
नेकपा एमालेले पदाधिकारी र केन्द्रीय कमिटीको सदस्य संख्या घटाउने तयारी गरेको छ ।
भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा प्रस्तुत गर्ने विधानको मस्यौदामा पदाधिकारी र केन्द्रीय कमिटीको सदस्य संख्या घटाउने प्रस्ताव समावेश गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।
‘यसअघिदेखि नै पदाधिकारी र केन्द्रीय कमिटीको सदस्य संख्या ठूलो भयो भन्नेमा बहस भएको थियो । यसैले विधान महाधिवेशनबाट घटाउने गरी छलफल भइरहेको छ । विधान मस्यौदामा यो विषय ल्याउने तयारी भएको छ,’ एमाले स्रोतले लोकान्तरसँग भन्यो, ‘पदाधिकारी र केन्द्रीय कमिटी ठूलो भएपछि भ्यालु कम हुन्छ भन्ने भएपछि घटाउने कोणबाट कुरा भएको हो ।’
अघिल्लोपटकको विधान महाधिवेशनले केन्द्रीय कमिटीको संख्या २२५ बाट ३०१ सदस्यीय बनाएको थियो । सोही विधान महाधिवेशनले १५ जना पदाधिकारी बनाउने निर्णय गरेको थियो । तर, २०७८ मंसिरमा चितवनमा भएको १० औं महाधिवेशनबाट एमाले बहुपदमा गयो, जसमा १५ नभई १९ पदाधिकारी बनाइएका थिए ।
एमालेमा हाल अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र सात सचिव छन् । २०७८ असोजमा भएको विधान महाधिवेशनले गरेको व्यवस्थामा महाधिवेशन उद्घाटन भएपछि दुई उपाध्यक्ष र दुई उपमहासचिव थपेर पदाधिकारी संख्या १९ पुर्याइएको थियो । तर, अहिले फेरि घटाउने गरी एमालेले गृहकार्य गरेको हो ।
संख्या कतिमा घटाउने भनेर सहमति जुटिनसकेको बताइन्छ ।
वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवको संख्या घटाउने तयारी भएको हो । ९ देखि १३ जनाबीचको पदाधिकारी बनाउने तयारीबारे छलफल भएको एमाले स्रोतले बतायो ।
वरिष्ठ उपाध्यक्ष पद नै हटाउने चर्चाका बीच आज एमालेको सचिवालय बैठक बस्दैछ । साउन २ को पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न आज दिउँसो १ बजे सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘हामीले भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशनको तयारी गरेका छौं । त्यसपछि तयारीको बैठक गर्नुपर्नेछ,’ गौतमले लोकान्तरसँग भने, ‘२ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न आज सचिवालयको बैठक बस्न लागेको हो ।’
विधान संशोधनको तयारी भइरहेको र सबै विषय छलफलमै रहेकाले वरिष्ठ उपाध्यक्ष खारेज गर्ने विषयमा अन्तिम टुंगो लागिनसकेको जानकारी उनले दिए ।
‘विधानमा आवश्यक र समआनुकूल संशोधन गर्नैका लागि विधान महाधिवेशन हुन लागेको हो,’ गौतमले भने, ‘संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलले बनाएको खाकामा छलफल हुनेछ । त्यसमा पार्टीका बैठकमा छलफल हुनेछ ।’
यो विषय छलफलकै चरणमा रहेको संकेत गौतमले दिए । प्रस्तावमा आएर भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनले निर्णय गरे पार्टीको ११ औं महाधिवेशनदेखि नयाँ नियम लागू हुनेछ । वरिष्ठ उपाध्यक्षमा अहिले ईश्वर पोखरेल छन् ।
एमाले संस्थानले यसअघि नै नेतृत्वका लागि ७० वर्षे उमेरहद हटिसकेको दाबी गरेको छ । दुई कार्यकाल पनि हटिसकेकाले यसमा बहस नै आवश्यक नभएको नेताहरू बताउँछन् ।
‘कमिटी ठूलो भएपछि सानो बनाउनुपर्छ भन्ने कोणबाट छलफल भएको छ । तर, बाहिर चर्चा ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष खोस्न लागियो भनेर भइरहेको छ,’ एमालेका एक नेताले भने, ‘प्रस्ताव आएर हटे पनि ११ औं महाधिवेशनसम्म उहाँ यही पदमा रहने हो । नयाँ व्यवस्था आउँदो महाधिवेशनदेखि लागू हुने हो ।’
एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज सचिवालयको बैठकपछि बल्ल विधानको ड्राफ्टका विषयमा भन्न सकिने बताए ।
‘पार्टीका कमिटी ठूला भए भन्ने बहस नभएका होइनन्,’ अधिकारीले लोकान्तरसँग भने, ‘तर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या घटाएर कति बनाउने भनेर हामीले ड्राफ्ट हेर्न पाएका छैनौं । केही कुरा आजको सचिवालय बैठकमा आउला ।’
अर्थमन्त्रीसमेत रहेका पौडेलले विधान मस्यौदाको कामलाई निकै प्राथमिकतामा राखेको उनीनिकट स्रोत बताउँछ । ‘मन्त्रालयका काम निरन्तर हुने नै भयो । तर, साँझ र बिहानको समयमा विधानको मस्यौदामा उहाँले राम्रो गृहकार्य गरिरहनुभएको छ,’ उनीनिकट स्रोतले भन्यो, ‘साँझ र बिहानको समयमा भेटघाट कम गरेर, अरू कार्यक्रम नराखेर पनि विधानकै मस्यौदामा प्राथमिकतापूर्वक काम गर्नुभएको छ ।’
पौडेलले विधानमा बदल्न खोजेका विषयबारे पदाधिकारी तहमा पनि केही कुरा चुहाएका छैनन् । अध्यक्ष केपी शर्मा ओलीसँगको समन्वयमा उनले विधान संशोधनको मस्यौदा बनाइरहेका हुन् ।