२८ जेठ २०८३, बिहीबार

काठमाडौं पनि पूर्ण खोपयुक्त जिल्ला घोषणा

असार ३०, २०८२
काठमाडौं
काठमाडौं पनि पूर्ण खोपयुक्त जिल्ला घोषणा

काठमाडौं जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । 

जिल्ला खोप समन्वय समितिको आयोजनामा सोमबार आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले काठमाडौंलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरे । 

उनले सबै बालबालिकाले पूर्ण खोप लगाएपछि मात्र रोगबाट बच्न सकिने भन्दै पूर्ण खोपयुक्त बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।

प्रदेश सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नेतर्फ रहेको भन्दै मन्त्री थापामगरले यसमा सहयोगका लागि सबैलाई आग्रह गरे । 

मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले बागमती प्रदेशका सबै जिल्ला पूर्ण खोपयुक्त घोषित भएकाले चाँडै नै प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिने बताइन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले हाल रोगव्याधि धेरै भए पनि खोपका कारणले घटेको बताए । 

कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै त्यसलाई दिगो बनाइराख्नुपर्नेमा जोड दिइन् । 

जिल्ला रेडक्रम सोसाईटीका अध्यक्ष श्याम डोटेलले कोही पनि खोप लगाउनबाट छुट्न नहुने बताए । 

पूर्ण खोपयुक्त घोषणाका लागि नौ प्रकारका खोप दिइने गरिन्छ । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले ती खोप जन्मदेखि १५ महिनासम्म बालबालिकालाई सात पटकमा १८ मात्रा लगाएको हुनुपर्ने बताए ।

जन्मनैबित्तिकै क्षयरोगविरुद्धको बीसीजी खोप र १५ महिना पुगेपछि दादुरा–रुबेला तथा टाइफाइड रोगविरुद्धको खोप दिने गरिन्छ ।     
     
काठमाडौंमा ६८ हजार १०० जना बालबालिकालाई पूर्ण खोप लगाइएको त्यस अवसरमा जानकारी दिइयो । कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्