने गरेका छन् । विशेषगरी, राष्ट्रपतिलगायत अन्य विशिष्ट कर्मचारीहरू पनि यौनसँग सम्बन्धित विवादमा फसेका धेरै उदाहरण अमेरिकी राजनीतिमा देख्न पाइन्छ ।

गत जनवरी २० मा दोस्रो कार्यकाल शुरू गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि यस्तै विवादले घेरिरहेको छ । एकजना विवादित व्यक्ति जेफ्री एप्सटिनको मृत्यु र उनका फाइलहरूलाई लिएर ट्रम्पमाथि प्रश्नहरू उठिरहेका छन् ।

पछिल्लो समय ट्रम्पसँग तनावपूर्ण सम्बन्ध रहेको भनिएका संसारकै सबैभन्दा धनी व्यक्ति एलोन मस्कले एप्स्टिन फाइल्सबारे सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए । अमेरिकामा नयाँ पार्टी खोल्ने घोषणा गरेका मस्कले ट्रम्प मुछिएको 'काण्ड'लाई महत्त्व दिनुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।

मंगलबार बसेको क्याबिनेट बैठकमा पनि ट्रम्पमाथि एप्स्टिन फाइललाई लिएर प्रश्न उठेको थियो । त्यसबारे सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा ट्रम्प रिसाएका थिए । 'अब पनि एप्स्टिनको कुरा ? किन ?' भन्दै ट्रम्पले सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न गरेका थिए ।

अमेरिकामा 'एप्स्टिन फाइल'लाई शक्तिशाली र धनाढ्य व्यक्तिहरूसँग जोडिएको यौन अपराधको जालो उजागर गर्न सक्ने कडीका रूपमा लिन थालिएको छ ।

केही दिनअघि अमेरिकी न्याय मन्त्रालय र फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन(एफबीआई)ले यौन अपराधी जेफ्री एप्सटिनसँग उच्च-प्रोफाइल व्यक्तिलाई जोड्ने कथित 'क्लाइन्ट लिस्ट' नभएको भन्दै फाइल बन्द गर्ने निर्णय गरेका थिए ।

एप्स्टिनको हत्यासँग सम्बन्धित कुनै प्रमाण नभेटिएको, उनले आत्महत्या गरेको निष्कर्षमा अमेरिकी सरकार पुगेको छ । तर, गत वर्ष चुनाव प्रचारका क्रममा राष्ट्रपति ट्रम्पले यो फाइल खोल्ने वाचा गरेका थिए ।

एप्सटिन को थिए?

जेफ्री एप्सटिन एक अमेरिकी सरकारका वित्तीय सल्लाहकार र सामाजिक व्यक्तित्व थिए । उनी १९९० को दशकमा आफ्नो सम्पत्ति र शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्धका कारण चर्चित थिए । उनीसँग बिल क्लिन्टन, बिल गेट्स, बेलायतका राजकुमार एन्ड्र्यूजस्ता विश्वप्रसिद्ध व्यक्तित्वहरूसँग सम्पर्क थियो ।

तर, उनको यो चमकदार छवि २००५ मा धमिलो हुन थाल्यो । कारण थियो- उनीमाथि नाबालिग बालिकाहरूलाई यौन शोषण र तस्करीको आरोप लाग्नु ।

२००८ मा उनले फ्लोरिडामा यौन अपराधको एक मामिलामा आफ्नो दोष स्वीकार गरेका थिए र अदालतले उनलाई १३ महिना जेल सजाय सुनायो । जेल सजाय सकेर उनी पुनः सार्वजनिक जीवनमा फर्के । तर, अमेरिकामा धेरैले उनलाई 'यौन अपराधी'का रूपमा चिन्न थाले । 

ट्रम्पको पहिलो कार्यकालको अन्त्यतिर एप्सटिनलाई पुनः यौन अपराधको आरोपमा पक्राउ गरियो । तर, मुद्दामा सुनुवाइ हुनुअघि नै न्यूयोर्कको जेलमा उनको रहस्यमय मृत्यु भयो ।

आधिकारिकरूपमा उनको मृत्युलाई आत्महत्या भनिए पनि धेरैले यो 'हत्या' भएको दाबी गरे । यही मृत्यु र उनको 'क्लाइन्ट लिस्ट'ले विश्वभर षड्यन्त्र सिद्धान्तलाई जन्म दिएको हो ।

ट्रम्प र एप्सटिनको सम्बन्ध

डोनाल्ड ट्रम्प र जेफ्री एप्सटिनको सम्बन्ध १९९० को दशकदेखि नै थियो । उनीहरू दुवै न्यूयोर्क र फ्लोरिडाको सामाजिक 'सर्कल'मा सक्रिय थिए ।

ट्रम्पले २००२ मा एक अन्तर्वार्तामा एप्सटिनलाई 'रमाइलो व्यक्ति' भनेका थिए । तर, जसै ट्रम्पले अमेरिकी राजनीतिमा चासो राख्न थाले, त्यसपछि उनले आफू र एप्सटिनबीच सम्बन्ध टुटेको दाबी गर्न थाले ।

यद्यपि, ट्रम्पको दोस्रो कार्यकालमा उनको प्रशासनले एप्सटिन फाइलहरूलाई लिएर बारम्बार प्रश्नको सामना गर्नुपरेको छ । ट्रम्पका समर्थक र विशेषगरी दक्षिणपन्थी समूहहरूले यी फाइलहरू सार्वजनिक गर्नुपर्ने माग राख्दै आएका छन् ।

ट्रम्प र उनकी महान्यायाधिवक्ता पाम बन्डीले २०२५ को शुरूमा एप्सटिनको फाइलहरूबारे खुलासा गर्ने संकेत दिएका थिए ।

बन्डीले फक्स न्यूजमा दिएको एक अन्तर्वार्तामा 'क्लाइन्ट लिस्ट' आफ्नो टेबलमा रहेको दाबीसमेत गरेकी थिइन् । अब फाइल खुल्ने भयो भनेर ट्रम्पका दक्षिणपन्थी समर्थकहरूमा ठूलो आशा जाग्यो ।

तर, केही दिनअघि न्याय मन्त्रालय र एफबीआईले कुनै नयाँ तथ्य नभएको भन्दै अनुसन्धान बन्द गर्ने घोषणा गरेपछि फाइल कुरेर बसेका अमेरिकीहरूमा निराशा छाएको छ ।

फाइलमा के छ?

एप्सटिन फाइल उनको यौन तस्करी नेटवर्कमा संलग्न व्यक्तिहरूको 'क्लाइन्ट लिस्ट' हो । धेरैले यो सूचीमा विश्वका शक्तिशाली व्यक्तिहरूको नाम रहेको विश्वास गर्छन् ।

तर, हालसम्मको अनुसन्धानले यस्तो कुनै सूचीको अस्तित्व रहेको पुष्टि गरेको छैन । केही दिनअघि अमेरिकी न्याय मन्त्रालयले जारी गरेको मेमोमा भनिएको छ, 'एप्सटिनले कुनै यौन तस्करीको क्लाइन्ट लिस्ट राखेका थिएनन् र थप अपराधीको संलग्नताको कुनै विश्वसनीय प्रमाण भेटिएको छैन ।'

अनुसन्धानका क्रममा एप्स्टिनले यौन दुरुपयोग गरेको भनिएको भिडियोहरू विश्लेषण गरिएको थियो । तर, ट्रम्पकी महान्यायाधिवक्ता बन्डीले ती भिडियोहरूमा एप्सटिनले डाउनलोड गरेको बाल यौन दुरुपयोग सामग्री मात्र रहेको दाबी गरेकी छन् । त्यसलाई सार्वजनिक गर्न सम्भव नभएको पनि उनले बताइन् ।

बन्डीको यस्तो भनाइमाथि अहिले धेरै अमेरिकीहरूले असन्तुष्टि पोखिरहेका छन् । ट्रम्पलाई जोगाउन उनले 'कभर अप' गरेको आरोप लगाइएको छ ।  

दक्षिणपन्थी समर्थकहरूको आक्रोश

'मागा (मेक अमेरिका ग्रेट अगेन)' समूह पनि भनिने ट्रम्पका कट्टर समर्थक यो निर्णयबाट सबैभन्दा बढी आक्रोशित छन् ।

लाउरा लूमर, स्टिभन के. ब्यानन र टकर कार्लसन जस्ता प्रभावशाली दक्षिणपन्थी नेताहरूले बन्डी, एफबीआई निर्देशक काश पटेल र उनका सहायक ड्यान बोनजिनोमाथि तीव्र आलोचना गरेका छन् ।

लूमरले बन्डीको राजीनामा माग गरेकी छन्, भने कार्लसनले यो निर्णयलाई 'सत्य लुकाउने प्रयास' भनेका छन् ।

एप्स्टिन फाइल खोल्नुपर्ने माग गर्दै आएका ट्रम्पका कट्टर समर्थकहरूले ट्रम्प भने यसमा सामेल नभएको विश्वास गरिरहेका छन् । उनीहरू धेरै डेमोक्र्याट नेताहरूको नाम 'क्लाइन्ट लिस्ट'मा भएको विश्वास गर्छन् ।

उनीहरूको आक्रोश मुख्य रूपमा बन्डी र एफबीआईतर्फ केन्द्रित छ । हाल ट्रम्पसँग राम्रो सम्बन्ध नभएको मानिएका मस्कले पनि यसबारे प्रश्न उठाएका छन् ।

उनले एक्समा पोस्ट गर्दै लेखेका छन्, 'ट्रम्पले यदि एप्सटिन फाइलहरू सार्वजनिक गर्दैनन् भने कसरी जनताले उनमाथि भरोसा गर्न सक्छन् ?'

किन यतिधेरैविवाद?

अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सका अनुसार एप्सटिन फाइलको विवादको जडमा दुई मुख्य कारण छन् ।

पहिलो, एप्सटिनको मृत्यु र दोस्रो, उनले गरेका यौन अपराधहरूको शृंखला ।

उनको यौन तस्करी नेटवर्कले विश्वभरका शक्तिशाली व्यक्तिहरूलाई जोड्ने सम्भावना रहेको मानिन्थ्यो । त्यसैकारण यो अहिले अमेरिकाकै सबैभन्दा ठूलो 'षड्यन्त्र सिद्धान्त'को आधार बनेको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै 'डीप स्टेट'को विरुद्धमा लड्ने वाचा गरेका थिए । अमेरिका चलाउने छुट्टै शक्ति रहेको र त्यसको उजागर हुनुपर्ने उनको मान्यता थियो । उनको यही मान्यताका कारण उनका समर्थकहरूले एप्सटिन फाइललाई त्यही 'डीप स्टेट'को पर्दाफास गर्ने अवसरका रूपमा हेरेका थिए ।

तर, ट्रम्प प्रशासनले यो मामिलालाई बन्द गर्ने निर्णय गरेपछि ती समर्थकहरूले आफूलाई धोका भएको महसुस गरे । ट्रम्पको कट्टर समर्थक मानिएको फक्स न्यूजलगायतका मिडियाले समेत यो मुद्दालाई उचालेका छन् । उनीहरूले 'हामीलाई जवाफ चाहिन्छ' लेखिएको ब्यानरहरू टीभीमार्फत प्रसारण गरिरहेका छन् ।

विवाद कहिलेसम्म ?

हाललाई ट्रम्प र बन्डीले यो मामिलालाई बिर्सन चाहेको स्पष्ट देखिएको छ । ट्रम्प मंगलबारको क्याबिनेट बैठकपछि पत्रकारहरूसँग कुरा गर्ने क्रममा 'अब पनि एप्सटिनको कुरा ?' भन्दै रिसाएका थिए ।  

ट्रम्पकी महान्यायाधिवक्ता बन्डीले पनि विस्तृतमा अनुसन्धान भइसकेकाले थप खुलासा गर्नुपर्ने केही नरहेको दोहोर्‍याइन् ।

तर, यो विवाद सजिलै हराउने देखिँदैन । सामाजिक सञ्जाल र दक्षिणपन्थी मिडियाले यो मुद्दालाई जीवित राख्ने प्रयास गरिरहेका छन् ।

केही प्रभावशाली व्यक्तिहरूले यसअघिका राष्ट्रपति जो बाइडेन प्रशासनमाथि पनि औंला ठड्याएर 'प्रमाणहरू नष्ट गरिएको' भन्दै आपत्ति जनाएका छन् ।

मस्कले खोल्ने भनिएको नयाँ दलले पनि ट्रम्पविरुद्ध यही कार्ड फ्याँक्ने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमहरूको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्