०१ असार २०८३, सोमबार
भयावह बन्दै दुर्व्यसन

काठमाडौंमा दुर्व्यसनी बढेको संकेत– धमाधम बरामद हुँदै लाखौंको परिमाणमा लागुऔषध

साउन ४, २०८२
काठमाडौं
काठमाडौंमा दुर्व्यसनी बढेको संकेत– धमाधम बरामद हुँदै लाखौंको परिमाणमा लागुऔषध

केही दिनअघि मात्रै कालिमाटी प्रहरी वृत्तले एक लागुऔषध कारोबारीलाई पक्राउ गर्‍यो ।

ती कारोबारीकै सूचनाका आधारमा थप दुई जनालाई ठूलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ ट्रमाडोल ट्याब्लेट (चिकित्सकको प्रेस्क्रिप्सनविना बिक्री बितरण गर्न नपाइने)सहित पक्राउ गरियो ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका– २ घर भएका राजु मिजार र सोही ठाउँकी मिना मगर ट्रमाडोल ८ हजार २९० फाइल (८२ हजार ९०० वटा)सहित पक्राउ परेका थिए ।

null

उनीहरूले रक्सौलबाट लागुऔषध निर्बाध काठमाडौं ल्याएर खुद्रा कारोबारीलाई बिक्री वितरण गर्दै आएका थिए । अक्सिजन सिलिन्डरभित्र ट्रमाडोल ट्याब्लेट लुकाएर ल्याउनेमध्येका मिजारको ‘क्राइम हिस्ट्री’ पनि मिल्दोजुल्दो भेटियो ।

मिजारविरुद्ध २०७८ मंसिर ३ गते लागुऔषध नियन्त्रण ब्यूरोे, २०८१ असार ५ मा भक्तपुर परिसर मातहतको प्रहरी वृत्त जगाती र २०८१ साउन ४ गते प्रहरी वृत्त थानकोटबाट लागुऔषध बिक्रीबितरण तथा ओसारपसारमै मुद्दा चलेको भेटियो ।

प्रहरीका तीन युनिटबाट ‘सर्वाधिक खोजी’को सूचीमा रहेका मिजारले भारतीय नम्बरप्लेटकै ‘यूपी ७८ सीबी ९८३५’ नम्बरको सेन्ट्रो कारमा वर्षौंदेखि लागुऔषध रक्सौलबाट काठमाडौं ल्याएर खुद्रा कारोबारीलाई बिक्री गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मिजारले प्रहरीलाई बयान दिएअनुसार काठमाडौंमा लागुऔषधका खुद्रा कारोबारीको संख्या अत्यधिक छ ।

‘तपाईंहरूले मलाई त पक्राउ गर्नुभयो, तर मजस्ता दर्जनौं खुद्रा कारोबारीहरू काठमाडौं उपत्यकामा छन्, कतिलाई समात्न सक्नुहुन्छ ?’, मिजारको बयान उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘मिजारको बयानअनुसार प्रहरीले सूक्ष्म निगरानी गरिरहेको छ ।’

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले यही साउन १ गते दुईजनालाई ठूलै परिमाणमा ट्रामाडोल ट्याबलेटसँगै डाइजेपाम, बुप्रेनर्फिन र फेनारगनसहित नियन्त्रणमा लियो ।

लागुऔषध कोठामा स्टोर गरिराखेको अवस्थामा बालाजुस्थित शान्तिमार्गबाट निकु राई पक्राउ परेकी थिइन् । मोरङ बेलबारीकी राई लामो समयदेखि लागुऔषध खुद्रा कारोबारमा संलग्न रहेको आशंकामा ब्युरोले खोजिरहेको थियो । राईको कोठाबाट प्रहरीले ३५ हजार ५९० पिस ट्रमाडोल र साढे १२ किलो गाँजा प्रहरीले बरामद गरेको थियो ।

null

राईकै सूचनाका आधारमा ब्यूरोले बल्खुबाट कुंगा तामाङ र पदमबहादुर महतोलाई पक्राउ गर्‍यो ।

उनीहरूबाट प्रहरीले बुप्रेनार्फिन, फेनारगन र डाइजेपाम गरी ३१ हजार १०१ एम्पुल बरामद गर्‍यो । अनुसन्धानका क्रममा राई, तामाङ र महतेले एकै कारोबारीमार्फत नेपालगञ्जबाट उक्त लागुऔषध काठमाडौंमा ल्याएका थिए । कारोबारीबीच लेनदेन नमिल्दा उक्त सूचना ब्यूरोमा पुगेपछि प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीले ठूला दुई अपरेसनबाट ठूलै परिमाणमा लागुऔषध बरामद गरेको केही दिनमै झापाको बिर्तामोडबाट अर्को घटनाको पर्दाफास भयो ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका– ५ मंगलदीप टोलमा डेरा गरी बस्ने मनकुमार संग्रौलालाई एक लाख तीन हजार ८०० पिस ट्रामाडोल, डाइक्लोमाइन एचसिएल ९७ हजार ट्याबलेटलगायत अन्य मनोद्विपक पदार्थसहित पक्राउ गर्‍यो ।

साउन २ गते अनारमनी प्रहरीलाई सूचना आएपछि संग्रौलाको डेरामा छापा मारेको थियो । संग्रौलाले दुईवटा भाडामा लिएको कोठामा उक्त लागुऔषध स्टोर गरेर राखेका थिए । भारतमै बनेको उक्त लागुऔषधका सम्बन्धमा थप व्यक्ति पक्राउ गर्नुपर्ने भएकाले प्रहरीले थप बताउन चाहेन । उक्त लागुऔषधको कनेक्सन काठमाडौंसम्म जोडिएको हुनसक्ने आशंका प्रहरीको छ ।

null

एकातिर प्रहरी नेतृत्वले काठमाडौं लागुऔषधको ‘हब’ बन्दै गरेको उद्घोष गर्नु र अर्कोतर्फ प्रहरीले बरामद गरेको संख्या हेर्दा दुवैमा तालमेल देखिन्छ ।

विगतमा प्रहरीले बढीमा चार हजार पिससम्म बरामद गर्दै आएको ट्रामाडोल ट्याबलेट अहिले हजारौं पिस बरामद गर्दै आएको छ । प्रहरी सक्रियता बढेको देखिए पनि काठमाडौं उपत्यकामा बरामद लागुऔषधको परिमाण हेर्दा यहाँ दुर्व्यसनीको संख्या पनि बढ्दो क्रममा रहेको पुष्टि हुन्छ ।

लागुऔषध नियन्त्रण ब्यूरोमै २५ वर्ष भन्दा बढी काम गरेर डीएसपीबाट अवकाश पाएका कृष्ण गोपाल पनेरु भन्छन्, ‘प्रहरीले बरामद गरेको लागुऔषधको परिमाण हेर्दा काठमाडौं उपत्यकामा लागुऔषध दुर्व्यसनीको अवस्था भयावह देखिन्छ ।’

उनले थपे, ‘माग धेरै भएपछि कारोबारीले त्यही मात्रामा स्टोर गरेर राख्न थाले । यसलाई समयमै नियन्त्रण वा कम गर्न नसके दुर्व्यसनीको संख्या अझै बढ्ने देखिन्छ, जसले गर्दा किशोर र युवाशक्ति लागुऔषधको कुलतमा फस्ने देखिन्छ ।’

नेपाल–भारत खुला सिमाना भएकाले चोर बाटो प्रयोग गरेर कारोबारीले नेपालभित्र लागुऔषध ल्याइरहेको पनेरु बताउँछन् । ‘खुला सिमाना भएकाले प्रहरीले त्यहाँ निगरानी बढाउनुपर्ने देखिन्छ,’ उनले भने, ‘भारतमा सस्तोमा खरिद गरेर ल्याउने र दुर्व्यसनीलाई महंगोमा बेच्ने गरेको देखिन्छ ।’

प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले प्रहरीलाई आएको सूचनाअनुसार लागुऔषध कारोबारी पक्राउ गरिरहेको बताउँछन् ।

‘लागुऔषध पनि संगठित अपराधमध्येको एक हो, कारोबारी पक्राउ गर्न निरन्तर सूचना चाहिन्छ,’ डीआईजी घिमिरेले भने, ‘काठमाडौंमा लगातार लागुऔषध बरामदको घटनाले स्थिति भयावह देखिन्छ, तर पनि प्रहरीले आफैं सूचना संयन्त्र परिचालन गरेर बरामद गरिरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्