०३ असार २०८३, बुधबार

‘बलिदान’को ६० फुट अग्लो पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान शुरू

साउन १, २०८२
काठमाडौं
‘बलिदान’को ६० फुट अग्लो पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान शुरू

यस पटकको बडादशैंको छेकोमा प्रदर्शन हुने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को विशाल साइजको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । 

६० फिट अग्लो र १६ फिट चौडाइको यो पोस्टर बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी भागमा राख्दै सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको पोस्टरले चलचित्रको भाव, शैली र उद्देश्यको एक स्पष्ट चित्र प्रस्तुत गरेको छ । 

पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक भीमकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । 

समीरको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भावना झल्किन्छ । आकाशमा कालो बादल, जमिनमा अन्धकार र पृष्ठभूमिमा आगोको रापले यो पोस्टरलाई अझ प्रतीकात्मक र सिनेम्याटिक बनाएको छ । दृश्यहरूले फिल्मको द्वन्द्वात्मक स्वभाव र गहिरो देशभक्तिपूर्ण सन्देश झल्काउँछन् ।

पोस्टर सार्वजनिकसँगै निर्देशक सन्तोष सेनले यो चलचित्र एउटा सिनेम्याटिक क्रान्तिको शुरूआत रहेको बताएका छन् । उनले भनेका छन्, ‘बलिदान एउटा सिनेम्याटिक क्रान्तिको शुरूआत हो । विभिन्न चरणको छायांकन, सम्पादन र सृजनात्मक परिश्रमपछि अब गर्वका साथ भन्न सक्छौं बलिदान केवल चलचित्र होइन, यो एउटा अभियान बनिसकेको छ- ‘यो ज्यान बलिदान’। सुरुदेखि अन्त्यसम्म पटक पटक हेरिएका दृश्यहरू, सूक्ष्म कुरामा दिएको ध्यान र हरेक फ्रेममा हालिएको आत्माले यसलाई मजबुत सिनेम्याटिक संरचना बनाएको छ ।’

उनका अनुसार, ‘बलिदान’ विदेशी चलचित्रहरूको भीडमा पनि आत्मबल, गहिरो कथावस्तु र प्रस्तुतीकरणको निखारले फरक पहिचान कायम गर्ने तयारीमा छ । उनले चलचित्रलाई गाउँ-शहर, टोल–बस्ती हुँदै हरेक दर्शकको मनसम्म पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै ‘बलिदान ब्यानर’मार्फत् देशव्यापी प्रचार–प्रसार यात्रा शुरू गरिएको जनाए ।

यसअघि सार्वजनिक गरिएको पोस्टरमा अभिनेता सौगात मल्ल एक सशक्त र रहस्यमय अवतारमा प्रस्तुत भएका थिए । यसै गरी, चलचित्रको प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको प्रि–टिजरले निकै चर्चा पाएको थियो । 

त्यस्तै, चलचित्र घोषणादेखि हालसम्म सार्वजनिक गरिएका समीर भट्ट र नायिका कविता रायका पात्र परिचय दिने पोस्टरहरूले पनि उत्तिकै चर्चा पाएका थिए ।

आसुसेन फिल्म्स् प्रालिको प्रस्तुति रहेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, कविता रायसँगै अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिष्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्