२७ जेठ २०८३, बुधबार

बीपी स्मृति अस्पतालद्वारा ४३ औं बीपी कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै

साउन ५, २०८२
काठमाडौं
बीपी स्मृति अस्पतालद्वारा ४३ औं बीपी कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित मनाइँदै

लोकतान्त्रिक विचारका अग्रणी नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा भोलि मंगलबार बिहान ८ बजे बीपी स्मृति अस्पताल, वसुन्धरामा विभिन्न कार्यक्रम गरिने भएका छन् । 

नेपाली कांग्रेसका शीर्ष नेताहरूको विशेष सहभागितामा हुने कार्यक्रमको मूल उद्देश्य बीपी कोइरालाको विचार र योगदानको स्मरण गर्नु रहेको बीपी स्मृति अस्पतालका अध्यक्ष उमेश जंग रायमाझीले जानकारी दिए ।

दिवसको मुख्य आकर्षणस्वरूप ‘देश विकास र देशवासीको उन्नतिको आधार: बीपी विचार’ विषयक विचार गोष्ठी आयोजना गरिने छ । उक्त गोष्ठीमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सहभागिता रहने अध्यक्ष रायमाझीले जानकारी दिए ।

यसै अवसरमा, पूर्वअध्यक्ष डा. शेखर कोइरालाले बीपी स्मृति अस्पतालमा फलफूल वितरण कार्यक्रमको उद्घाटन गर्नेछन् । अस्पतालकै आयोजनामा रक्तदान कार्यक्रम पनि तय गरिएको छ, जसको शुभारम्भ महामन्त्री विश्वप्रकाश शर्माले स्वयं रक्तदान गरेर गर्नेछन् । इच्छुक रक्तदातालाई सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।

स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको समेत आयोजना गरिएको छ । साथै, पूर्वमन्त्री शशांक कोइरालाको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ ।

बीपी कोइरालाको स्मृतिमा विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत ऐतिहासिक चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनसमेत गरिने बताइएको छ ।

बीपी स्मृति अस्पताल २०६४ साल असोज १३ गते स्थापना भएको हो । स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा केन्द्रित यस संस्थाले सातै प्रदेशका जनतालाई लक्षित गरी सेवा दिँदै आएको छ ।

हाल अस्पतालबाट विशेषज्ञहरूमार्फत् विभिन्न रोगको उपचार तथा शल्यक्रियासमेत उपलब्ध गराइँदै आएको छ । स्टाफ नर्स र हेल्थ असिस्टेन्ट तहमा नियमित पढाइ सञ्चालनमा रहेको संस्थाले २०६९ सालदेखि वार्षिक ४० जना स्वास्थ्यकर्मी उत्पादन गर्दै आएको छ ।

अस्पतालले लोपोन्मुख जातजाति, अति गरिब र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ भने अन्य सेवामा पनि १०-२५ प्रतिशतसम्म छुट प्रदान गर्दै आएको छ । 

हालै मातातीर्थमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । आगामी दिनमा देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने लक्ष्यसहित वीरगञ्जमा सेवा शुरू गर्ने अस्पतालको तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्