३१ असार २०८३, बुधबार

रुपन्देही–३ उपनिर्वाचन : राप्रपाले गर्‍यो ६ जनाको नाम सिफारिस

असार २९, २०८२
बुटवल
रुपन्देही–३ उपनिर्वाचन : राप्रपाले गर्‍यो ६ जनाको नाम सिफारिस

आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनमा उम्मेदवारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार जिल्ला कार्यसमितिको कार्यसम्पादन समितिको बैठकले जिल्ला अध्यक्षसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको जिल्ला अध्यक्ष सागरप्रताप राणाले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार राप्रपाबाट उम्मेदवारका लागि रुपन्देहीका अध्यक्ष सागरप्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, सिद्धार्थनगर नगरपालिका सदस्य गौरव बोहरा, प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलिपकुमार मल्लिकको नाम सिफारिस गरिएको छ ।

जिल्लाका प्रवक्ता मल्लिकले आफूसहित ६ जनाको नाम सिफारिस भएको बताए । सिफारिस भएका मध्ये एक जनालाई पार्टीको केन्द्रीय समितिले चुनाव जित्ने गरी टिकट दिने उनको विश्वास छ ।

विक्रम संवत् २०७९ सालको निर्वाचनमा रुपन्देही– ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएपछि यहाँ निर्वाचन हुन लागेको हो ।

‘पोस्ट कोभिड’ समस्याले पीडित बोहराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएको हो ।

उपचुनाव निश्चित भएसँगै राजनीतिक पार्टीबाट उम्मेदवारका आकांक्षीले टिकट हात पार्न आफ्नो सक्रियतालाई तीव्रता दिएका छन् ।

एमालेबाट खिमलाल भट्टराई, कांग्रेसबाट बालकृष्ण खाँण, भरत शाह, प्रमोद यादव, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका सल्लाहकार रुपन्देहीबासी सन्तोष गिरी लगायतको चर्चा छ ।

यो क्षेत्रमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिका, सियारी, शुद्धोधनलाई समेटिएको छ ।

नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्