२९ जेठ २०८३, शुक्रबार
मनमोहन कार्डियोको फार्मेसीमा अनियमितता

नि:शुल्क औषधि फिर्ता भएको देखाएर लाखौं खल्तीमा हाल्नेलाई उन्मुक्ति, दोष जति मृतकको थाप्लोमा !

असार २९, २०८२
काठमाडौं
नि:शुल्क औषधि फिर्ता भएको देखाएर लाखौं खल्तीमा हाल्नेलाई उन्मुक्ति, दोष जति मृतकको थाप्लोमा !

काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी तथा डिस्पेन्सरीमा भएको आर्थिक अनियमिततामा संलग्न कर्मचारीहरूलाई अहिलेसम्म कुनै कारबाही नगरिएको खुलेको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयअन्तर्गत रहेको सेन्टरको फार्मेसीबाट नि:शुल्क वितरण गरिएको औषधि फिर्ता भएको देखाएर बिरामीकै नाममा रकम 'क्लेम' गर्ने कर्मचारीहरूमाथि हालसम्म कुनै कारबाही नभएको हो ।

दुईवटा छानबिन समितिले दिएको प्रतिवेदनअनुसार दोषी देखिएका कर्मचारीलाई विभागीय कारबाही गर्नुको साटो थप आकर्षक स्थानमा सरुवा गरिएको त्यहीँ कार्यरत अन्य कर्मचारीहरू बताउँछन् ।

अनियमितताको प्रश्न उठेका फार्मेसी अधिकृत तथा फार्मेसी सहायकहरूलाई आकर्षक स्थानमा सरुवा गरेर पुरस्कृत गरिएको एक कर्मचारीले बताए ।

तत्कालीन फार्मेसी अधिकृत तथा डिस्पेन्सरी इन्चार्ज जुना स्थापितलाई त्रिवि शिक्षण अस्पतालकै आँखा अस्पतालको फार्मेसीमा सरुवा गरिएको छ भने त्यहीँका कर्मचारी कृष्ण पन्तलाई शिक्षण अस्पतालकै फार्मेसीमा सरुवा गरिएको छ ।

त्यस्तै, अर्का कर्मचारी विष्णु पौडेललाई कीर्तिपुर आयुर्वेदिक अस्पतालको फार्मेसीमा सरुवा गरिएको छ ।

नर्सिङ सह-नियन्त्रक विमला न्यौपाने नेतृत्वको छानबिन समितिका सदस्य सचिव तथा प्रशासन प्रमुख भोजकुमार बस्नेत भने ३ वर्षे कार्यकाल पूरा भएपछि त्रिवि केन्द्रमा सरुवा भएका छन् ।

सेन्टरको फार्मेसीमा भएको अनियमितताबारे लोकान्तरले डेढ वर्षअघि 'मनमोहन कार्डियो सेन्टरमा चरम अनियमितता, नि:शुल्क औषधिबाट लाखौं झ्वाम !' शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

यस विषयमा २ वटा छानबिन समिति बनेर छानबिन समेत भइसकेको छ । तर, दोषी देखिएका कर्मचारीहरूलाई अहिलेसम्म विभागीय कारबाही समेत भएको छैन ।

के हो प्रकरण ?

१५ वर्षमुनि र ७५ वर्ष माथिका मुटुरोगी तथा बाथ मुटुरोगीको नि:शुल्क उपचार कार्यक्रम दुरुपयोग गरेर आर्थिक अनियमितता भएको हो ।

नि:शुल्क औषधि उपलब्ध गराउनुपर्ने बिरामीको नाममा आवश्यकताभन्दा बढी औषधि वितरण गर्ने र उनीहरूलाई चाहिएको औषधि मात्र दिई बढी भएको औषधि बिक्रीतर्फबाट फिर्ता भएसरह गरी भुक्तानी 'क्लेम' गर्ने गरेको खुलेको छ ।

यहाँसम्म कि, प्रयोग भएकै औषधि तथा उपकरण समेत फिर्ता भएको देखाएर कर्मचारीहरूले भुक्तानी 'क्लेम' गर्ने गरेका छन् । एकै प्रकारका औषधि बिक्री तथा नि:शुल्क वितरण दुवै हुने भएकाले कुन फिर्ता भयो भन्ने सिस्टममा थाहा नहुने अन्य कर्मचारीहरू बताउँछन् । सिस्टमको त्यही कमजोरीको फाइदा उठाएर लाखौं अनियमितता भएको हो ।

त्रिवि रजिस्ट्रारको कार्यालयबाट गठित छानबिन समितिले गरेको छानबिनबाट पनि फार्मेसीमा अनियमितता भएको खुलेको छ । फार्मेसीमा अनियमितता भएको भन्दै २०८० साउन १४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारको निर्देशनमा रजिस्ट्रारको कार्यालयले २०८० भदौ ३ गते छानबिन समिति गठन गरेको थियो ।

सेवा निवृत्त आर्थिक प्रमुख नारायणबहादुर बस्नेतको संयोजकत्वमा आर्थिक उपनियन्त्रक रुपा श्रेष्ठ, लेखा अधिकृत शरदकुमार थापा र स्थायी आमन्त्रित सदस्यका रूपमा मुख्य लेखा सहायक कविता रेग्मी सदस्य रहेको छानबिन समितिले २०८० कात्तिक २३ गते रजिस्ट्रारको कार्यालयलाई बुझाएको प्रतिवेदनमा अनियमितताबारे उल्लेख छ ।

इन्जेक्सन मिलरिनोन अपरेसनको समयमा प्रयोग गरिने भएता पनि उक्त सिरिञ्ज बिक्री गरिएको २ महिनादेखि २ वर्षपश्चात फिर्ता भएकाले शंकास्पद देखिएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

त्यसबाहेक अन्य औषधिहरू १ महिनादेखि ३ वर्षसम्मको अन्तरालमा फिर्ता भएको पाइएको हो ।

२०७९ चैत १३ गते बद्रीनाथ श्रेष्ठलाई बिक्री गरिएको होलो फाइबर अक्सिजिनेटर विथ आर्टेरियल फिल्टरलाई युजर जुनाले २०८० वैशाख ११ गते फिर्ता देखाएको भएपनि अपरेसन थिएटरको अभिलेखमा उक्त सामानहरू प्रयोग गरिएको व्यहोराको प्रमाण नै फेला परेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

बिरामीहरू महेश्वरी मल्ल, झंकबहादुर श्रेष्ठ, गौरव लोहनी, सुशीला शिवाकोटी, दमबहादुर पण्डित क्षेत्रीको नाममा एयोर्टिक क्यानुला २२ एफआर बिक्री भई युजर जुनाले फिर्ता गरेको देखाएको तर अपरेसन थिएटरको अभिलेखमा उक्त सामानहरू प्रयोग गरिएको प्रमाण पनि फेला परेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, युजर जुनाबाट बिल नम्बर ००७४६२ देखि ००७४६६ सम्मको समान एकै दिनमा विभिन्न व्यक्तिहरूबाट फिर्ता भएको हुनाले शंकास्पद रहेको प्रतिवेदनमा जनाइएको छ ।

त्यसैगरी, शेरबहादुर खाती क्षेत्री, हिमचुला बराल, सन्तोषकुमार पुन, ध्रुव श्रेष्ठको नाममा होलो फाइबर अक्सिजिनेटर विथ आर्टेरियल फिल्टर अपरेसनका लागि बिक्री भएकोमा युजर कृष्णले फिर्ता देखाएको तर अपरेसन थिएटरको अभिलेखमा ती सामानहरू प्रयोग भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, बिमला नेपालको अपरेसनका लागि एओर्टिक पन्च ३.५ एफआर फार्मेसीबाट बिक्री भएकोमा युजर कृष्णले फिर्ता देखाएको तर अपरेसनमा प्रयोग भएको पाइएको उल्लेख छ ।

त्यस्तै, युजर कृष्णले पीएम कीट विथ रबर क्याप्ड स्टोप्पर बिक्री भएको करिब ७ महिनापश्चात फिर्ता भएको देखाएकाले शंकास्पद रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, बिरामी भगवती चौलागाईंको नाममा २०७८ असोज १ गते ट्राइकस्पिड एन्नुलोप्लास्टि हर्ट भल्भ रिङ्ग बिक्री गरी २०७९ चैत १९ गते युजर कृष्णले फिर्ता देखाएको तर बिरामीको व्यक्तिगत फाइलमा एन्नुलोप्लास्टि डन विथ २८ एमएम रिङ लेखिएकाले शंकास्पद देखिएको प्रतिवेदनमा जनाइएको छ ।

त्यसैगरी, बिरामी सुष्मा प्रधानको नाममा २०७९ वैशाख १२ गते बिक्री गरिएको मेकानिकल हर्ट भल्भलाई युजर कृष्णले २०७९ चैत ८ मा फिर्ता देखाएको तर बिरामीको व्यक्तिगत डिस्चार्ज फारममा एसएन ३०४७५८ नम्बरको मेकानिकल हर्ट भल्भ फेरेको देखिएको प्रमाणित भएको प्रतिवेदनमा उल्लेख छ ।

फिर्ता गरिएका औषधिहरू बिक्री गर्दा व्यक्तिका नामको सट्टामा क्यासमा लेखिएको सोही प्रकृतिका औषधिहरूको बिक्री फिर्ताको संख्या धेरै देखिएको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले त्यस अवधिमा गरेको अनुसन्धानबाट तत्कालीन फार्मेसी सहायक विष्णु पौडेलको युजर आईडीबाट २० हजार २५ रूपैयाँको, तत्कालीन फार्मेसी अधिकृत तथा डिस्पेन्सरी इन्चार्ज जुना स्थापितको युजर आईडीबाट १ लाख ७५ हजार २९५ रूपैयाँको औषधि फिर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, फार्मेसी सहायक कृष्ण पन्तको युजर आईडीबाट ७ लाख ५५ हजार ३६ रूपैयाँको, मनिष ढकालको युजर आईडीबाट १६ हजार ९१२ रूपैयाँको, फार्मेसी सहायक राजेश कानूको युजर आईडीबाट १ लाख ७२ हजार १७६ रूपैयाँको, सन्दीप यादवको युजर आईडीबाट ३६ हजार २५६ रूपैयाँको औषधि फिर्ता भएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, छानबिन समितिले स्टोरमा अनुगमन गर्दा २ करोड ४० लाख ६८ हजार ६९४ रूपैयाँ बराबरको खपत म्याद समाप्त भएको ४३४ आइटम औषधि, उपकरण तथा सामग्री पाइएको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा पेश्की शीर्षकमा २ करोड ४१ लाख ३२ हजार ६५ रूपैयाँ भूकम्पपीडित बिरामीबाट उठ्न बाँकी देखाएर फरफारक नगरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसबाहेक, व्यक्ति वा सप्लायर्स कम्पनीको नाम ठेगाना हुनुपर्नेमा उपकरणको नाममा पेश्की देखाएको पाइएको थियो । प्यासेन्ट बेड लिफ्टको नाममा ७६ लाख १६ हजार ६८० रूपैयाँ, एनेस्थेसिया मशिनको नाममा १० हजार २३३ रूपैयाँ, मोनिटर आईसीयूको नाममा ३ हजार ६९८ रूपैयाँ र शीर्षक स्पष्ट नभएकोमा ११ करोड ४६ लाख ७२ हजार ७२ हजार ५ सय रूपैयाँ पेश्की देखाइएको प्रतिवेदनमा उल्लेख छ ।​

null

null

null

सेन्टरद्वारा गठित छानबिनका क्रममा अप्रिय घटना

त्यसो त सेन्टरका तत्कालीन कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले नर्सिङ सह-नियन्त्रक विमला न्यौपानेको संयोजकत्वमा २०८० असार २३ गते फार्मेसी सेवाको विषयमा छानबिन गर्न एक समिति गठन गरेका थिए ।

सेन्टरमा विभिन्न नि:शुल्क उपचार कार्यक्रमअन्तर्गत सेवा लिने बिरामीहरूले फार्मेसी सेवा उपभोग गर्दा चिकित्सकबाट प्रेस्क्राइब भएअनुसार औषधिको तथा उपचार सामग्रीको अवस्था के कस्तो छ भन्ने विषयमा छानबिन गर्न आन्तरिक समिति बनेको थियो ।

तत्कालीन प्रशासन प्रमुख भोजकुमार बस्नेत उक्त छानबिन समितिका सदस्य सचिव थिए भने प्रकाश विक्रम जोशी सदस्य थिए ।

समितिले गरेको छानबिनबाट पनि नि:शुल्क उपचार कार्यक्रमअन्तर्गत उपचार लिएका बिरामीको औषधि माग गर्ने फारममा नर्सले माग गरेको संख्या अनुसार फार्मेसीबाट बिलिङ हुनुपर्नेमा कतिपय अवस्थामा माग परिमाणभन्दा जारी भएको परिमाण धेरै भएको तथ्य पत्ता लागेको थियो ।

कार्यक्रमअन्तर्गत उपचार लिएका बिरामीको औषधि माग फारममा अन्त्यमा फिर्ता भएको संख्या परिमाण समेत खुलाउनुपर्ने विधि प्रत्येक बिरामीको हकमा पालना नभएको पाइएको साथै बिरामीको मेडिकल रेकर्ड फाइलमा सम्बन्धित बिरामीको सम्पूर्ण माग फारमहरू दुरुस्त रहेको नपाइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

‘बिरामीलाई डाक्टरले सिफारिस गरेअनुसारको मात्रा र औषधि चलाइएको अवधिका आधारमा खपत हुनुपर्ने औषधिको परिमाण गणनासँग फार्मेसीबाट जारी भएको औषधिको परिमाण कतिपय बिरामीको हकमा बराबर नदेखिएको यद्यपि परिमाण कसरी फरक पर्न गएको हो, सो एकिन हुन नसकेको,’ छानबिन प्रतिवेदनमा भनिएको छ ।

उक्त समितिले थप केही पनि पत्ता लगाएको देखिएन ।

‘छानबिनका क्रममा अस्वाभाविक कारोबार देखिएका व्यक्तिहरूको हकमा लिखित स्पष्टीकरण माग गरी सोबाट आएका तथ्यहरू समेत समावेश गरी प्रतिवेदनलाई अन्तिम रूप दिन कार्यकारी निर्देशकबाट मौखिक निर्देशन भएअनुसार अस्पताल प्रशासनबाट २०८० असार २८ मा सम्बन्धित व्यक्तिहरूसँग (फार्मेसी इन्चार्ज सहित ७ जना) सँग स्पष्टीकरण माग भएको छ,’ छानबिन प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले सेन्टरमा अकल्पनीय दु:खद् घटना घटेको तथा समितिका सदस्य सचिव प्रहरी हिरासतमा रहेको भन्दै छानबिन टुंगो नलगाई समितिले २०८० साउन १ गते सेन्टरका कार्यकारी निर्देशकलाई प्रतिवेदन प्रतिवेदन बुझाएको थियो ।

null

null

null

null

null

‘२०८० असार २९ गते यस सेन्टरमा अकल्पनीय दुखद् घटना घटेको, यस छानबिन समितिका सदस्य सचिव अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको, यस विषयमा उच्चस्तरीय छानबिन समिति बनिसकेको र स्पष्टीकरणको जवाफ यस समितिलाई प्राप्त भइनसकेको अवस्थामा यस समितिले हालसम्म गरेको कार्य जे जस्तो अवस्थामा छ, सोही अवस्थामा कार्यकारी निर्देशकलाई बुझाउने निर्णय गरी संलग्न प्रतिवेदन पेश गरिएको व्यहोरा अनुरोध छ,’ समितिले कार्यकारी निर्देशकलाई बुझाएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

सेन्टरका स्टोर अधिकृत अमृत पोखरेलले स्टोरमै असार २९ गते बिहान आत्महत्या गरेका थिए ।

‘आफूले गरेको गल्ती पनि मेरो भनेर देखाउने र ब्ल्याकमेलिङ गरी टर्चर दिने साथीहरू सबैको जय होस् ! सरी उत्तम सर, सरी रत्नमान सर र आदरणीय सरहरू’ लेखिएको सुसाइड नोट फेला परेको थियो । त्यसबाहेक उनले सुसाइड नोटमा ‘लभ यू छोरो, लभ यु मम्मा, लभ यु मनिका र लभ यु माई अल फ्यामिली एन्ड सरी’ लेखेका थिए ।

सबै दोष मृतकमाथि थोपरियो

फार्मेसीमा कार्यरत कर्मचारीहरू विष्णु पौडेल, जुना स्थापित, सन्दीप यादव, सजिना कुशी, गणेश ढकाल र भरत कुँवरसँग सोधिएको स्पष्टीकरणको जवाफमा मृतक अमृत पोखरेल र कृष्ण पन्तको दोष देखाइएको छ ।

बस्नेत नेतृत्वको छानबिन समितिले दिएको प्रतिवेदनमा पनि बिक्री गरिएका औषधिहरू अमृत पोखरेलको निर्देशनमा फिर्ता गराई कृष्ण पन्त र अमृत पोखरेलले २३ हजार ७४१ रूपैयाँ बाँडफाँड गरेको भनिएको छ ।

त्यसैगरी, कृष्ण पन्तले पनि अमृत पोखरेलको निर्देशनमा सामानहरू फिर्ता गरिएको तथा उक्त रकम अमृत पोखरेललाई नै दिएको भन्दै अब आइन्दा त्यस्ता कार्य नगर्ने बाचा गर्दै क्षमा मागेका छन् ।

अमृत पोखरेलले २०८० जेठ २२ गते तत्कालीन कार्यकारी निर्देशकसमक्ष पेश गरेको लिखित स्पष्टीकरणमा पन्तसहित अन्य कर्मचारीले लगाएको आरोप अस्वीकार गरेका छन् ।

फार्मेसी विभागका कर्मचारी कृष्ण पन्तको आमा क्यान्सरपीडित भएका कारण महंगो औषधि कसरी व्यवस्था गर्न फार्मेसीका पुराना बिल फिर्ता गराई सप्लायर्सबाट फ्रीमा स्याम्पल मगेर उपलब्ध गराउन भन्दै सहयोग गरेको उनको बयान छ ।

मानवीय नाताले सहयोग गरेता पनि अस्पतालको नियमानुसार ठिक नभएकाले आत्मालोचना गर्दै भविष्यमा यस्तो गल्ती नदोहोर्‍याउने स्पष्टीकरण उनले दिएका थिए ।

छानबिन समितिले २०८० असोज ४ गते सेन्टरबाट गठित आन्तरिक छानबिन समितिका संयोजक बिमला न्यौपानेसँग अन्तर्वार्ता लिँदा अमृत लगायत अरू सबैको गल्ती हुनसक्ने बताएकी छन् ।

‘औषधि र उपकरणहरूको अस्वाभाविक फिर्ता अभिलेख देखिएको, फाइल क्लियर नभएको डिस्पोजल आइटम पनि फिर्ता भएको, म्याद नाघेको औषधि पनि फिर्ता भएको, प्रायः नाइट ड्युटीमा बढी फिर्ता भएको देखिएको, औषधि र उपकरणहरू अस्वाभाविक रूपमा बढी बिलसहित वितरण गरिएको, एकै व्यक्तिबाट आवश्यक परिमाणभन्दा बढी सामान फिर्ता भएको देखिएको,’ न्यौपानेले छानबिन समितिलाई दिएको अन्तर्वार्तामा उल्लेख गरेकी छन् ।

त्यसैगरी, छानबिन समितिले सेन्टरका तत्कालीन कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठसँग अन्तवार्ता गर्दा कुनै पनि अनियमितता नभएको जिकिर गरेका छन् । ‘गलत गरेको भए आफैं कारबाही गर्ने थिएँ । नीतिगत तथा काम कारबाहीमा सानातिना त्रुटि हुनसक्ने भएकाले ठूलो मुद्दा बनाउन नहुने,’ श्रेष्ठले समितिसँगको अन्तर्वार्तामा भनेका छन् ।

अमृत पोखरेलकी श्रीमती तथा सेन्टरमा कार्यरत स्टाफ नर्स मोनिका कोइरालाले भने आफ्नो श्रीमानलाई एक्लै दोषी बनाइएको तथा फार्मेसी र डिस्पेन्सरीमा कार्यरत सबै दोषी भएको हुन सक्ने भनेर छानबिन समितिसँगको अन्तर्वार्तामा भनेकी छन् ।

अख्तियार र सतर्कताद्वारा छानबिन

सेन्टरको फार्मेसीमा आर्थिक अनियमितता भएको भन्दै परेको छुट्टा-छुट्टै उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा छानबिन भइरहेको छ ।

फार्मेसी विभाग, लेखा विभाग र खरिद शाखा प्रमुखहरूले पदको दुरुपयोग गरी पटक–पटक आर्थिक अनियमितता गर्दै आएको, तर आन्तरिकरूपमै अनियमितता मिलाउने र भ्रष्ट कर्मचारीलाई कारबाही नगरी अन्यत्र सरुवा गर्ने गरेको भन्दै छानबिन गरी आवश्यक कारबाही गर्न अख्तियारमा उजुरी परेको हो । 

उक्त अस्पतालको स्थापना कालदेखि हालसम्म करोडौं रूपैयाँको अनियमितता भएको हुनसक्ने भन्दै छानबिन गर्न अख्तियारसँग उजुरीकर्ताले माग गरेका छन् ।

उजुरीमा फार्मेसी अधिकृत जुना स्थापित, फार्मेसी सहायकहरू कृष्ण पन्त, विष्णु पौडेल, राजेश कानू, सुभाष अधिकारी, भरत कुँवर र सन्दीप  यादव, खरिद शाखा प्रमुख सुजाता श्रेष्ठ, प्रशासन प्रमुख भोजकुमार बस्नेत, पूर्व कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठको मिलेमतोमा अनियमितता हुने गरेको उजुरीमा दाबी गरिएको छ । सोही उजुरीमाथि अख्तियारले अनुसन्धान गरिरहेको हो ।  

त्यसैगरी, सोही विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी परेकोमा केन्द्रले पनि छानबिन गरिरहेको छ ।

यता, सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले माथिबाटै अनुसन्धान तथा छानबिन भइरहेकाले सेन्टरबाट केही पनि कारबाही नभएको बताए ।‘यस विषयमा मैले केही भन्न मिल्दैन । फार्मेसीका कतिपय साथीहरूको अन्यत्र सरुवा पनि भइसकेको छ । साथै, माथिका विभिन्न निकायहरूले छानबिन गरिरहेकाले उतैबाट आवश्यक कारबाही होला,’ कार्यकारी निर्देशक गजुरेलले लोकान्तरसँग भने ।  

salt training

कमेन्ट गर्नुहोस्